१६ चैत्र २०८०, शुक्रबार ३:५४ | 03/29/2024 6:09 AM



ईलेक्टरहरु छान्दैछन आज अमेरिकी राष्ट्रपती – शैलेश श्रेष्ठ

२९ मंसिर २०७७, सोमबार १७:०२ मा प्रकाशित

पुर्व सेक्रेटरी अफ स्टेट हिलारी क्लिन्टन ईलेक्टरका रुपमा न्युयोर्क राज्यमा मतदान गर्दै

अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तरगतको ईलेक्टोरल कलेज मतदान पध्दतीलाई अमेरिकामै पनि निक्कै कठिन र जटिल पध्दती मान्ने गरिएको छ। यो पध्दतीको समयानुकुल परिमार्जनका लागि अमेरिकामा बेला बखत आवाजहरु उठ्ने गरेका छन तर त्यसको सापेक्ष सम्बोधन भने हुन सकेको छैन।

प्रत्यक्ष निर्वाचन प्रणाली भनिएपनि नोभेम्बर महिनाको पहिलो मंगलबार सम्पन्न हुने अमेरिकी निर्वाचनले जम्मा ५३८ जना ईलेक्टरहरुलाई चुन्दछन र तिनै चुनिएका ईलेक्टरहरुले राष्ट्रपति र उप-राष्ट्रपतिलाई डिसेम्बर महिनाको १४ तारिखका दिन औपचारिक मतदान गर्दछन जुन अहिले प्रक्रियागतरुपमा अमेरिकाको सबै राज्यमा भईरहेको छ।

सामन्यतया: ईलेक्टरहरुलाई अनप्लेज्ड (निर्वाचन पछि पार्टी या उम्मेदवार परिवर्तन गर्न नपाईने) मानिन्छन तथापी बिगतका कैयन मतदानहरुमा ईलेक्टरहरुले पार्टी या उम्मेदवार परिवर्तन गरेको बिगत अनि ईतिहास भने छ। अमेरिकाको ५० राज्यहरु मध्य ३२ राज्य र डिस्ट्रिक अफ कोलम्बिया (डीसी) त्यो बाध्यकारी प्राबधानमा बाँधिएका छन।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको बिरुध्दमा डोनाल्ड जे ट्रम्पले ३०६ ईलेक्टोरल मतले बिजयी भएको भनिए पनि ईलेक्टरहरुको मतदानको समयमा उनले ३०४ मत मात्र पाउन सफल भएका थिए भने २३२ ईलेक्टोरल मन पाएका भनिएकी हिलारी क्लिन्टनलाई त झन २२७ मत मात्र प्राप्त भएको थियो।

आज प्रमाणित भएका ईलेक्टरहरुको संख्या एकमुष्टरुपमा जनवरी तीन तारिखमा बस्ने अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभको पहिलो बैठकमा पेश गरिन्छ। त्यसपछि जनवरी छ तारिखका दिनमा सम्पन्न हुने दुवै सदनको संयुक्त बैठकमा प्रमाणित ईलेक्टरहरुको प्रमाणित नामावली पेश गरिन्छ। उक्त बैठकको सभापतित्व गरिरहेका सिनेटका सभापतिले मत गन्ति पछिको ईलेक्टोरल कलेज मत परिणामको घोषणा गर्दै निर्वाचित राष्ट्रपति र उप-राष्ट्रपतिको नाम घोषणा गर्ने गर्दछन।

ईलेक्टरहरुले आजको मतदानमा यता उता गरेनन भने जो बाईडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ ईलेक्टोरल मत पाउनेछन। गत नोभेम्बर महिनाको तीन तारिखका दिन सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेनले आवश्यक पर्ने २७० मत भन्दा पनि बढी अर्थात् ३०६ ईलेक्टोरल कलेज मत प्राप्त गरेको कुरा स्टेट अटर्नी जेनेरलहरुले प्रमाणित गरिनै सकेका छन।

त्यसको ठिक दुई हप्ता पछि अर्थात् सन २०२१ को जनवरी २० तारिखको मध्यान्न एक सार्वजनिक समारोहमा सपथ लिएपछि पुर्व उप-राष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ र त्यसै दिन त्यही समारोहमा अमेरिकी ईतिहासमै पहिलो पटक एसियन मुलकी अस्वेत महिला कमला ह्यारिसले पहिलो महिला उप-राष्ट्रपतिका रुपमा सपथ लिनेछन । त्यही दिनको मध्यान्नबाट वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको राष्ट्रपति निवास ह्वाईट हाउस र उनले उपभोग गर्दै आएका सम्पूर्ण विशेषाधिकारहरुबाट संबिधानत: वहिर्गमन हुनेछ।