२३ असार २०७७, मंगलवार १२:०४ | 07/07/2020 2:19 PM



रिलेसन म्याटर्स – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

१३ श्रावण २०७५, आईतवार २३:४४ मा प्रकाशित

यसै त प्रचण्ड गर्मीको मध्य दिन त्यसमाथि काम नजान्दा हरेक कुरा सिक्नु पर्दाको आप्रवासी पीडा..उनको मुहार त्रास र संशयले लपक्क भिजेको थियो, गालाको बाटो हुँदै चिउँडोसम्म बगेको त्रास मिश्रित पसिनासम्म उनले पुछ्ने आँट गर्न सकेकी थिईनन ..ग्राहकलाई दिनु पर्ने कृतिम हाँसो अनि मुस्कानको कुरा त कता हो कता…ट्रेनिङ्ग दिने महिला निक्कै रुखो लाग्दथ्यो, उनि भन्दै थिईन “डु यो नो, हुईच वन ईज निकल एण्ड हुईच वन ईज डाईम?” लाग्दथ्यो उनि ट्रेनिङ्गको पहिलो दिन पोर्ट अथोरिटीको व्यस्त “ओ बों पे” क्याफेमा “जागीर” होइन “गाली” खान तम्तयार भएर आएकी थिईन ।

भर्खर भर्खर अमेरिका आएको जस्तो लाग्ने एक जना अस्वेत केटीको त्यो दुर्दशा मैले कफी किन्ने लाईनमा बसेर सुनिरहें..उनलाई थाहा नहुन सक्छ न्युयोर्क सहर सँधै हतार मात्रै गर्दैन कति अवस्थाहरुमा निर्दयी पनि छ..मलाई लाग्यो उनलाई यो बेला “यु क्यान डु ईट” भन्ने ढाडसी हौसलाको जरुरत छ ।

मैले न्युयोर्कको लवजमा पछाडीको लामो लाईनको पर्वाह नगरी मैले भने “हे योङ्ग लेडी, हाउ यु डुईंग टुडे?” उनले भनिन “आम जस्ट ओके!” उनले मुस्किलले शीर ठाडो पारेर म तिर हेरिन । म अक्सर त्यो क्याफेमा एक कप कफी टिप्छु अनि त्यो दिन पनि मेरो नियमित आकस्मिकता त्यही थियो । ओ बों पेको पोलिसी निक्कै डिभर्स छ त्यसैले त्यहाँ कामदार आप्रवासीहरुको बाहुल्य रहेको छ | अफ्रिकन अमेरिकनहरु ठुलो मात्रामा काम गर्छन । पैसा तिर्ने क्रममा मैले भेटेसम्म र जानेसम्मको अंग्रेजी शब्दहरु खोज्दै उनलाई ढाडस, सान्त्वना मात्र होइन आत्म बल पनि दिएँ म उनलाई थप बलियो बनाउन मेरो संघर्षका कथाहरु पनि सुनाउन चाहन्थें तर त्यस्तो दुस्साहस गर्दा पछाडीको त्यो लामो लाईनलाई अन्याय हुन्थ्यो मैले चाहेर पनि अमेरिका आएको तेश्रो दिनमा “बस ब्वाई” बन्दै अहिलेसम्म गर्विलो श्रमिक जीवन बिताएको कथा सुनाउन सकिन ।

एक हप्तापछि आज उनलाई देख्दा लाग्यो अब उनी त्यो “फियर जोन” बाट बाहिर निस्की सकेकी छिन । आज घर फर्किने क्रममा टुना स्याण्डविच किनेर कुनाको टेबलमा खाई रहेको थिएँ उ हातमा मेरो फेब्रेट मर्निङ्ग ब्लेन्ड कफी लिएर आईन अनि भनिन “आई रियल्ली अप्रिसिएट यु, हाउ ईन्करेज्ड मि दयाट डे ।”

मैले त्यो दिन उनलाई सुनाउन नपाएको कथा सुनाएँ । अमेरिका आएको तेश्रो दिन मैले न्युयोर्क डाउन टाउनको एउटा रेस्टुरेन्टमा बस ब्वाईको काम गरेको थिएँ । काम आरम्भ गरेको केही घण्टामै किचेनबाट एकजना सन्काहा सेफ आएर मलाई भन्यो ” हे म्यान, गो टु दयाट कर्नर स्टोर एण्ड गेट मे टु बन्च अफ डील ।” …”डील”? नेपालीपाराले बुझेकै जस्तो अनि जानेकै जस्तो गरेर “डील”, “डील”, “डील” भन्दै निस्किए अनि पसलमा गएर पसलेले जे दियो त्यही ल्याएँ । आखिर हरेक आप्रवासीहरुको जीवन यस्तै बाध्यता र साहसबाटनै आरम्भ हुन्छ ति दु:खका दिनहरुले नै हामीलाई बलियो बनाउँछ ।

म आफ्नो वर्गको दु:खलाई निक्कै गहिरो गरि अनुभूत गर्छु अनि मेरो लागि मानवीय सम्बन्धनै जीवनको उच्चतम आधार हो । एक हप्तामै बिकास भएको उनको आत्म बिश्वास देखेर म निक्कै खुसी भएँ मान्छेले मान्छेलाई सँधै दिएर ख्वाएर पुग्दैन अनि सम्भव पनि हुँदैन तर मानिस हुनुको नाता र अर्थमा मान्छेले मान्छेलाई चाहिएको मौका र अप्ठेरोमा अलिकति मात्र सहयोग गर्ने हो भने यो संसार निक्कै सुन्दर पो हुन्छ त! मैले त्यो अप्ठेरोमा दिएको ढाडस र सान्त्वनाका दुई शब्दले उनलाई बलियो बनाएछ । रिलेसन म्याटर्स!