२८ मंसिर २०८१, शुक्रबार ६:१३ | 12/13/2024 7:28 AM



अमेरिकी हेजेमोनिक दम्भ र आईसीसीको निरिहता – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

हाम्रो प्रवासी नेपाली समाज निक्कै स्वार्थपरक, आत्मकेन्द्रित अनि परपीडक प्रबृत्तिको छ। आफ्नो सफलता र जीतमा भन्दा पनि अरुहरुको असफलता र हारहरुमा उत्सव गर्दै रमाई रहेका भिंडहरु यत्र, तत्र अनि सर्वत्र देख्न सकिन्छ । परोपकार र भोलन्टीएरिज्म हामीले पुस्तक र ब्यबहार दुबैमा सिकेनौं। तर भन्नमा चैं हामी हाम्रो सनातनी धर्म, संस्कृति, संस्कार के के के के भनेर अनेक अर्ति र उपदेशहरु बाँड्छौँ। तर हामी आफु पिछडिनु र असफल हुनुको जड कहिल्यै खोज्दैनौं। थुप्रै बिमतिहरुमै पनि टाउको हल्लाउंदै “हो हजुर” को दासतामा परजीवी जीवन बाँच्दछौं। बिमति र फरक मतलाई सिधा नजरले हेरेर दर्ज गर्ने आधारभूत चेत र संस्कार पनि हामीसंग छैन। आफुलाई नपरी दुख्दैन हामीलाई कुनै दिन हामी पनि अचानो बन्नु पर्छ भन्ने सामान्य चेत पनि हामीसंग छैन त्यसैले त अरुहरुको दु:ख, पीडा, अन्याय र भोगेका पहाड पीडाहरुले बलात छुंदैन। तर जब आफुलाई आई पर्छ त्यसलाई पहाड बनेर बनाएर प्रस्तुत गर्छन।

यो लामो भूमिका भित्र म एनआरएनए अमेरिकाका तिनै पात्र र प्रबृत्तिलाई झल्झली हेरिरहेको अनि देखिरहेको छु। सन् २०१५-१७ को बदमासी र सौदाबाजीका दृश्यहरुलाई आँखाहरुमा ल्याईरहेको छु। डा. केशब पौडेलले अनलाईनमा फर्जी र बदमासी गरेर चुनाव जितेपछि बिभिन्न पदमा उम्मेदवारी दिएका १५ जनाले न्यायिक निरुपणका लागि टेनेसी कोर्ट पुगे। तर कांग्रेसीहरुको अन्तरिक सौदाबाजीमा न्यायको बलात्कार गरियो। मिलेमतोमा एक पछि अर्को गर्दै उनीहरुले मुद्दा फिर्ता लिए। त्यो घटनालाई डा. केशब पौडेल समुहले ठुलो जीतका रुपमा उत्सव मात्र गरेनन न्यायका लागि न्यायालय जानेहरुलाई अपराधि नै घोषित गर्न थाले। त्यही नरभक्षी बाघको शिकारमा गौरीराज जोशी, सुर्य (साल) लम्साल हुँदै कृष्ण लामिछानेसम्म परे। आफुहरु पनि त्यही हिंसक बाघ वर्गबाट आहत र घायल भएको भन्दै संस्थापनकै रबिना थापा र राम सी पोखरेलले “हार्डड्राईभ” नामको पोपुलिष्ट औजार हल्ला बजारमा फाले । डा. केशब पौडेलसंग घाँटी जोडीन्जेल चैं मौन रहेका यी दुई महत्वाकाँक्षी पात्रहरुले अझै त्यो घटनालाई प्रमाणिक जस्टिफिकेसन गर्न भने सकेका छैनन।

हार्डड्राईभ, पेनड्राईभ हुँदै अनाधिकृत जगेडा २०९३ मत काण्डसम्म आई पुग्दा म स्वयम त्यस्ता बदमासीहरुको देखिजान्ने र भोगीजान्ने पात्र बन्न बाध्य भएँ। उ बेलादेखि वर्तमानसम्मै हरेक खाले गैरकानुनी काम गर्ने भात्री संगठनमा क्रियाशील ठेकेदार बिचौलियाहरुको सांगठनिक अर्ध-भूमिगत गिरोहको कुकृत्य र चर्तिकलालाई प्रवासी नेपाली समाजका सारा दुनियाले देखेका छन, चिनेका छन अनि बुझेका छन तर आफैलाई नपरी न्याय र परोपकारको भावना सहित अरुका लागि कोही कहीं चुईक्क बोल्दैनन। २०१५-१७ को सफल रणनीतिक सौदाबाजी पश्चात यो गिरोह थप आक्रामक भएर एनआरएनए अमेरिकालाई लामै काल कब्जा गर्ने राजनैतिक रणनीति सहित सतहमा आयो। जे भन्यो त्यही गरेर देखायो। जसलाई भन्यो त्यसलाई जितायो। सांगठानिक संरचना भित्रै रहेको सर्वाधिक शक्तिशाली स्वतन्त्र निकाय न्यायिक कमिटीलाई बार्षिक साधारण सभाको म्यान्डेट भन्दै निष्प्राण बनायो त्यसपछि उनीहरुको अराजकता र उन्माद रोक्ने नसकिने गरि निरन्तर अघि बढ्यो।

