२८ श्रावण २०७७, बुधबार ११:२३ | 08/12/2020 1:38 PM



नेपाली समुदायमा शत्रु कमाउन प्रगति गरे पुग्छ

१७ चैत्र २०७१, मंगलवार १३:४३ मा प्रकाशित

यो भनाई हो अमेरिकी मुलधारको राजनीतिमा गर्विलो उपस्थिति जनाउन सफल भएका मेरील्याण्ड हाउस अफ डेलिगेट्सका पुर्व उम्मेदवार ह्यारी भण्डारीको| उनि अहिले डेमोक्रेटिक पार्टीको युवा मोर्चा योङ्ग डेमोक्रेट्स अफ अमेरिकाका राष्ट्रिय सचिबका रुपमा कार्यरत छन|

s w

यसपाली एनआरएन अमेरिकाको बार्षिक साधारण सभामा मातृभूमी नेपालको राजनैतिक आस्थाको भारी बिसाएर कर्म थालोकै राजनीतिमा पाईला हालेका रोजर अधिकारी, दर्शन रौनियार, ह्यारी भण्डारी, हरि के.शर्मा र जीवन तिवारीसंग भेट्ने सुयोग जुर्यो| महिनौ देखिको उनीहरुसंग अन्तरक्रिया गर्ने अभिष्ट बल्ल यसपाली पुरा भयो| त्यस अर्थमा यो भेला मेरो लागि “पशुपतिको जात्रा शिद्राको ब्यापार” नै सावित भयो|
गत बर्षको निर्वाचनमा मेरील्याण्डको हाउस अफ डेलिगेट्समा अत्यन्त झिनो मतले पराजित भएका ह्यारी भण्डारी देखि अहिले स्टेट डिपार्टमेन्ट देखि ह्वाईट हाउससम्म पंहुच भएका अर्का अमेरिकी राजनीतिकर्मी हरि के. शर्मा अनि भर्जिनिया राज्यको डिस्ट्रिक्ट नम्बर ८७ बाट डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका अर्का नेपाली मूलका अमेरिकी राजनीतिकर्मी जीवन तिवारीसंग हाम्रो टेलिभिजन कार्यक्रम सम्प्रेषणको लागि सम्प्रेषणीय अन्तरंग वार्ता गर्ने संयोग पनि जुर्यो|
एनआरएन अमेरिका र नेपाली माउ पार्टीका भात्री संगठन हाँकी रहेकाहरुले बुझे बुझेनन् थाहा भएन तर ह्यारी भण्डारीजी बन्द सत्र देखि अन्य फोरम र भेटघाटमा बारम्बार “रबर्ट रुल्स” को बारेमा बोलिरहेका थिए अनि अपारदर्शी सांगठनिक शैलीलाई मिठो र ठट्यौली पारामा प्रहार गर्दै उनि भनिरहेका थिए “हिसाब र पिसाप सफा राख्नु पर्छ” तर साधारण सभालाई नाचगानमा रुपान्तरण गरेर तामसी उल्लासमा रमाईरहेकाहरु र माउ पार्टीको तोक, आदेश र परिपत्रमा एनआरएन अमेरिकालाई राजनैतिक रंग पोत्न गुटबन्दीमा अस्तव्यस्त दलगत राजनीतिका खेलाडीहरुलाई ह्यारीजीको कुरो हजम भए जस्तो मलाई चाही लागेन|

s w

सुँगुरलाई स्वर्ग जान्छस भन्दा “उ” खान पाईन्छ र? भने जस्तै भएको छ नेपालको माउ पार्टीको भात्री संगठन खोलेर अमेरिकाबाट नेपालै चलाएको भ्रममा बाँचेकाहरुका लागि अमेरिकी मुलधारको राजनीतिको बाटा र सपनाहरु| उनीहरुलाई यहि शैलीको सौदाबाजी र जालसाँचीमा चल्ने उताको सह-गोत्रीय बैचारिक राजनीतिमै फाईदा छ| किनकी त्यसको घेरा नितान्त साँघुरो हुन्छ अनि त्यस्तो कम्फर्ट जोनमा जोखिम पनि कम हुन्छ| मलाई निजिरुपमा लागेको थियो हाम्रा भुरेटाकुरे नेताहरुले यिनीहरुसंग भेटघाट बाक्लो बनाएर केहि सिक्लान तर उनीहरुलाई के रुचि हुन्थ्यो सिक्न र बुझ्न उताबाट जे जानेर या बुझेर आयो त्यति नै बुध्दि र वर्गतले गर्न सकिने दलगत अझ गुटगत राजनीतिमा यिनीहरुलाई नसा लागि सकेको छ|
अब कर्म थलोको मुलधारको समाज र राजनीतिमा आफ्नो अस्तित्व र पहिचान कसरी बनाउने चेतना र चिन्ता होइन अब हुने एनआरएनको निर्वाचनमा आफ्नो पार्टी समर्थक उम्मेदवारलाई कसरी जिताउने त्यसको लागि अन्य पार्टीका समर्थकहरुसंग कसरी गठबन्धन र समीकरण मिलाउने मात्र यिनीहरुलाई त्यहि चिन्ता थियो, त्यसैको लागि रातभर कुने-बैठक र कोठे बैठकहरु भरमार चल्यो| यस्ता दलगत राजनीतिबाट परिचालित व्यक्ति या झुण्डबाट यो हामी सबैको साँझा गैर राजनैतिक चरित्रको संस्थालाई बचाउनु पर्ने दायित्व पनि अब हाम्रै हो| अब यिनीहरुको सवालमा एउटा कटु सत्य चाँही उद्घाटित भएको छ, बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा हाल्दा कुकुरको पुच्छर सोझिने होइन बरु ढुङ्ग्रो बाङ्गिने पो डर भो!