१५ चैत्र २०८०, बिहीबार ९:०६ | 03/28/2024 11:21 AM



आसन्न अमेरिकी राष्ट्रपतिय निर्वाचन: “लोकतन्त्र” कि “सर्वसत्ताबाद”? – शैलेश श्रेष्ठ

२८ भाद्र २०७७, आईतवार १७:५२ मा प्रकाशित

लोकतान्त्रिक आभ्यासको चार सय बर्ष लामो अमेरिकी ईतिहासमा यसपालीको आसन्न राष्ट्रपतिय निर्वाचन बैचारिक नीतिका आधारमा भन्दा पनि व्यक्तित्वको आधारमा प्रतिस्पर्धा हुँदैछ। को रिपब्लिकन, को डेमोक्रेट्स अनि को ईन्डीपेन्ड़ेन्ट अझ को कन्जरभेटिभ अनि को लिबरल नागरिकका त्यस्ता बैचारिक आस्था र बिश्वासले यसपालीको अमेरिकी राष्ट्रपति निर्वाचनमा केही फरक पर्ने स्थिति छैन अहिले सबैको एकठ्ठा उदेश्य भनेको अमेरिकी लोकतन्त्रको रक्षा गर्दै सर्वसत्ताबादी डोनाल्ड जे. ट्रम्पलाई मिलेर पराजित गर्नु नै हुने गरेको छ । त्यसो गर्न यसपाली सबै क्षेत्र, वर्ग, तह, तप्का र पेशाका मानिसहरु कस्सिएर एकीकृत भएर लागेका छन।

अमेरिकाका ४३ औं राष्ट्रपति जर्ज डब्ल्यु बुशद्वारा नियुक्त भएका रिपब्लिकन पार्टी समर्थित पुर्व कर्मचारीहरुले “फोर्टीथ्री आलुम्नी फर बाईडेन” नामक पिपुल एक्सन कमिटि गठन गरेर जो बाईडेनलाई जिताउने अभियान अघिल्लो महिनाबाट सुरु गरेका छन भने वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई परास्त गर्न रणनैतिक कार्ययोजना सहित “लिंकन प्रोजेक्ट” नामक रिपब्लिकनहरुको समुह अहिले अत्यन्त क्रियाशील छ्न।

लिंकन प्रोजेक्टले सेप्टेम्बर ११ का दिन सार्वजनिक गरेको श्रब्यदृश्य

यस प्रोजेक्टको को-फाउण्डरका रुपमा राष्ट्रपति डोनाल्ड जे. ट्रम्पका प्रमुख सल्लाहकार केलीअन कनवेका श्रीमान जर्ज कनवे कृयाशील छन। यो प्रोजेक्टले ट्रम्पको असफलता र राजनैतिक अतिबादहरुको चित्रण गरेर श्रब्यदृश्य सामग्रीहरु सम्प्रेषण गर्ने गरेका छन। त्यसै गरि सानै घेरा र परिधिमा सिमित भएपनि रिपब्लिकन पार्टी समर्थितहरुको “नेभर ट्रम्पर मुभमेन्ट” पनि क्रियाशील छ।

निर्वाचन हुन ५१ दिन मात्र बाँकी रहँदा ल्याटिनोहरुको बाक्लो आवादी र बस्ति भएको फ्लोरिडा राज्यमा गरिएका पछिल्लो सर्वेक्षणहरुका अनुसार अहिले वर्तमान राष्ट्रपति ट्रम्प र पुर्व उप-राष्ट्रपति बाईडेन नेक एण्ड नेकको स्थितिमा रहेका छन। सन् २०१६ मा हिलारी क्लिन्टनले डबल डिजिटले अग्रता हाँसिल गरेको यो क्षेत्रमा डेमोक्रेट्सहरुले अपेक्षा गरे अनुसार बाईडेनको स्थिति राम्रो हुन सकेको छैन त्यसो हुन नसक्नुमा ट्रम्पले क्युबन अमेरिकनहरुबाट पाएको उपल्लो समर्थन नै हो।

त्यसको यथोचित प्रतिकार गर्दै ट्रम्पको असली चरित्रलाई त्यो समुह र वर्गसम्म पुर्याउनका लागि ल्याटिनो एड्भोकेसी समुहहरु अहिले रणनैतिक योजनाहरु सहित त्यस क्षेत्रमा काम गरिरहेका छन भने आजै मात्र न्युयोर्क सहरका पुर्व मेयर धनाढ्य माईकल ब्लुमबर्गले बाईडेनको समर्थनमा मिडिया एड खरिद गर्नको लागि एक सय मिलियन डलर खर्च गर्ने घोषण गरेका छन।

न्युयोर्क सहरका पुर्व मेयर माईकल ब्लुमबर्ग

तीन हप्ता अगाडी आरिजोना राज्यका रिपब्लिकन सिनेटर जेफ फ्लेक्स सहित दुई दर्जन वर्तमान र पुर्व सिनेटर र कांग्रेसम्यानहरुले बिज्ञप्ति नै जारी गरेर जो बाईडेनको पक्षमा मतदान गर्ने बताएका छन।
पछिल्लो समयमा त्यसरी खुलेरै आउनेहरुमा सिनेटर मिट रमनी, पुर्व सेक्रेटरी अफ स्टेट कोलिन पावल, ट्रम्प कार्यकालकै पुर्व सेक्रेटरी अफ स्टेट जेम्स म्याटिस, पुर्व सुरक्षा सल्लाहकार जन बल्टन, पुर्व न्याभी सेक्रेटरी रिचार्ड स्पेन्सर, पुर्व कम्युनिकेसन डाईरेक्टर आन्थोनी स्कारामुच्ची, रिपब्लिकन गभर्नर जन केशिक, एचपीका पुर्व सीईओ कार्ला फिओरिना आदि रहेका छन।

यसपालीको निर्वाचनमासबैको घोषित अघोषित मिसन एउटै छ सर्वसत्ताबाद को विपक्षमा मतदान गरौँ अनि अमेरिकी लोकतन्त्रको सम्बर्धन अनि रक्षा गरौँ!