१४ जेष्ठ २०७७, बुधबार ९:०७ | 05/26/2020 11:22 PM



…तर फर्कनु चाहि छ नै छ आफ्नै गाउँ र बस्ती… प्रशान एलुङ राई

७ जेष्ठ २०७७, बुधबार २०:३२ मा प्रकाशित

प्रिय साथी राजन,
सम्झना ।

आरम्भ मै तिमीलाई “तिमी” भनेर सम्बोधन गरी रहदा अरुलाई अप्रिय लागेमा क्षमा चाहन्छु । जननिर्वाचित जनप्रतिनिधीलाई सार्वजानिक रुपमा आदरवाची शब्द प्रयोग नगर्दा मलाई पनि त्यत्ति निको लागेको त छैन नै ? तथापी तपाई, जी, हजुरीले सम्बोधन गर्दै गर्दा तिम्रो र हाम्रो आत्मियतामा परचक्रिपना झल्किने रहेछ ।
यसैले मैले यसरी नै बोले है…।

“…आराम रही आरामको कामना…”
पहिले-पहिले खामबन्दी चिठ्ठीहरुको आरम्भ विन्दु यस्तै हुन्थ्यो । समय र प्रविधीले यस्ता अनेकौं औपचारिकताहरु डेड एक्सपायर्ड नै बनाई छोड्यो । र बनायो यो विशाल संसार नै एउटा सानो गाउँ । एक थान मोबाइल भित्रै हाम्रो गाउँ र सिङ्गै संसार अटेको छ । त्यसैले त अचेल सञ्चो-बिसञ्चो निमेषभरमै थाह हुन्छ ।

साथी राजन,
सयौं सम्भावनाहरुको शहर त्यागेर सबैले छोडेको गाउँ फर्केको तन्नेरी मान्छे हौं तिमी । शहरको झिलीमिली छोडेर गाउँमै उज्यालो बाल्नुछ भन्दै उल्टो बाटो हिडेको तिमीले गाउँमा कति अध्याँरो हटाउन सक्यौ ? फराकिला, चिल्ला अनि कालोपत्रे चत्रपथ र राजमार्ग भूलेर बस्तीमै साँगुरो बाटो खन्नुछ भन्दै गाउँ पसेको तिमीले कति बाटो खन्यौ ? यी सबैको लेखाजोखा र प्रश्न गर्ने हिम्मत मसँग एक रति पनि छैन । म आफु त यसै गाउँदेखि शहर हुँदै देशै छोडेर परदेशीएको आम मान्छे… ।

…तर फर्कनु चाहि छ नै छ आफ्नै गाउँ र बस्ती… ।

सिङ्गै देश छातीमै अटाएर बाँचेका म जस्ता हजारौं “म”हरु यो कहरमा आफ्नो गाउँबस्ती सम्झदै एकान्तबाँसमा बस्न बाध्य छौं । खै रहर हो कि बाध्यता ? परदेश भनेको पर-देश नै हुँदो रहेछ । यो पर-देशबाट घरदेशका सम्झनाहरु सम्झी सक्नु छैन । र बिर्सी सक्नु कहाँ छन् र हाम्रो पनि दैनिकीहरु…। तिमीलाई थाह छ, म यत्तिबेला यो कहरको केन्द्रबाट यी अक्षरहरु लेख्दैछु ।

“हाम्रो गाउँ सुरक्षित राख्नु पर्छ है…” भन्दै अस्ति तिमीले रखबारी गरेको खबर र तस्बिरहरु हेरे । अप्ठयारा र अभावहरुमा हामी छौं है… भन्दै सान्त्वना र सहयोग बोक्दै हिडेको पनि देखें । जोखिम त तिमी माथि पनि त्यत्तिकै छ । तिम्रो पनि आमा–बाबा, श्रीमती र बालबच्चाहरु छन् । जसको सम्पूर्ण भरथेग तिमी नै हौं । यो विषम समयमा तिम्रो नेतृत्व, जिम्मेवारी, कर्तव्य र कर्मलाई मेरो उच्च सम्मान छ साथी ।

यत्ति लेख्दै गर्दा भन्नेहरुले चाहि तिम्रो स्तुतिगान लेखेछ भन्लान् । तर यसो होईन । तिमीले हिजो कुन पार्टीको झण्डा बोक्यो र कुन चिन्हमा चुनाव जित्यो ? त्यो मेरो सरोकारको विषय पटक्कै होईन । र तिमीले भोली कसको पक्ष वा विपक्षमा दान-मतदान गर्छौं त्यो पनि चासोको पाटो होईन । विद्यार्थीकालमा स्वावियूको निर्वाचनमा समेत भोटको अनुभवबाट बञ्चित राजनैतिक सम्बद्धता बिनाको एक स्वतन्त्र मान्छे हुँ म । मलाई पार्टीमा भन्दा व्यक्तिमा विश्वास छ । र तिमी जस्तो व्यक्ति माथि आज गर्व छ । भोलीको त के कुरा गर्नु आफैमा अनिश्चित् र अज्ञात छ ।

यसो गम्छु अनि घोत्लिन्छु ।
सपनाहरु पनि किन गाउँकै देख्छु म ? यो अग्लो भवनमाथि उभिएर पनि मेरै घर किन सबैभन्दा सुन्दर लाग्छ मलाई ? कोठाको भित्तामा मैले गाउँकै तस्बिर किन झुण्डाएको हुँला ? र यो पल सबैभन्दा बढि तिमीलाई नै किन सम्झेको होला मैले ?

सायद यी प्रश्नहरुको जवाफ तिमीले दिईरहेका छौं । जसै तिमी सुगम शहरबाट गाउँ फर्क्यो…। त्यसो नहुँदो हो त तिमीले पनि यो पल म जस्तै आफैले आफुलाई अनुत्तरित प्रश्न सोधीरहेका हुन्थ्यौं सायद । यसैले तिमी भोलीको दिन सम्झदै गाउँ फर्केको उर्जाशील मान्छे थियौ/हौं । अध्याराँ, अभाव र अप्ठयाराहरुमा बस्तीको उज्यालो बोकेर वास्तवमै सुल्टो बाटो हिडेको मान्छे हौं तिमी । उल्टो त हामी पो हिडेछौं…। मैले माथि पनि लेखेथें नि-

“फर्कनु चाहि छ नै छ आफ्नै गाउँ र बस्ती… ।”

र अन्तमा,
तिमीलाई पक्कै थाह हुनु पर्छ तिमीले हिडेको बाटोले कुन गन्तव्यमा पुर्याउछ । सबैको साथी बन्दै बाँकी यात्राको लागि पनि हृदयभरीको शुभेच्छा ।
यत्ति ।

तिम्रो साथी
प्रशान एलुङ राई
नेचासल्यान गाउँपालिका
वडा नं.-५, सोलखुम्बु
हालः संयुक्त राज्य अमेरिका