१९ जेष्ठ २०७७, सोमबार १:४४ | 06/01/2020 3:59 PM



अब समुद्र बनौं – शैलेश श्रेष्ठ, न्युजर्जी

४ जेष्ठ २०७३, मंगलवार १७:५० मा प्रकाशित

“वर्कर्स युनाईटेड नेभर बि डिफीटेड” भनेर आरम्भ गरिएका श्रमजीवि आन्दोलनका नब्बे प्रतिशत भन्दा बढी मुद्दा न्युयोर्क सिटीको युनियनहरुले जित्ने गरेका छन | हामी आफैले स्थापना गरेको रक न्युयोर्कले पनि त्यस्तो उपल्लो न्यायिक सफलता निरन्तर हात पारेको छ | ति गर्विला सफलताहरुको मूल कडी अनि मन्त्र “एकता” नै हो | ढिलै भए पनि हामीले प्रवासमा जितका शृंखलाहरु आनुभुत गर्न थालेका छौं | नेपालले प्राप्त गरेको टीपीएसको सफलता त्यसको पछिल्लो नजिर अनि उदाहरण हो | “म” होइन “हामी” भन्ने मूलमन्त्रलाई ब्यबहारिकरुपमा ग्रहण गरेपछि मात्र त्यो सफलता हामीलाई प्राप्त भएको थियो | अब हामी आम नेपालीको परिचयलाई प्रतिबिम्बित गर्ने अर्को अभियान “नेपाल डे परेड” त्यहि गन्तब्य अनि आयाम तर्फ उन्मुख भएको छ |

shailesh

अहिले आम अमेरिकी प्रवासी नेपालीहरुको नजर अनि सद्भाव न्युयोर्क सहरमा आउँदो आईतबार, मे २२ तारिख आयोजना हुने “नेपाल डे परेड” मा पारेको छ | आरम्भदेखि व्यक्ति केन्द्रित प्रचारवाजी अनि अतिवाद सामाजिक संजालहरुमा देखा परेको सत्यलाई अब थप ढाकछोप गर्न जरुरी छैन तर यथार्थमा आम मानिस बिच चर्चा भए जस्तो अनि प्रचारबाजीमा आए जस्तो बिग्रह अनि तिक्तता त्यो बिन्दुमा भने पुगेको छैन | व्यक्तिलाई केन्द्रमा राखेर गरिने पुरातानिक विश्लेषण अनि सम्प्रेषणले पनि त्यस्तो हौवा अनि सामाजिक सन्त्रास देखा परेको हो | राजनैतिक स्वार्थ बोकेकाहरु मात्र होइन हामी स्वतन्त्र भनिएका संचारकर्मीहरु पनि त्यहि सतही आग्रहयुक्त विचार सम्प्रेषण गरेर तथाकथित बिबादलाई मलजल गरिरहेका छौं | मैले निजिरुपमा सम्प्रेषण गरेका कैयन लेख अनि आरक्षित अवधारणाहरुले अन्जानमा त्यस्तो आसय अनि अभिष्टको आभास दिएको मैले पाएको छु तर म अहिले सतहमा देखिएको दम्भ, तथाकथित अडान अनि निजि रिसरागका कारण प्रदर्शन गरिएका निजी असहयोगको पूर्ण विपक्षमा छु | अनि स्पष्ट छु, “सौताको रिषले पोईको काख मुत्ने” समय होइन यो |

काम गर्नेहरुबाट नै गल्ति अनि कमिकमजोरीहरु हुने सम्भावनाहरु रहन्छ, हामी (अझ बिशेष गरेर म) सधैं बाहिर बसेर मुख बजाउनेहरुबाट न काम हुन्छ न अहिले भयो अथवा गरियो भनिएका कमि कमजोरीहरु नै हुन्छ | ठुला भनिएका संगठनका अगुवा तथा अहिले भनिएका आयोजकहरु बिच देखा परेका सतही समस्याको जरा अनि जड अहिल्यै खोजिँदा त्यसले आमरुपमा देखापरेको सकारात्मक परिबेगमा थप नकारात्मक असर पर्न सक्छ | त्यसैले त्यस्तो समिक्षा अनि मुल्यांकन कार्यक्रम सम्पन्न भईसकेपछि बृहद अनि ब्यापकरुपमा आयोजना गरिनु पर्छ भन्ने मेरो पछिल्लो बुझाई हो | अघिकांश संगठन अनि प्रवासी नेपालीहरुको अनुमोदन अनि समर्थन भयो भने हामी कार्यक्रम सम्प्रेषण मार्फत त्यस्तो बृहद अनि व्यापक “टाउन हल” स्वरुपको अन्तरक्रियात्मक बहसको आयोजना गर्न पनि सक्नेछौं | त्यो बेला सबै एक ठाउँ भेला भएर ठुलो मनले “दन्तबझान” गर्दै पेट माझामाझ गर्नु पर्छ अनि अहिले भनिएका अनि ठानिएका ठुलाठालुहरु मात्र होइन आम प्रवासी नेपालीको विचार र सुझाब लिईनु पर्छ | त्यस्तो सुक्ष्म समिक्षा अनि मुल्यांकनले आउँदो बर्ष आयोजना गरिने परेडलाई स्पष्ट दिशानिर्देश पनि गर्नेछ |

Parade-2
के जालान त यी नानीहरु स्वस्फुर्तरुपले नेपाल डे परेडमा ?

