२८ मंसिर २०८१, शुक्रबार ६:३९ | 12/13/2024 7:54 AM
केहि दिन अघिमात्रको सन्दर्भ हो । अमेरिकी राष्ट्रपति जोसेफ बाईडेनले ह्वाईट हाउसमा कलात्मक दीप प्रज्वलन गरेर हिन्दुहरुलाई शूभकामना दिए । सँगै उपराष्ट्रपति कमला ह्यारिस, संसदकी सभामुख न्यान्सी पेलोसीले पनि शूभकामना दिए ।
अमेरिकामा हिन्दुको प्रतिशत असाध्यै थोरै छ । जति पनि छन् सबै आप्रवासी हुन् । कोही पहिलो पुस्ता छन्, कोही दोस्रो । संभवत एक शताब्दी लामो इतिहास अमेरिकामा कुनै हिन्दु धर्म मान्नेको पनि छैन ।
तर राष्ट्रपतिको हैसियतबाटै दीपावली गर्नु, पर्वको महत्व दर्शाउँदै शूभकामना दिनुले एक हिसाबले धार्मिक उदारताको ज्वलन्त उदाहरण हो ।
नेपालमा जाने जो कोही अमेरिकी राजदूत हरेक नेपाली चाड र पर्व मनाउँदै ढाका टोपी पहिरिएर सांस्कृतिक सम्बन्धमा पनि निकै निकट हुँदै आएका छन् । पूजाआजा, छठ-होली, रक्षाबन्धन जुनसुकैमा पनि अमेरिकी राजदूतले रितपूर्वक मनाएको देखिन्छ ।
अनि हामी उनीहरुको प्रशंसा गर्दै भन्छौ-वाह यो हो नि! अनि धन्यवाद मात्र होइन प्रशंसाका पुलिन्दा खोल्छौँ । समाचार बनाउँछौँ, सामाजीक सन्जालमा शेयर गर्छौँ । क्रिश्चियन समुदायको कोही कसैले हिन्दु धर्म लियो भने हाम्रो धर्मको बढ़ाई चढाई गर्छौँ । हाम्रो धर्ममात्र ठूलो महान हो भन्छौँ । कुनै विदेशीले नेपाली भाषा बोलिदियो भने ठूलो जीत ठान्छौँ । स्वभाविकै हो-आफूले मानिआएको रितलाई अरुले महत्व दिँदा गर्व नै लाग्छ । जो कोहीको मानवीय स्वभाव नै हो ।
तर बाईडेनले दीपावली गरेर शूभकामना दिए जस्तैगरि राष्ट्रपति विद्या भण्डारीले थ्यांक्सगिभिंगमा टर्की चरो देखाउँदै छाडिदिने हो भने हामी स्विकार गरौँला ? या क्रिसमसमा झिलिमिली बत्ति बालेर प्रधानमन्त्री नाचगानमा समावेश हुने हो भने हाम्रो रगतको स्विकार गर्ला ?
नेपालबाट राजदूत भएर आउने कुनै चर्चमा गएर प्रार्थनामा सरिक भएभने हाम्रो समाजले सहन्छ होला ? हाम्रो रगत त्यति उदार छँदैछैन । हामी सम्मान चाहन्छौँ, तर अरुलाई गर्न जान्दैनौँ । हाम्रो धर्मको अरुले सम्मान गरुन् भन्छौँ, तर अरुको धर्मलाई ईज्जत गर्न सक्दैनौँ ।
केहि वर्ष अघि एउटा कार्यक्रममा तत्कालिन एमाले र हालको नेकपा समाजवादीका नेता माधबकुमार नेपालले वाईनको गिलास उचालेको निहुँमा ‘होली वाईन’ नामाकरण गरियो । जिन्दगी मदिरा नपिउने (तत्कालिन प्रेस सल्लाहकार तथा हाल एमालेका नेता विष्णु रिजालका अनुसार) माधव नेपाल एउटा अर्ध धार्मिक कार्यक्रममा अतिथिका रुपमा थिए । अतिथिले वाईनको गिलास उचाल्नु अपराध त थिएन । तर आफ्नो धर्मको ईज्जत खोज्ने र अरुको धर्मको सम्मानको संस्कार नसिकेकाहरुले ठूलो मुद्धा बनाए । शायद यो मुद्धा चुनावसम्मै तन्किनेछ छ ।
भगावानले मान्छे बनाएका होइनन् । हामी मान्छेले कल्पना गरेर बनाएका हौँ । कुनै युगमा तत्कालिन समाज परिवेशको रुढीबादिता विरुद्ध समाजमा चेतना भर्ने व्यक्तिलाई मानिसले भगवान मानेको हो । यसमा यो भगवान ठूलो, यो धर्म महान र अरुलाई अवहेलना गर्नु अज्ञानता शिवाय केही होइन । तर हाम्रो रगतले यो तथ्यलाई स्विकार्दैन । म सँगै काम गर्ने साथी बिफ खान्छ । म कुखुरो र माछा बाहेक केही खाँदिन । म मन्दिर जान्छु, उ चर्च जान्छ । उसले बिफ तताएको माइक्रोवेभ नै मैले प्रयोग गर्नुपर्ने हुन्छ । कहिले मैले तताएपछि उस्ले प्रयोग गर्छ । खानेकुरालाई लिएर, धर्म र संस्कारलाई लिएर छिछि र दुरदुर गर्नु बेकार हो । हामी उदार हुन जान्दैनौँ । हामी सोचलाई फराकिलो बनाउन सक्दैनौँ ।
हाम्रो यो पाखण्डीपनको कारक के होला -रगत, हावापानी, संस्कार या संगत?