१३ बैशाख २०८१, बिहीबार १०:२२ | 04/25/2024 12:37 AM



आफ्नै भतिजीले भनिन “ट्रम्प संसारकै सबभन्दा खतरनाक मान्छे” – शैलेश श्रेष्ठ

३१ असार २०७७, बुधबार २२:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प अहिले “जिते हस्तिनापुरको राज हारे चपरी मुनिको बास” को राजनीतिक लडाईको मोर्चामा होमिएका छन त्यसैले उनी सत्ता र शक्तिको दुरुपयोग गर्दै साम, दाम, दण्ड अनि भेदको रणनीतिमा नाङ्गो उत्रिएका छन। आफैले हायर गरेकाहरुलाई आफुले भनेको नमान्ना साथ छानी छानी फायर पनि गर्दैछन।

कार्यपालिका र व्यबस्थापिकामा एकछत्र परिवारवाद हावी गराएपछि अहिले आएर बिस्तारै बिस्तारै अमेरिकी जनताका अन्तिम भरोसा र बिश्वासको धरोहर न्यायपालिकालाई प्रहार गर्न लागि परेका छन। साउदर्न डिस्ट्रिक अन न्युयोर्कका अटर्नी जेफ्री बेर्मेनको बर्खास्तीले अहिले अमेरिकी न्याय क्षेत्रमा खैला बैला मच्चिएको छ।

उनले राष्ट्रपति ट्रम्पसंग सम्बन्धित केही मुद्दाहरु र उनका सहयोगी न्युयोर्क सहरका पुर्व मेयर रुडी जुलियानीसंग सम्बन्धित केही मुद्दाहरुको छानविन गरिरहेका थिए। आफुले भनेको मान्ने र लिखतरुपमैआफु बिरुद्ध लेख्दिन र बोल्दिन भनि सर्तनामा मन्जूर गर्नेलाई “क्षेमादान” दिईरहेका छन भने त्यस्तो कागजमा हस्ताक्षर गर्न नमान्नेलाई कालकोठरीमा फिर्ता पठाउँदैछन। त्यस्तो घटना यो हप्ता स्पष्टरुपमै देखियो।

रबर्ट म्युलरको छानविनमा दोषी ठहरिएर ४० महिनाको लागि जेल चलानको तयारीमा रहेका आफ्ना पुराना मित्र तथा सल्लाहकार रोजर स्टोनलाई उनले आफ्नो कार्यकारी अधिकारको दुरुपयोग गर्दै मुक्त गरिदिएका छन भने आफ्नो लिखित शर्तलाई मन्जूर नगर्ने आफ्नै पुर्व कानुनी सल्लाहकार माईकल कोहेनलाई पुनः जेल चलान गराएका छन।

आफ्नो सिफारिसमा चालिस महिनाको जेल सजाय पाएका अभियुक्त रोजर स्टोनलाई राष्ट्रपतिले पूर्ण उन्मुक्ति दिएपछि स्वतन्त्र जाँचबुझ आयोगका स्पेसल काउन्सिल रोबर्ट म्युलरले वासिंगटन पोष्टमा अप-एड नै लेखेर राष्ट्रपतिको निर्णयको बिरोध गरेका छन।

राष्ट्रपति ट्रम्पबाट क्षेमादान पाएपछि आफ्नो निवास्थानमा बिजयी मुद्रामा अभियुक्त रोजर स्टोन

पछिल्लो समय उनको नियत र कर्तुतलाई उदाङ्ग पार्ने हैसियतका दुई पुस्तकहरु बिश्व बजारमा आएका छन। दुवै पुस्तकको प्रकाशन र बजार प्रबर्धनलाई रोक्न ट्रम्पले आफ्ना परिवार र प्रशासन मार्फत अमेरिकी अदालतको सहार लिएका थिए तर लेखकीय मौलिक स्वतन्त्रताको उपल्लो सम्मान गर्दै सम्मानित अदालतहरुले ट्रम्पको विपक्षमा अनि लेखक तथा प्रकाशकको पक्षमा फैसला गरिदियो। अहिले ट्रम्पकै पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तक “द रुम ह्वयर ईट ह्यापेन्ड” र उनकी आफ्नै भतिजी म्यारी ट्रम्पले लेखेको “टु मच एण्ड नेभर ईनफ: हाउ माई फ्यामली क्रिएटेड दि ओर्ल्ड्स मोस्ट डेन्जरस म्यान बजारमा उपलब्ध छन |

राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको सर्वसत्ताबादी चरित्रलाई जान्ने बुझ्नेहरु केही समय अघिदेखि एउटा गम्भिर बिषयमा तर्क गरिरहेको म रुचिपुर्वक सुनिरहेको छु। उनीहरुको जिध्दी यस्तो छ सन २०२० को निर्वाचनमा उनको सर्मनाक पराजय पश्चात पनि उनले सजिलै ह्वाईट हाउस (सत्ता) छाड्ने छैनन। उ बेला मलाई त्यस्ता भनाईहरु “अल्ट्रा एक्सट्रिम” लाग्दथ्यो अनि मनमनै आश्वस्त हुन्थें अहं अमेरिकी लोकतन्त्र र बिधिको शासनमा त्यो किमार्थ सम्भव छैन।

राष्ट्रपतिय निर्वाचनको दिन नजिक आईरहँदा त्यो कोणबाट तर्क गर्ने राजनैतिक समिक्षक, पण्डित र ईतिहाँसविदहरुको संख्या दिनानुदिन बढ्दो छ। नोभेम्बर ३ तारिख मंगलबारको मध्यरातसम्ममा कुनै अतिरिक्त समस्याहरु देखा परेनन भने सम्भवत: निर्वाचनको क्लियर प्रोजेक्सन ठुला संचार माध्यमहरुले गर्नेछन। पछिल्लो सर्वेक्षणका अनुसार स्विङ्ग स्टेट भनेर जानिने ६/७ राज्यहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार पुर्व उप-राष्ट्रपति जो बाईडेन निक्कै आगाडी छ्न भने नेशनल पोलहरुमा १२ देखि १५ प्रतिशतले बाईडेन अगाडी छन।

डेमोक्रेट्स, स्वतन्त्रहरुको त के कुरो गराई भयो र रिपब्लिकन पार्टीका हस्तीहरु पुर्व राष्ट्रपति जर्ज डब्ल्यु. बुश, पुर्व सेक्रेटरी अफ स्टेट कोलिन पावल, राष्ट्रपतिका पुर्व उम्मेदवार तथा रिपब्लिकन सिनेटर मिट रमनीले ट्रम्पलाई समर्थन र मतदान नगर्ने घोषणा गरिसकेका छन।

उनलाई नजिकबाट जानेका चिनेका रिपब्लिकनहरुले पनि अहिले त्यही चिन्ता जाहेर गर्न थालेका छन | पराजय पश्चात पनि उनले सजिलै सत्ता हस्तान्तरण गर्ने छैनन। अमेरिकी संबिधान अनुसार राष्ट्रपतिको कार्यकाल जनवरी महिनाको २० तारिखको मध्यान्नसम्म कायम रहनेछ। त्यस अर्थ र यथार्थमा सर्मनाक पराजय घोषणा भएको दिन नोभेम्बर ३ तारिखको मध्यरातदेखि जनवरी २० को मध्य दिनसम्ममा उनले जे पनि गर्न सक्ने सम्भावना छ।

जसरी बहालवाला राष्ट्रपतिलाई कुनै पनि अभियोग लगाएर पक्राउ गर्न पाईंदैन भनेर वाटरगेट काण्डको नजीर र वर्तमान अमेरिकी संबिधानले ब्याख्या गरेको छ त्यसरी नै उनले सहज र सरलरुपमा नव-निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गरेनन भने के हुन्छ भन्ने बारे संबिधान मौन छ। त्यस्ता संबैधानिक छिद्रहरुमा डोनाल्ड ट्रम्पले भरपुर खेल्न सक्ने सम्भावना रहेको कुरा राजनैतिक समिक्षकहरु मात्र होइन उनकै ईनर सर्कलका मानिसहरुले समेत बताउन थालेका छन।

पदभारबाट मुक्त भएका पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन, पुर्व सेक्रेटरी अफ डिफेन्स जेम्स म्याटिस या पुर्व अटर्नी जनरल जेफ सेसनले त्यही कुरा भन्दा आम मानिसलाई पूर्णरुपले बिश्वास नलाग्न सक्दछ तर एकाघरकि आफ्नै भाजिती म्यारी ट्रम्पले नै राष्ट्रपति ट्रम्पलाई “संसारकै सबभन्दा खतरनाक मान्छे” भनेपछि यसले ठुलो अर्थ राख्दछ।