अनाधिकृत जगेडा २०९३ मतको बलले जितेका जिताईएका सुनील साह उनीहरुकै कागजी बाघ अर्थात् कर्म गर्ने गराउने हिसाबमा “पपेट” पात्र मात्र थिए। जब त्यो पपेट पात्रले स्वाधीन हुने चाहना राख्यो त्यही गिरोहले अपरहणको शैलीमा बार्षिक साधारण सभामा उनको मानमर्दन गर्यो। न्यायका लागि सम्मानित अदालतको शरणमा पुगेका अध्यक्ष पदका प्रत्यासी सुर्य (साल) लम्साललाई अपराधिलाई जस्तो ब्यबहार गरियो त्यतिले नपुगेर बार्षिक साधारण सभामा बिधाननै परिमार्जन गरेर उनलाई अध्यक्ष पदका प्रत्यासी नै बन्न नपाउने गरि संगठनमा निषेध गरियो। यो अर्ध-भूमिगत गिरोहले बहुत चलाखीका साथ रणनीतिक हिसाबले आईसीसी (आफ्नो मात्री संस्था) संग टकरावको बाटो रोजेको छ। त्यो समस्या निर्वाचन गर्ने गराउने र डेलिगेट्सको निर्वाचन गराउने क्रममा अहिले मात्र भएको होइन। यस्तो मतभेदहरु सन् २०१५-१७ बाटै सतहमा आएको थियो। तर त्यो बेलादेखि अहिलेसम्मै अन्तर्राष्ट्रिय समन्वय परिषद निरिह र लाचार हुने गरेको छ भने राष्ट्रिय समन्वय परिषद अमेरिकाले आफुले आफैलाई संसारकै सर्वाधिक ठुलो एनसीसी भन्दै आफ्नो हेजेमोनिक दम्भ बोल्दै आफुलाई अपरिहार्य बनाउने हरेक दुस्साहस गरेको छ।

एनसीसी अमेरिकालाई यस्तो भ्रम छ कि यो राष्ट्रिय समन्वय परिषद अरुहरु भन्दा फरक, बेग्लै मात्रै होईन बिशेष हो। आईसीसी त्वम् शरणम् कै शैलीमा लचिलो बन्दै गईरहेको छ। अहिले डेलिगेट्स चयनमा पनि एनसीसी अमेरिकाले हैकमी र सर्वसत्ताबादी हेजेमोनिक चरित्र देखाएको छ। आईसीसीका सबै परिपत्रहरु र आईसीसी विधानले किटान र निर्देशित गरेका बुँदाहरुलाई आफ्नो चुनावी स्वार्थका लागि अबज्ञा गरिरहेका छन। अहिले आएर आईसीसीको आसन्न निर्वाचनको जोडघटाउका आधारमा अर्ध-भूमिगत त्यही गिरोहको परमादेशमा निर्वाचन समितिले केही डेलिगेट्सहरुका लागि भोली अगष्ट १३ तारिख बिहान आठ बजेदेखि पाँच बजेसम्म अनलाईन पद्धती अनुसार निर्वाचन गर्ने भन्दै अन्तिम समयमा पत्राचार गरिरहेका छन भने अर्को तिर डा. राजन पन्त, शंकर खड्का र बिकाश उप्रेती रहेको डेलिगेट्स सेलेक्सन कमिटीले पनि डेलिगेट्स निर्वाचनकोलागि आबेदन गर्नको लागि भोली अगष्ट १३ तारिख मध्यान्नसम्मको समय सिमा तोकेको छ।

अब के हुन्छ त?
यो अनिश्चिताको उचित र यथोचित समाधान गर्ने समय घर्की सकेको छ। एनसीसी संस्थापनको पेलेरै जाने मनसाय र नियतले अन्तत: एनसीसी अमेरिकाको अस्तित्वलाई नै संकटमा पार्न सक्दछ। खड्ग प्रसाद शर्मा ओली र माधव कुमार नेपालको पर्सनल ईगोकै कारण सर्वाधिक शक्तिशाली पार्टी नेकपा एमाले तहसनहस भए जस्तै डा. केशब पौडेल र गौरीराज जोशीको वैयक्तिक महत्वाकाँक्षा र ईगोकै कारण राष्ट्रिय समन्वय परिषद अमेरिका पनि धरासायी हुँदै गरेको मान्ने मानिसहरुको संख्या पनि कम छैन।

एनसीसी अमेरिका केन्द्रको लागि सँधै टाउको दुखाई हुने गरेको छ। डीसी नेपालको कार्यक्रम दी ब्रिज टकमा संचारकर्मी अर्जुन दाहालसंगको पछिल्लो कुराकानीमा एनआरएनए आईसीसीका महासचिव डा. हेम राज शर्माले बाँकी २५ प्रतिशत अर्थात् सम्पूर्ण ४७ जनाको विधिपूर्वक निर्वाचन गरिनु पर्ने र त्यसो गरेर पठाईएको डेलिगेट्सलाई मात्र केन्द्रले मान्यता दिने कुरा स्पष्ट शब्दमा बताएका छन त्यसर्थमा सँधै ढुलमुले चरित्र प्रदर्शन गर्ने आईसीसीले आफ्नो अडान फेरेनन भने अहिले निर्वाचन प्रमुख बिश्व नाथ बरालले आफ्नो अनुकुलमा गर्न लागेको केही सिटको डेलिगेट्स निर्वाचनले औपचारिक मान्यता पाउने सम्भावना देखिंदैन। त्यस्तो हुनु भनेको संसारकै सर्वाधिक ठुलो राष्ट्रिय समन्वय परिषद भएको हेजेमोनिक दम्भ बोल्ने अमेरिकाकै अस्तित्व महासंकटमा पर्नु हो।