७ बैशाख २०८१, शुक्रबार ११:२७ | 04/19/2024 1:42 PM



आलेहान्द्रो माहोर्कस बने पहिलो ल्याटिनो मूलका डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्रेटरी – शैलेश श्रेष्ठ

९ मंसिर २०७७, मंगलवार १५:५६ मा प्रकाशित

नव-निर्वाचित अमेरिकी राष्ट्रपती जो बाईडेनले आफ्नो मन्त्रीमण्डलको छनौट र मनोनयनको पहिलो ब्याच सार्वजनिक गरेका छन | त्यस अन्तरगत अमेरिकी अस्तव्यस्त आप्रवासन र अन्तरिक सुरक्षा हेर्ने होमल्याण्ड सेक्युरिटी बिभागको महत्वपूर्ण जिम्मेवारीमा क्युबन मूलमा आलेहान्द्रो माहोर्कसलाई मनोनित गरेका छन।

माथिल्लो सदन सिनेटबाट अनुमोदित भएमा उक्त बिभाग हेर्ने उनी पहिलो ल्याटिनो सेक्रेटरी हुनेछन। अमेरिकाको अन्तरिक सुरक्षा र आप्रवासन हेर्ने यो महत्वपूर्ण बिभागमा २४०,००० कर्मचारी रहेका छन।
पुर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा उनले सचिव जे जन्सनको सहायकको भूमिकामा महत्वपूर्ण जिम्मेवारी निभाएका थिए।

मुख्यरुपमा उनले आफै जन्मेको देश क्युवासंगको दौत्य सम्बन्ध स्थापना गर्ने प्रारम्भिक ड्राफ्ट र सानै उमेरमा अमेरिका ल्याईएका नावालकहरुलाई अस्थायी कानुनी सुबिधा दिने कार्यकारी आदेश डिफर्ड एक्सन फर चायल्डहूड अराईभल्स (डाका) को खाका निर्माणमा मुख्य भूमिका निर्वाह गरेका थिए।

मायोकार्सका आमा-बाबा तात्कालिक नाजी फासीबादबाट बच्न टर्की र पोल्याण्डबाट क्युबा पलायन भएका थिएँ त्यसपछि क्युवाको कम्युनिष्ट शासनबाट प्रताडित भएर उनीहरु अमेरिका आए । आफ्ना आमा-बाबासंग छ महिनाको उमेरमा अमेरिका ल्याईएका आलेहान्द्रो माहोर्कस आफुले ड्राफ्ट गरेको अमेरिका-क्युबा बिचको द्विपक्षीय सन्धि लागु भएपछि सन् २०१५ मा आफ्नो जन्मथलो क्युवा पहिलो पटक फर्किएका थिए।

ओबामा कार्यकालमा लागु गरिएका प्राय: सबै सन्धि सम्झौताहरु अहिले समाप्त भएको अवस्था छ। ट्रम्प प्रशासनले करिव ४०० वटा कार्यकारी आदेशहरु जारी गरेर आप्रवासन सम्बन्धि नीति-नियम, विनियम, कार्यकारी आदेश र सन्धि-सम्झौतालाई रध्द गरिदिएका छन अब यी सारा बिषयहरुलाई सम्बोधन गर्दै पुनर्स्थापित गर्नु पर्ने अहम दायित्व उनको काँधमा आउनेछ।

औपचारिक मनोनयन भएको जानकारी पाएको केही घन्टा मै सार्वजनिक गरेको ट्वीटमा उनले भनेका छन “जब म सानै थिएँ संयुक्त राज्य अमेरिकाले म र मेरो परिवारलाई आश्रय दियो। म अहिले अमेरिकीहरुको सुरक्षा र सुरक्षित भविश्यका लागि आफ्नो देशबाट भागेर यहाँ आफ्ना र आफ्ना प्रियजनहरुको भविश्य खोज्न आएकाहरुलाई हेर्ने जिम्मेवारी भएको बिभागको प्रमुखमा मनोनित भएको छु।” उनले आफ्नो ट्वीट मार्फत आप्रवासी र शरणार्थी प्रति आफ्नो नीति र दृष्टिकोण नरम अनि सकारात्मक हुने सक्ने संकेत पनि गरेका छन।

वर्तमान राष्ट्रपतीय निर्वाचनले नव-निर्वाचत राष्ट्रपति जो बाईडेन र उप-राष्ट्रपति कमला ह्यारिसलाई एउटा बाध्यकारी म्यान्डेड दिएका छन त्यो के हो भने उनीहरुलाई बिजयी गराउने अल्पमत अस्वेत, ल्याटिनो र एसियन समुदायको समानुपातिक र न्यायिक प्रतिनिधित्व अब बन्ने मन्त्री मण्डल र प्रशासनमा हुन जरुरी छ। उनको मनोनयन त्यसैको प्रारम्भिक कडी हो भनेर अहिले बुझ्ने गरिएको छ।

पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुशकै समयदेखि थाँती रहेको ११ मिलियन कागजपत्रबिहिन अप्रवासीहरुको मुद्दा र त्यो संगै जोडिएर आउने गरेका डिफर्ड एक्सन फर चायल्डहूड अराईभल्स (डाका) र टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) को बिषयलाई अब आउने बाईडेन प्रशासनले आफ्नो कार्यकालको सय दिन भित्रै सम्बोधन गर्ने वचन दिएको अवस्थामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरीमा ल्याटिनो समुदायका आलेहान्द्रो माहोर्कसको मनोनयनले आप्रवासनमा हुन सक्ने असल कामहरुको शुभसंकेत भने पक्कै दिएको छ।