७ बैशाख २०८१, शुक्रबार ८:२२ | 04/18/2024 10:37 PM



क्यानडामा ‘भ्याक्सिन पोलिटिक्स’? – शैलेश श्रेष्ठ

१४ माघ २०७८, शुक्रबार २३:१६ मा प्रकाशित

ट्रुडो प्रशासनले ट्रक चालकहरुले पनि अनिवार्यरुपमा कोभिड महामारी बिरुध्दको पूर्ण खोप लगाउनु पर्ने नियम जारी गरेपछि अहिले त्यही नियमलाई निहु बनाएर ‘भ्याक्सिन पोलिटिक्स’ गर्न क्यानेडाली अनुदारवादी दक्षिणपन्थीहरु, कट्टरपन्थी धार्मिक समुह र स्वेत सर्बोच्चताबादीहरु कस्सिएर लागेका छन। अहिले मोहराका रुपमा तथाकथित ट्रकरहरुलाई अघि सारिएको छ।

अमेरिकी फक्स न्युजका होस्ट ‘टकर’ कार्लसनले ट्रुडो सरकारले लगाएको भ्याक्सिन म्यान्डेटका बिरुद्ध ‘ट्रकर’ हरुलाई दृश्यमा राखेर फ्रिडम कन्भ्वाईले भोली राजधानी ओटावामा गर्न लागेको बिरोध प्रदर्शनलाई अमेरिकाबाटै आगो झोस्न भ्याएका छन। केही ट्रक ब्यबसायी र ड्राईभरहरुलाई दृश्यमा राखेर गर्न लागिएको यो र्यालीको पछाडी क्यानेडाली अनुदारवादी दक्षिणपन्थी पार्टीहरु, कट्टरपन्थी धार्मिक समुह र स्वेत सर्बोच्चताबादीहरुको मोरल र पोलिटिकल ‘ब्याकअप’ रहेको कुरो बुझ्न कत्ति पनि कठिन छैन।

ट्रक ब्यबसायीहरुको युनियनले यो बिरोध प्रदर्शनमा आफ्नो संगठनको संलग्नता नभएको स्पष्ट पारिसकेको छ । दि क्यानेडियन ट्रकिङ्ग एलाएन्सले करिब १५ प्रतिशत ट्रक ड्राईभरहरुले अझै पूर्ण खोप नलगाएको बताएका छन। बाईडेन प्रशासनले पनि अनिवार्य खोपको नियमन सार्वजनिक गरिसकेको छ। र्यालीका आयोजक संस्थाले गोफण्डबाट तीन मिलियन डलर उठाई सकेका छन।

ओन्टारियोको एउटा लोकप्रिय एफएम स्टेशनले र्यालीमा अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको तस्विर भएको ब्यानर देखिएको समेत बताएका छन। ट्रम्प जुनियरले मंगलबार नै ट्वीटर मार्फत समर्थन गर्दै अमेरिकी जनतालाई पनि साथ दिन आह्वान गरेका छन। ओटावा तिर लाग्दै गरेका आजको स्वेत र्यालीमा ‘मेक क्यानडा ग्रेट अगेन’ को ब्यानर र प्लेकार्ड प्रसस्तै देखिएको थियो।

कन्जरभेटिभ पार्टीका नेता एरिन ओटुलले भोली पार्लियामेन्ट हिलमा र्यालीमा सहभागी हुन आएका ट्रकरहरुसंग भेट्ने तर आयोजकसंग चाँही औपचारिक हैसियतमा भेटघाट नगर्ने बताएका छन भने न्यु डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंहले आयोजकहरुले गर्ने गरेका सामाजिक बिभाजन र द्वेष बढाउने अभिष्ट भएका अराजक स्टेटमेन्ट र कमेन्टहरुको घोर निन्दा गरेका छन। आईसोलेसन बसिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोले तथाकथित ट्रकरहरुको यो र्यालीका आयोजक र सहभागीहरुलाई अतिबादी अल्पमत भनेर आक्षप लगाएका छन।

हाउस अफ कमन्सका सुरक्षा अधिकारी प्याट्रिक म्याक डोनेलले मेम्बर अफ पार्लियामेन्टहरुलाई सम्भावित मुठभेडको संकेत गर्दै सचेत र सतर्क रहन ब्रिफिंग गरेको कुरा केही पत्रपत्रिकाहरुले उल्लेख गरेका छन भने आम मानिसको मनमा सन २०२० को जनवरी ६ तारिख वासिंगटन डीसीको क्यापिटल हिलमा भएको घटनाले त्रास उब्जाएको अवस्था छ। रेडियो र टेलिभिजनका स्वतन्त्र विश्लेषक र राजनैतिक पण्डितहरुले यो र्यालीलाई बिज्ञान बिरोधि अनुदार दक्षिणपन्थीहरु र कट्टरपन्थी धार्मिक समुहहरुको ‘भ्याक्सिन पोलिटिक्स’ भएको बताएका छन।