१५ आश्विन २०७७, बिहीबार ११:३९ | 10/01/2020 1:54 PM



तिनै सहकर्मी मित्रहरुको नाममा जसले मलाई बाटो देखाए

६ फाल्गुन २०७१, बुधबार ०१:२५ मा प्रकाशित

यी दुई जना संचारकर्मी मित्रहरुलाई सार्वजनिकरुपमा मनबाट धन्यबाद नभनिकन मैले आफ्नो संचारकर्मको रफ्तार अगाडी बढाए भने यी मित्रहरुलाई भन्दा मैले आफ्नै मनलाई अन्याय गरेको ठहरिन्छ| यस अर्थमा आजको शुभ बिहानी यी दुई सहकर्मीहरुको नाममा “धन्यबाद र आभार” अर्पण गर्दछु|

दुई बर्ष अगाडी जानीनजानी फेसबुकमा दुईटा खाता खोलेछु साथीहरु यसै धेरै छन् मेरा ह्वार्र फेसबुक रिक्वेस्टहरु आए तर प्राबिधिक ज्ञान भएन कसरी तान्ने अनि छान्ने| फोन गरेर साथीसंगी आफन्तहरु रिसाउन पो थाले “ए…अम्रिका बसेर ठुलो भाको…हाम्लाई त किन एसेप्ट गर्नु हुन्थ्यो ब्ला ब्ला अनि ब्ला नेपालीपारामा” यहि बहानामा मित्रवत सम्बन्ध विस्तार गर्नु पर्यो भनेर भर्खर भर्खर अमेरिका आएका किशोर पन्थीको डेरा रिजउड पुगें अर्का मित्र सुर्य थापासंग पनि पहिलो चोटी त्यहीं भेट भयो|

 सम्प्रेषणयुयसए डटकम शुभारम्भ भएको दिन र क्षेण संचारकर्मी किशोर पन्थी र प्रदीप थापामगरका साथ तस्विर: अशोक पन्त (नेपालफोटोन्युज डटकम)
सम्प्रेषणयुयसए डटकम शुभारम्भ भएको दिन र क्षेण संचारकर्मी किशोर पन्थी र प्रदीप थापामगरका साथ
तस्विर: अशोक पन्त (नेपालफोटोन्युज डटकम)

त्यो दिन किशोर पन्थीले मेरो फेसबुके टन्टो साफ गरिदिए| पुर्ण उपचार मात्र गरिदिएनन फेसबुक संचालनको क, का, कि, की नै पढाए| अहिले म दुई बर्ष पछि आफ्नो निजि खातामा जुकरबर्गको नियम र सिमानामा बाधिएर पाँच हजार असल साथीहरु आफन्तहरु र दर्शक-श्रोता अनि शुभचिन्तकसंग दु:ख सुखका गन्थन अनि समाचार “सम्प्रेषण” गर्छु| त्यतिले नपुगेर अहिले म यो यान्त्रिक दुनियाको मेरो तन्नेरी गुरु प्रिय भाई बिशाल अर्यालको सहयोगमा आफ्नो सम्प्रेषण फेसबुक पेज खोलेर अरु थप केहि हजार सम्प्रेषणका दर्शक-श्रोतासंग नियमित सम्बन्ध र सम्पर्कमा निरन्तर छु|

ह्वाईट हिमाल संचालनको प्रारम्भ मै मलाई यिनले एउटा साप्ताहिक कार्यक्रम चलाईदिन अनुरोध गरे, पहिले त विश्वासै लागेन यस्तो व्यस्त सहर न्युयोर्कमा २४ घण्टे टेलिभिजन खोल्ने? मन मनै लाग्यो यिनलाई नेपालको धंगधंगी अझै बाँकि छ| म पुर्णकालिक जागिरे थिएँ तर मनको किरा चाँही कसो कसो सल्बलाउन थालेको थियो| बाँकि कथा र यथार्थ यहाँहरुलाई थाहै छ, यिनकै जिद्दीले आज “म” बाट सुरु भएको “यो सम्प्रेषण हो, समाचार होइन” को खाका अनि भाकाको साप्ताहिक टेलिभिजन कार्यक्रम “सम्प्रेषण” अहिले तपाई हामी सबैको हुने क्रममा अगाडी बढेको छ| म बारम्बार किशोर जीलाई घुर्क्याउछु “म बर्षौं चुपचाप बसेर राम्रै कमाई गरेको मान्छेलाई फसाउने तपाई नै हो” उनि प्रतिबाद गर्दैनन् मैले यसो भन्दा बरु कोल्टे फर्किएर खिस्स हाँसेर टारी दिन्छन|

