१६ चैत्र २०८०, शुक्रबार ८:११ | 03/28/2024 10:26 PM



क्रमश अस्तित्व संकटको चक्रब्यूहमा फस्दैछ एनआरएनए अमेरिका – शैलेश श्रेष्ठ

१४ असार २०७७, आईतवार ००:१० मा प्रकाशित

कही नभएको जात्रा हाँडीगाउँमा भन्ने पुरानो नेपाली आहानलाई ओझेलमा पार्दै हाम्रो भनिएको तर भात्री संगठनका कार्जेकर्ताहरुको परिचालन गरेर नक्कली मतद्वारा संस्था कब्जा गर्ने एनआरएनए अमेरिकाका अप्रजातान्त्रिक चरित्र र नियत भएका कार्यकारीहरुले “काँही नभएको जात्रा एनआरएनए अमेरिकामा” भन्ने नयाँ आहानलाई बिगतदेखि वर्तमानसम्मै चरितार्थ गर्ने गरेका छन | 

डा. केशब पौडेलको दुई कार्यकाल र सुनील साहको वर्तमान कार्यकाल अकर्मण्यता, अनियमितता र चुनावमा भएका धाँधलीका कारण मुद्दामामलाको चपेटामा गुज्रिएको बारे अमेरिकाका प्रवासी नेपालीहरु जानकार नै छन तर हामी अरुलाई भनि नबिझाउने र सबैको राम्रो बन्ने पुरातनिक बानी र अभिलाषामा चुपचाप रमिता हेरेर बसेका छौं | उनीहरुका हरेक बदमासीहरुलाई यहाँका बौद्धिकहरुको मौन अनुमोदन छ |

मातृभूमि नेपाल र यहाँकै अमेरिकी सन्दर्भहरुमा न्यायिक निरुपण र दण्डहिनताका बिरुध्द कुर्लने त्यो जमात सम्मतिको टाउको हल्लाएर टास्कफोर्सको संयोजक, सल्लाहकार, संरक्षक र बिज्ञको बिल्ला भिरेर रमाई रहेका छन | तिनीहरुको बनिबनाउ बचाऊ तर्क हुने गर्दछ “एनआरएनए जस्तो सामाजिक संस्थालाई मुद्दा मामला र कानुनी झेमेलामा फसाउनु हुन्न है |” न्यायिक निरुपणका लागि न्यायालयको ढोकासम्म पुग्नेलाई त्यो बिलाषी तथाकथित बौद्धिकवर्ग “अपराधी” नै घोषणा गर्न संस्थापनको भिजिलान्ते बनेर प्रतिकारमा उत्रन्छन |

अध्यक्ष पदका प्रत्यासी सुर्य लम्सालले महासचिब डा. हेम राज शर्माको नाममा दर्जा गराएको जाहेरी

डा. पौडेल कार्यसमितिका बिरुद्धमा अमेरिकाको टेनेसीमा प्रत्यासीहरुले मुद्दा दायर गरेका थिए भने २०१९-२१ सत्रमा पनि अबैध अनाधिकृत “जगेडा-२०९३” मतदाताका कारण सुनील साहलाई योजनाबद्ध किसिमले जिताईएको भन्दै त्यसको न्यायिक किनाराका लागि अध्यक्ष पदका प्रत्यासी सुर्य (साल) लम्सालले सोही कोर्टमा मुद्दा दायर गरेका थिए तर कोरोना भाईरसका कारण उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राखेर लम्सालले मुद्दा अहिलेलाई स्थगित गरेको कुरा सार्वजनिकरुपमा बताई सकेका छन | 

अनाधिकृत नक्कली मतदाताको ईस्यु चर्को रुपमा उठेपछि चुनाब हुने नहुने द्विविधा रहेको अवस्था थियो तर तत्कालिन आईसीसी अध्यक्ष भवन भट्टको आश्वासनपछि निर्वाचन हुने दिनको केही घण्टा अघि मात्र निर्वाचनमा सबै प्रत्यासीहरुले भाग लिने स-शर्त सहमति भएको थियो |

