१३ बैशाख २०८१, बिहीबार ५:२४ | 04/25/2024 7:39 AM



जनगणना – २०२० को यथार्थ र गणित – शैलेश श्रेष्ठ

१४ जेष्ठ २०७७, बुधबार १३:२४ मा प्रकाशित

हामी आम नेपालीहरुको बानी “जब पर्यो राती तब … ताती” भनेजस्तै छ । हामी अक्सर कुनै पनि फारम भर्न, आवेदन दिन या सदस्यता लिन अन्तिम हप्तासम्म मात्र होइन अन्तिम दिनसम्मनै कुर्ने गर्दछौं । सेन्सस – २०१० मा हामी अलिकति जानेरै तर धेरै नबुझेर चुक्यौं त्यसको नतिजा भनेको हामीले दावी गर्ने गरेको जनसंख्या भन्दा दस प्रतिशत मात्र आधिकारिकरुपमा दर्ता गर्न सक्षम भयौं । त्यसले पैदा गरेका अप्ठेराहरु हामी हरेक दिन जसो भोगीरहेका छौँ ।

दस बर्ष अघिको तुलनामा यो सन २०२० को सेन्ससमा हामीले सतही प्रचार र हल्ला त खुबै गरेका छौं तर संख्या र गणितमा हामी परिणाममुखी बनाउन सक्छौं कि सक्दैनौं त्यो अहम प्रश्न मात्र होइन चुनौतीनै बनेर अगाडी आएको छ । हामी नेपाली भाषीहरु मात्र होइन अन्य अल्पमत आप्रवासी समुदायहरुको यथार्थ र पीडा पनि करिब उस्तै उस्तै हुन अनि छन । हामी न्युयोर्कमा मात्र साठी हजार नेपाली छौं भनेर प्वाक्क बोलिदिन्छौं नेपाली भाषी तिब्बतीयन, भुटानी र अझ भारतीयहरु जोड्ने हो भने त्यो प्वाक्क बोलिने संख्या अझ बिराट हुने गर्दछ तर पुष्टी गर्नु पर्दा त्यो फगत गफलाई पुष्टी गर्ने कुनै आधार नभएर हामी चुईक्क हुनेगरेका छौँ ।

न्युयोर्क राज्यमा अधिकार र शेर्पा क्यिदुगले सहरका नियोग र निकायहरुसंग समन्वय गरेर नेतृत्वदायी काम गरिरहेका छन भने अन्य कैयन ठुला-साना सामाजिक संघ-संगठनहरु पनि आ-आफ्नै औकातमा हातेमालो गरिरहेकै छन । अहिलेसम्म कति नेपाली भाषीहरुले सेन्ससमा आफ्नो नाम दर्ज गराए त्यसको मिहिन लेखा पक्कै अधिकार र शेर्पा क्यिदुगसंग हुनुपर्दछ ।

आज दिनभर म सेन्सस कार्यालयले सार्वजनिक गरेका सत्य-तथ्य बिबरणहरुको घनिभूत अध्ययन गरिरहेको थिएँ | आप्रवासीहरुको बहुमत रहेको ठुलो राज्य न्युयोर्क जनगणना-२०२० मा अन्य राज्यहरुको तुलनामा निकै पछाडी देखिएको छ | सेन्सस ब्युरोले यो हप्ता सार्वजनिक गरेको आंकडा अनुसार न्युयोर्क राज्यका ५५ प्रतिशत जनसंख्याले मात्र आफुहरुलाई दर्ता गराएका छन | एउटा सत्यले मलाई झस्कायो त्यो के हो भने हामी जस्ता अल्पमत समुदायको ठुलो र बाक्लो बस्ति भएको न्ययोर्क र अझ हाम्रो घना बस्ति भएको कुईन्स काउन्टीमा जम्मा ४९.८ प्रतिशतले मात्र आफु र आफ्ना परिवारलाई दर्ता गराएका रहेछन ।

मिनेस्वेटा, विस्कन्सन, मिचिगन, भर्जिनिया, युटाहा, नेब्रास्का आयोवा, ओहाईयो, वासिङ्गटन स्टेट, ईलिनोईस, केन्सस जस्ता स्वेत बहुमत र आवादी भएका साना राज्यहरु र्याङ्किङ्गको अग्र स्थानमा छन । सेन्सस ब्युरोले यो हप्ता सार्वजनिक गरेको आंकडा अनुसार अहिलेसम्ममा ६० प्रतिशतले आफुलाई जनगणना-२०२० मा सामेल गराई सकेका छन ।

मुखले जे भनेनी प्रचारबाजीमा जत्तिनै ठुलो कुरा गरेपनि संख्या र गणितमा हामी अझै निक्कै पछाडी नै छौँ । कोरोना कहरले थलिएर घर बसेको बेला तपाई हामी सबैले अतिरिक्त मेहेनत पो गर्नु पर्ने हो कि?