मेरा अर्का मित्र प्रदीप थापामगरले साह्रै चिमोटे पछि मैले ब्लग लेख्ने र वेबसाईट पनि संचालन गर्ने आँट गरें| कहिले उनि चार्ली रोजसंग दाज्छन त कहिले अमिताभ बच्चनले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्यो उस्तो लेख्यो भनेर मलाई “जग” लगाउछन| करिब डेढ दशक भएछ यिनीसंगको चिनजान अनि मित्रवत सम्बन्ध आरम्भ भएको जति बेला हामीले जानीनजानी मासिक अमेरिका दर्पण पत्रिकामा संगै काम गर्यौं|

फेसबुकमा मेरो लेख्ने आदत र नशा देखे पछि यिनले सम्प्रेषणयुयसए डटकम नामक ब्लगको डिजाईन गरेर केहि दिनमा मेरो घरमै आएर शुभारम्भ गरिदिए| अर्को दिन मैले आफ्नो स्टाटसमा लेखें “प्रदीप थापामगरले बिना लाईफ ज्याकेट मलाई स्विमिङ्ग पुलमा धकेली दिए” हुन पनि भएको त्यस्तै हो म उ जमानाको मान्छे भर्खर फेसबुक चलाउन थालेको छु आएर के के भन्यो भन्यो अनि यो गर त त्यो गर भन्छ, मैले नि नेपालीपारामा मुन्टो हल्लाएँ, जानिन या बुझिन भन्ने हामी नेपालीको बानी कहाँ छ र! एउटै उपाय र आँट थियो घरमा पढेकी छोरी छे मलाई उनले तानेर भएनी स्विमिङ्ग पुलबाट निकाल्छे अब ज्यानै जाने जोखिम भएन|

अहिले डुब्दै तैरंदै बिना लाईफ ज्याकेट आफ्नो मनमा लागेको कुरो संसारको कुनै मानिस अनि दृष्य अदृष्य कुनै शक्तिसंग अलिकति पनि डर र त्रास नराखी मनको आदेशमा लेख्छु| अचानक अस्ति राती मेरो मनमा यो कुरा आयो, हैन किन मलाई यहाँसम्म आई पुग्न सहयोग गर्ने यी सहकर्मी साथीहरु प्रति मैले अनुग्रहित या आभारी हुन नजानेको होला? त्यहि रात मनले आदेश दियो, रात छिप्पि सकेको थियो, हिजो लेख्न सकिन तर यो क्षण सबै काम र प्राथमिकताहरु बिर्सिएर यी दुई सहकर्मीहरुको नाममा यो आलेख समर्पण गर्दैछु|

फरक मानिस हुनुको अर्थमा भोली या आज साँझै कुनै कुरा या बिषयमा यी मित्रहरुसंग बिषयगत बिमतिहरु हुन सक्लान, कति बूँदा र बिषयहरुमा हाम्रा मुख र मन जोडीएलान अथवा अन्य कति प्रकरण र प्रसंग अनि परिवेशहरुमा हाम्रा मन अनि मुख बाझ्लान, त्यसलाई गर्तको पोल्टामा जिम्मा दिदै अहिलेलाई अनुग्रहपुर्ण आभार अनि धन्यबाद मात्र लेख्न चाहन्छु|

( सम्प्रेषणीय नोट: कृपया चित्त नदुखाउनु होला मेरो “मिशन” लाई “मोसन” दिन साथ र समर्थन गर्ने अरु थुप्रै साथीसंगीहरु हुनुहुन्छ, मनको आदेश सुनेर म निरन्तर लेख्दै जानेछु)