निवर्तमान अध्यक्ष डा. पौडेल तथा अध्यक्ष पदका उम्मेदवारहरु सुर्य (साल) लम्साल र संजय थापा र अन्य केही क उपस्थितिमा भएको सहमतिमा बिबादित भनिएको “जगेडा-२०९३” मतदाताको आधिकारिकता निर्वाचनपछि पनि पुष्टी भएन भने निर्वाचन परिणामलाई नै अबैध घोषित गरिने सहमति भएको कुराको लिखत र रेकर्डहरु सुरक्षित रहेको र सो प्रमाणहरु आईसीसीलाई बुझाईसकेको कुरा अध्यक्ष पदका प्रत्यासी सूर्य लम्सालले बिभिन्न संचार माध्यमहरुलाई दिएको अन्तरवार्ता र मसंग भएको निजी वार्ताहरुमा पनि बताएका छन |

त्यस्तो सहमति भएको कुरा अर्का प्रत्यासी संजय थापाले पनि स्वीकार गरिसकेका छन तथापी तात्कालिक अध्यक्ष भवन भट्टले दिएको आधिकारिक शर्त र बचनको आजका दिनसम्म कार्यन्वयन नभएको अवस्था छ | बारम्बार ताकेता गर्दा पनि आईसीसीले कुनै न्यायिक सुनुवाई नगरेकोले आफुले काठमाडौँको एनआरएनए सेक्रेटारियट अफिसमा अर्को जाहेरी दर्ता गरेको जानकारी दिंदै सुर्य लम्सालले सम्प्रेषणलाई उक्त प्रतिलिपी उपलब्ध गराएका छन |

उक्त प्रमाणको आधारमा मैले एक महिना अघि सम्पन्न भएको फेसबुक प्रत्यक्ष सम्बाद कार्यक्रममा आईसीसीका महासचिव डा. हेम राज शर्मासंग यसै बिषयमा जिज्ञाशा राख्दा वर्तमान विषम परिस्थितिका कारण छलफलमा ल्याउन र निर्णय गर्न ढिला भएको तर अब चाँडै आईसीसी कार्यसमितिको बैठक बसेर संस्थागत निरुपण गरिने कुरा बताएका थिए | 

एनआरएनए अमेरिकाको अनियमितता र अकर्मण्यताको पछिल्लो घृणित शृंखलाकारुपमा “फेकआईडी” काण्ड चर्चाको शिखरमा रह्यो | अमेरिकी प्रवासी समाज नक्कली फेसबुक आईडी बनाएर अरुहरुलाई प्रताडित गर्ने छद्मभेषी मनोरोगीहरुबाट बर्षौंदेखि नराम्ररी आक्रान्त भएका छन | “सिधाकुरा”, “रातो भाले”, “बादल थापा” जस्ता छद्मभेषी नामबाट समुदायका मानिसहरुको मानमर्दन गर्ने गरिएको दुरुह बिगत यो समाजले सामना गरिरहेका छन |

       एनआरएनए अमेरिकाका बहुमत सदस्यहरुले आईसीसी र क्षेत्रिय संयोजकलाई लेखेको पत्र

त्यही मेसोमा आफुले उनीहरुको त्यो एकाउन्ट ह्याक गरेर छद्मभेषीहरुलाई सार्वजनिक गरेको भन्दै प्रशन्न संग्रौलाले एउटा सनसनीपूर्ण भिडियो सार्वजनिक गरिदिए | त्यसको लगतै यही बर्षको जनवरी २३ तारिखका दिन उनै संग्रौलाले त्यो भिडियोका आधारमा अभियुक्त ठानिएका एनआरएनए अमेरिकाका मिडिया कोअर्डीनेटर ओम भट्टराई र सल्लाहकार शिब मल्ललाई कारवाही गरि पाउँ भन्दै एउटा उजुरी दर्ता गराए |

