१२ बैशाख २०८१, बुधबार ९:०१ | 04/23/2024 11:16 PM



घुम्दै जाँदा न्युयोर्क सहर – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

२७ असार २०७५, बुधबार २२:२८ मा प्रकाशित

न्युयोर्क सहरलाई “कहिल्यै ननिदाउने” सहर भनेर परिभाषित गर्ने गरिन्छ तर मेरो निजि अनुभबमा न्युयोर्क घुमेर, हेरेर अनि हराएर कहिल्यै नथाकिने रोमान्चित सहर पनि हो । यो सहर माथि म हरहमेसा मेरो हक दावी समेत गर्दछु । प्राबिधिक र कानुनीरुपमा म आफु छिमेकी राज्य न्युजर्सी बसेपनि “आई यम अल्वेज न्युयोर्कर” भनेर लेख्न मात्रै होइन हक दावी गर्न समेत छाड्दिन ।

shailesh

उमेरले हो की अनुभबले हो कुन्नी हिजोआज म हरेक बस्तुमा त्यसको जीवन, आयतन र परिधि भन्दा निक्कै ठुलो अनि फराकिलो (लार्जर दयान लाईफ) कथानक देख्ने गर्दछु । हरेक निर्जीव बस्तुहरुले मसंग सजिब र जीवन्त सम्बाद गरेको गहिरो अनुभूति गर्ने गर्दछु । आफु बसाई सरेको न्युजर्सीको गाउँ आफु निस्पट हराउनको लागि त राम्रै छ तर कथा, जीवन र पात्रहरु म न्युयोर्क सहरमै बढी देख्छु अनि भेट्छु । हुन पनि न्युयोर्क सहरको हरेक चार ब्लकको आफ्नै कथानक र ईतिहास छ । आजको साँझ पनि मैले एकजना पाखे घुमन्ते बनेर न्युयोर्कको मज्जा लुटें । न्युयोर्कको गार्मेन्ट डिस्ट्रिक भनेर जानिने मीडटाउनमा रमाउनुको मज्जा अर्कै अनि आफ्नै छ । अमेरिकी आहार बिहारमा अहिले अनौठो कायापलट भएको छ । सहरका ल्याण्डमार्क परम्परागत डाईनरहरुलाई हल्का अनि स्वास्थ्य खाना पाईने क्याफेहरुले बिस्थापित गरिदिएको छ । म एकजना कफी पारखीका हैसियतले प्राय: हरेक दिन फरक भूगोलबाट आयातित फरक फरक कफीहरुमा रमाउने गर्छु । अगाडीको पसलबाट किनेको अरबिक कफीको हल्का चुस्कीहरुसंगै आज मैले लुगा सिलाउँदै गरेको एक उद्यमशिल श्रमिकको धलौटको मुर्तीको आसपास घन्टौं बिताएँ जहाँ सहरको आवरण मात्र होइन ब्यापारको प्रकृति अनि शैलीमा निरन्तर बहुराष्ट्रिय कम्पनीहरुको अतिक्रमण बढेको छ भने गार्मेन्ट ब्यबसायीहरु महँगो भाडा र जब आउट सोर्सिंगका कारण दिनानुदिन धरासायी बन्दैछन ।

IMG_20180711_173020

“मेक अमेरिका ग्रेट अगेन” र “अमेरिका फर्स्ट” को पोपुलिष्ट ट्रम्प नाराले त्यहाँका कपडा ब्यापारीहरुलाई फाईदा त के झिनो राहतसम्म दिन सकेको छैन बरु बहुराष्ट्रिय वित्तीय संस्थानहरुले “गार्मेन्ट डिस्ट्रिक” लाई अतिक्रमण गरिरहेका छन । ब्रोडवे र सेभेन्थ आभेन्यु भित्रको ३५ देखि चालिस स्ट्रिटसम्मलाई चियो गर्ने हो भने त्यस्ता उदाङ्ग सत्य दिनहु देखिन्छन, “एभ्रीथिङ्ग मस्ट गो” र “स्टोर क्लोजिंग” का बढेमाका सुचनाहरुले त्यस्ता सत्यको दिनहु सम्प्रेषण गर्ने गरेका छन । आज मैले न्युयोर्क घुम्दा बिस्थापित ब्यापारीहरुका नदेखिने पीडाहरुको गहिरो बोध गरें । राष्ट्रपति डोनाल्ड ट्रम्पको “ट्रेडवार” का कारणले थप ब्यापार बिचलन र विस्थापन आउने अत्याधिक सम्भावना छ ।

IMG_20180711_173800

त्यही सम्भावित सफेद सत्यलाई ध्यानमा राखेर आजै अमेरिकी माथिल्लो सदन सिनेटले ८८-११ को अत्याधिक बहुमतले बाई पार्टिसन रिजोलुसन पारित गरि ट्यारिफ र अन्य अन्तर्राष्ट्रिय ब्यापारिक सन्धीहरुका बिरुध्द एकल निर्णय नगर्न राष्ट्रपति र ह्वाईट हाउसलाई सचेत गराएको छ ।
फुटनोट: न्युयोर्कको गार्मेन्ट डिस्ट्रिक घुम्दा मेरो मन र नजरले खिचेका दुई तस्विरहरु ।