१५ आश्विन २०७७, बिहीबार १:३५ | 10/01/2020 3:50 PM



आई एम विथ कुईन्स – शैलेश श्रेष्ठ

२२ चैत्र २०७६, शनिबार १५:३८ मा प्रकाशित

कोरोना भाईरस संक्रमणको रोल नम्बर एकमा रहेको अमेरिका, अमेरिकाकै आधा पीडा व्यहोर्न बाध्य भएको राज्य न्युयोर्क, त्यसको आधा हिस्सा व्यहोर्दै संक्रमणसंग लडिरहेको साहसी न्युयोर्क सहर र त्यस अन्तरगत पनि ठुलो हिस्सा र आवादी करोना कहरमा संक्रमित हुन बाध्य भएको कुईन्स काउन्टीमा ठुलो संख्यामा हाम्रो नेपाली समुदाय संक्रमित र पीडित भएको यो यथार्थका बारेमा हामी जानकार नै छौं ।

म आफु लामो समय बसेको ठाउँ भएकोले होला सायद मलाई अझ धेरै दु:खेको छ कुईन्स! तर म केही गर्न सक्दिन सामाजिक संजालमा दुई शब्द लेख्न बाहेक । यो बिपतले हामीलाई निरिह बनाएको छ । अर्कै ग्रहहरुमा बस्ति बसाउन तम्तयार भएका मानिस जाती यति निरिह हुने दिन पनि आउँछ भनेर मैले कुनै दिन कल्पनासम्म गरेको थिईन ।

मेरा सम्पर्कमा रहेका संसार भरका आफन्त, ईष्टमित्र, साथीसंगी, मेरा पाठक, दर्शक अनि शुभचिन्तकहरुबाट हरेक दिन जसो दर्जनौंको संख्यामा फेसबुक म्यासेन्जर मार्फत सोधिने गरेको छ ज्याक्सन हाईट्सका हाम्रा नेपालीहरुका बारेमा । कसलाई कसरी सहयोग पुर्याउन सकिन्छ भनेर अहिले नेपालीहरु बिच कन्फरेन्स कल गर्ने नयाँ खाले प्रचारवाजी र होडबाजी पनि आरम्भ भएको छ ।

न्युयोर्कका स्व-स्फुर्त सहयोगी समुहहरुले आयोजना गरेको र महामहिम राजदुत डा. अर्जुन कार्कीले आयोजना गरेका केही कन्फरेन्स कलहरुमा सहभागी हुने असवर मलाई पनि प्राप्त भएको थियो । सबैको हुटहुटी करिब उस्तै उस्तै हुनेगरेका छन, सद्भावनायुक्त र सहयोगी तर हामी प्राथमिकता निर्धारण गर्ने कुरोमा चाँही अक्सर चुक्ने गरेका छौं । डाक्टर सापहरु अत्यन्तै सक्रिय हुनु भएको छ । यति धरै नेपाली मुलका डाक्टरहरु रहेछन भन्ने कुरोको जानकारी पनि भयो । सानो घेरामा या यस्ता कलहरुमा उहाँहरुले “काउन्सिलिङ्ग” बाँडीरहंदा ज्याक्सन हाईट्समा बस्ने हाम्रो ठुलो संख्यालाई थर्मोमिटर, टाईलनल र मास्कको सक्त जरुरत भएको बारेमा हामीले भन्न सकेका छैनौं कि?

हाम्रो यो संक्रमित खतरायुक्त बस्ति र आवादीलाई पहिलो प्राथमिकतामा राखेर यस्ता श्रोत र साधनयुक्त व्यक्तिहरु, एनआरएनए आईसीसी, एनसीसी, अन्य राज्य र सहरका ठुला प्रतिष्ठित संघ-संस्थाहरु, सक्षम व्यक्ति-व्यक्तित्वहरुले आफ्नो ईच्छा र गच्छे अनुसार सहयोग गरिदिनु भयो भने हाम्रा मान्छेहरुले ठुलो राहत पाउने थिए ।

“हाम्ले के गर्न सकिएला शैलेशजी?” भनेर लोकाचार भाकाका फोन गर्ने साथीहरुलाई मैले त सानो अनुरोध गर्ने गरेको छु न्युयोर्कका हाम्रा थुप्रै साथीहरु आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरिरहनु भएको छ यदि तपाईको सहरमा थर्मोमिटर, एन-९५ मास्क, टाईलनल पाउँछ भने मेल गरेर पठाई दिनुस । अहिले दुरगामी परियोजना अनि ठुलो कुरो गर्ने समय होइन जसले जे सकिन्छ गरौँ ।

कुनै पनि कर्म आफैमा सानो या ठुलो हुँदैन त्यसको मापन परिणामले निर्धारित गर्ने गर्दछ । सहयोग गर्न नसक्ने हामीले ग्लानी गरेर रोग निम्त्याउनु पनि हुन्न कमसेकम कर्मबीर साहसीहरुलाई “क्याबात!” सम्म भनौं । सहयोग भनेको “द्रब्य” मात्र हुनुपर्छ भन्ने छैन यो बेला “भावना” ले मात्र पनि पीडितहरुमा ठुलो साहस र शक्ति मिल्दछ । कुईन्स काउन्टीका साथीहरुले आफ्नो ज्यानको पर्वाह नगरी मास्क, थर्मामिटर, औषधि र अत्यावश्यक खाध्य सामग्री ढोका ढोकामा पुर्याई रहनु भएको छ । आफुले हड्सनवारीबाट खासै केही गर्न नसकेको वर्तमान अवस्थामा ती सबै साहासी “हिरो” हरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।