त्यही उजुरीको आधारमा कार्यसमितिले उनीहरु दुबैजनालाई ४५ दिनको लागि निलम्बन गर्यो र बरिष्ट उपाध्यक्ष डा. अर्जुन बन्जाडेको संयोजकत्वमा एउटा छानविन समिति गठन गर्यो | लामो कालखण्ड यो काण्डको चर्चा परिचर्चा भएन कोरोना भाईरसको महामारी उनीहरुको लागि फलदायी बहाना मिल्यो | 

आरोपीहरु माथिको कारवाही अन्त्य गर्ने गरिएको व्यहोराको एनआरएनए अमेरिकाको बिज्ञप्ति

लामो समयको मौनता पश्चात गत सोमबार, जुन २२ तारिख यही बिषयमा छलफल र निर्णय गर्न कार्यसमितिको बैठक सम्पन्न भएको जानकारी प्राप्त भयो | बिश्वस्त सुत्रहरुका अनुसार बहुमत सदस्यहरुले सस्थाको गरिमा निमिट्यान्न पार्ने यस्ता क्रियाकलापहरुलाई दुरुत्साही गरिनु पर्ने राय राख्दै जाहेरीकर्ता संग्रौलाको माग बमोजिम दुबै आरोपीलाई स्वेच्छिक राजिनामा गर्ने अवसर दिने र त्यसो नगरेका वर्खास्त गर्ने निर्णय दर्ज गराएका थिए |

तर दुर्भाग्य अध्यक्ष सुनील साहको एकल हठ र जिध्दीका कारण बहुमत सदस्यहरुको अभिमतको पूर्ण उपेक्षा गर्दै अभियुक्तहरुलाई सफाई दिने निर्णय गरिएको व्यहोराको पत्र जुन २४ तारिख सम्पूर्ण साधारण सदस्यहरुलाई सम्प्रेषित गरिएको छ | समाचार सुत्रहरुका अनुसार बहुमत ११ जनाले कारवाहीको पक्षमा आ-आफ्ना अभिमत जाहेर गरका थिए | आफुहरु अल्पमतमा परेपछि महासचिब पशुपति पाण्डे जूम कन्फरेन्स कलनै अबरुद्ध गरेर बैठकबाट बाहिरिएका थिए | बैठकको अड्चालिस घण्टापछि बेनामे पत्रचार मार्फत अध्यक्ष सुनील साहले आफ्नो बनिबनाउ कुनियत सार्वजनिक गरेका हुन |

          क्षेत्रिय संयोजक राजन त्रिपाठीले अध्यक्ष सुनील साहको नाममा जारी गरेको निर्देशन

संस्थापनको बदनियतपूर्ण अबैधानिक निर्णय बाहिर आउना साथ कारवाहीको पक्षमा अभिमत दिएका उपाध्यक्ष कृष्णजीवी पन्त लगायतका  ११ जना कार्यकारी सदस्यहरुले आईसीसीका अध्यक्ष कुमार पन्त, महासचिब डा. हेम राज शर्मा र क्षेत्रिय संयोजक राजन त्रिपाठीलाई सम्बोधन गर्दै निर्णयलाई सच्याउन माग गरेका छन |

पछिल्लो घटनाक्रमका अनुसार उपाध्यक्ष कृष्णजीवी पन्त सहितका ११ जना बहुमत सदस्यहरुको मागलाई सम्बोधन गर्दै अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीले एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहलाई सम्बोधन गर्दै जुन २४ तारिखको निर्णय सच्याउन निर्देशन जारी गरेका छन | 

सँधै अस्तव्यस्त, अकर्मण्यता, अनियमितता र नक्कली मतको आडमा भात्री संगठनका कार्यकर्ताहरुलाई परिचालन गरेर संस्था कब्जा गर्ने गरेको एनआरएनए अमेरिका अहिले डा. पौडेलकै पालामा जस्तै नियमित आकस्मिकताको डरलाग्दो भुमरीमा फसेको छ | अब यो प्रकरण थप संगीन हुँदै एनआरएनए आईसीसीमा पुग्ने निश्चित छ |