१६ चैत्र २०८०, शुक्रबार ७:४२ | 03/28/2024 9:57 PM



एउटा अनौठो संयोग: सम्प्रेषण डटकमको शुभारम्भ र बीपी स्‍मृति दिवस – शैलेश श्रेष्ठ

५ श्रावण २०७७, सोमबार २३:२४ मा प्रकाशित

आज एउटा सुयोग अनि संयोग परेछ समाजवादी नेता तथा साहित्यकार बीपी कोइरालाको स्मृति दिवस! हुन त नेपाली कांग्रेस र उनका अनुयायीहरुले अरु थुप्रै उपमा र विशेषण जोडेर उनको स्तुति गर्छन त्यो राजनीति गर्नेहरुका लागि नितान्त जायज पनि हुन सक्लान तर उनि प्रति मेरो मनमा नितान्त फरक खाले सम्मान छ त्यो हो उनको समसामयिक मौलिक समाजवादी बैचारिक चिन्तन!

भोजपुरबाट काठमाडौँ आएको सायद दोश्रो बर्ष तिर होला उनै बीपी कोइरालाको असामयिक निधन भयो | त्यसताका बिचारले म नितान्त अर्को ध्रुबमा क्रियाशील थिए | मेरो स्कुलिङ्गले बीपी र उनको पार्टीलाई गाली गर्न सिकाउथ्यो | उनी त “भारतीय दलाल” हुन भन्दै उनको पुस्तकसम्म नपढ्ने उर्दी जारी गर्दथ्यो तर नजानिँदो गरि उनि र उनका मौलिक समाजवादी चिन्तन प्रति मेरो मनमा अषिम आशक्ति थियो |

कुन नेताले अहिलेसम्म भनेका छन कि प्रत्येक किसानको घरमा एउटा दुध दिने गाई हुनुपर्छ भनेर अनि सिंहदरबारमा टाँसिएको राजाको फोटोको ठाँउमा एउटा हलो जोतिरहेको किसानको फोटो टाँस्नु पर्छ भनेर? खास अर्थमा बीपी पो महान क्रान्तिकारी अनि समाजवादी हुन, होइन र?

उ बेलै मेरो तन्नेरी मन र विचारमा भंगालो फाट्थ्यो तर हाम्रो राजनैतिक पाठशाला बीपीको पुस्तक र विचार पढेर होईन जबरजस्त ल्यु शून, म्याक्सिम गोर्की र खलिल जिब्रानहरु पढेर मात्र क्रान्तिकारी भईन्छ भनेर हामी माथि विचार थोपर्थ्यो | त्यस्तो स्कुलिङ्ग पढेर पनि ममा बीपी र उनको अर्ग्यानिक समाजबादी चिन्तन र विचार प्रति आशक्ति निरन्तर बढ्दो थियो सायद त्यसैले होला जिउँदो बीपीलाई भेट्न नपाएपनि मैले त्यो सिफलको जनलहर र महासागरलाई छिचोलेर उनि प्रति अन्तिम श्रद्धा र सम्मानको एक थुंगा फूल चढाउने अहोभाग्य पाएको थिएँ |

अहिले नेपाली कांग्रेस पार्टी र तिनका भुरेटाकुरे नेता र कार्यकर्ताहरु “बीपीको सपना साकार पर्छौं” भन्दै स्मृति दिवसका दिन बर्षमा एक दिन कर्मकाण्ड पुरा गरिरहेका छन | उनीहरुलाई एउटा सत्यको चाँही पटक्कै जानकारी छैन नेपाली कांग्रेस पार्टीमा बीपीको समाजबादी धारको अबशान भईसक्यो | कस्तो संयोग अनि सुयोग यहि बीपी कोइराला स्मृति दिवसको बिशेष दिन आज म अहिले केहि सहयोगी संचारकर्मी मित्रहरुको पूर्ण सहयोगमा सम्प्रेषण डटकमको सार्वजनिकीकरण गरिरहेको छु |

नोट: बीपी स्मृति दिवस जुलाई २२ तारिख २०१४ का दिन प्रकाशित आलेखलाई पुन: प्रकाशित गरिएको।