नेपाली हुनुको हाम्रो आम परिचय, अस्तित्व, पहिचान अनि स्वामित्वलाई गणित (संख्या) को प्रदर्शन अनि मापनबाट दावी गर्नु पर्ने यो एतिहासिक दिन अब पाँच दिन मात्र बाँकी छ | अब ठुलो मन गरेर निजी अथवा नीतिगत असहमती भए पनि या आ-आफ्नो फरक मत अथवा आरक्षित अवधारणा भए पनि कमसेकम असहयोगको सार्वजनिक आव्हान अनि याचना चाँही नगरौं | जसले जहाँ नेपालीहरु भेला भएर आफ्नो बहुजातीय, बहुभाषिक अनि बहुसांस्कृतिक आयाम अनि धरोहरहरुको प्रदर्शन गर्दै नेपाल चिनाउने अभियान गर्छन ति सबै “नेपाल डे” परेड या प्रदर्शनीहरु नै हुन | पहिले हुँदै गरेका अनि हुने गरेका सबैलाई समेटेर ठुलो आकार र आयतनको परेड अथवा प्रदर्शनी गर्नु पर्ने उचित समय हो यो | यस्तो प्रक्रिया अनि प्रयास बर्षौं अघिदेखि आरम्भ भएको थियो | यो अमेरिकी प्रवासमा हामीले विचार, जात, धर्म, सम्प्रदाय, क्षेत्र. लिङ्ग आदी ईत्यादीको नाममा टुक्रिएर, फुटेर अनि चोंईटिएर धेरै समय अनि सम्भावनाहरुलाई खेर फाल्यौं अब चाँही जोडिएर, जुटेर अनि एकट्ठा भएर “हामी नेपाली” भन्दै अबि बन्दै ब्रोडवेको सडकहरुमा फैलिने अनि पोखिने दिन आएको छ |

खहरेहरु बिशाल समुद्रमा मिलेपछि मात्र त्यसको अस्तित्व देखिन्छ | अब नेपाली भएर ठुलो आकार अनि स्वरुपको सपना देखिने अनि कहिल्यै ननिदाउने सहर म्यानहाटनमा समुद्र जस्तो सालिन, भद्र अनि सौम्य बनेर बगौं | जहाँ किनारामा बसेर “भिभा नेपाल” भन्दै ताली बाजाउँदै रमिता हेर्ने सयौं देशका हजारौं मानिसले मात्र होइन न्युयोर्क सहर, राज्य अनि संघीय संरचना र सरकारले हाम्रो अस्तित्वलाई स्विकार्न बाध्य होस | यसो गर्न किमार्थ सम्भब छ तर मनलाई अलि ठुलो अनि दिमागलाई अलिकती फराकिलो चाँही बनाउन जरुरी छ | दुर्भाग्य नै भनौं अहिलेसम्म हामीले मुलुकको “डिभर्सिटी” लाई “स्ट्रेन्थ” को हैसियत दिन सकेनौं तर त्यस्तो अप्ठेरो सत्य र सम्भाव्य बाटोलाई आपसी सद्भाव, समन्वय, सहृदयता अनि ठुलो मनले सम्पन्न गर्ने चुनौती पनि हामी र राम्रो पुस्ताको काँधमा अब चाँही आईपुगेको छ |

FullSizeRender-13
“लिभ टु लभ” परेडमा आफ्नै धूनमा रमाउँदै शेर्पा समुदायका नानीहरु

यति चाँही नभुलौं यो पुरातानिक दुनियाले भन्लान नभन्लान अनि मुल्यांकन गर्लान नगर्लान तर अमेरिकी समाज अनि शिक्षाद्वारा शिक्षित अनि दीक्षित तपाईका आफ्नै छोरा-छोरीले तपाईका सत्कर्म अनि दुस्कर्महरुको सचेत निगरानी गरिरहेका छन | हामी र हाम्रो पुस्ता त खहरे बनेर अतिरंजनामा रमाएकै छौं चोक, गल्ली, मोहल्ला, डबली र भुईंतल्लाहरुमा तर अब हाम्रा भाबी सन्तती अनि नयाँ नेपाली अमेरिकी पुस्ताका लागि चाँही समुद्र बनौं अनि समुद्र नै रोजौं |