१३ बैशाख २०८१, बिहीबार ४:१७ | 04/25/2024 6:32 PM



एओसीद्वारा सिनेटरहरुको अबिलम्ब राजिनामाको माग – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

२५ पुष २०७७, शनिबार २०:५४ मा प्रकाशित

अमेरिकी डेमोक्रेटिक पार्टी अन्तरगतको प्रोग्रेसिभ ब्लक स्क्वाडका शक्तिशाली सदस्य न्युयोर्क राज्यकी कांग्रेस उमेन आलेकसान्द्रिया ओकासियो कोर्टेजले गत बुधबार अमेरिकाको राजधानी वासिंगटन डीसी स्थित क्यापिटल हिलमा स्वेत सर्बोच्चताबादीहरुद्वारा भएको आततायी घटनाको कडा शब्दमा भर्त्सना गर्दै उक्त घटनालाई प्रोत्साहित गर्ने सिनेटरहरु टेक्सासका टेड क्रुज र मिसौरीका जस होलीको अबिलम्ब राजिनामाको माग गरेकी छिन।

आफ्नो गल्ति स्वीकार नगरेर अटेर गरेमा सिनेटको मर्यादा, विनियम र आचारसंहिताको ठाडो उल्लङ्घन गरेको अभियोगमा अमेरिकी सिनेटले उनीहरुलाई पदच्युत गर्नु पर्ने अवधारणा समेत उनले सार्वजनिक गरेकी छन। उनीहरुकै उक्साहट र प्रोत्साहनका कारण यस्तो जघन्य घटना भएको र चार जनाको ज्यान समेत गएकोले उनीहरुले जिम्मेवारी लिनु पर्ने कुराको उनले जिकिर गरेकी छन।

गत बुधबारको घटना सुनियोजित भएको र त्यसमा राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको प्रत्यक्ष संलग्नता भएको ठहर सहित अमेरिकी तल्लो सदन हाउसले दोश्रो पटक उनलाई ईम्पिच गर्ने प्रस्ताब आउँदो सोमबार ल्याउने तयारी गरिरहेका छन भने माईनोरिटी लिडर चक शुमर र सभामुख न्यान्सी पलोसीले तत्काल राजिनामा गर्न जोडदार माग गरेका छन।

ट्रम्प समर्थकहरुको निशानामा क्यापिटल हिल

अघिल्लो पटकको ईम्पिचमेन्ट प्रस्ताबको विपक्षमा मतदान गरेका माथिल्लो सदन सिनेटका कैयन सदस्यहरुले राष्ट्रपतिको पक्षपोषण गरेर आफुहरुले गल्ति गरेको भन्दै सार्वजनिकरुपमै पश्चाताप गरिरहेका छन। राष्ट्रपति ट्रम्पका बिश्वासपात्र सिनेटर लिन्जी ग्राहमले राष्ट्रपति ट्रम्पको पछिल्लो रवैयालाई “ईनफ ईज ईनफ” भन्दै कडा शब्दमा निन्दा अनि भर्त्सना गरेका छन।

ब्याटलफिल्ड राज्यहरुको निर्वाचन परिणाम र ईलेक्टोरल मत गन्तिको परिणामलाई अस्वीकार गर्ने तयारीमा लागेका कैयन रिपब्लिकन सिनेटर र तल्लो सदन हाउसका रिपब्लिकन सदस्यहरुले अन्तिम समयमा आएर राष्ट्रपति ट्रम्पको साथ छाडेका छन। ट्रम्प कार्यकालको अन्तिम दिनहरुसम्म आईपुग्दा मेजोरिटी लिडर मिच म्याकनेलले समेत ट्रम्पको पछिल्लो हर्कतहरुको निन्दा गरेका छन।

आफ्नै क्याबिनेटका सदस्यहरुले राजिनामा दिन थालेपछि र आफ्नै ईनर सर्कलका रिपब्लिकनहरुले साथ छाडेपछि राष्ट्रपति ट्रम्प अन्तत: बाईडेन-ह्यारिसको जीतलाई स्वीकार गर्दै सहजरुपमा नयाँ राष्ट्रपति जो बाईडेनलाई सत्ता हस्तान्तरण गर्न राजी भएका छन।

यदि उनले बाटो सहज गर्न आनाकानी गरेको अवस्थामा उनलाई दुवै सदनबाट ईम्पिच गर्नेदेखि लिएर अमेरिकी संबिधानले प्रत्याभूति गरेको २५ औं अमेन्डमेन्टको क्षेत्राधिकार भित्र रहेर निस्काशित गर्नेसम्मको तयारीमा डेमोक्रेटिक पार्टी र त्यसका शिर्ष नेताहरु जुटेका छन।