८ बैशाख २०८१, शनिबार १०:३८ | 04/20/2024 12:53 AM



जर्जिया राज्यको रनअफमा अड्किएको अमेरिकी राजनीति – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

२१ पुष २०७७, मंगलवार ००:१२ मा प्रकाशित

भोली अर्थात् जनवरी पाँच तारिख जर्जिया राज्यमा दुई सिनेट सदस्यहरुका लागि हुने रन अफ ईलेक्सनले उक्त राज्यको मात्र होइन सम्पूर्ण अमेरिकी राजनीतिको भविश्य निर्धारण गर्नेछ। गत नोभेम्बर महिनाको तीन तारिख सम्पन्न भएको निर्वाचनमा पचास प्रतिशत मत ल्याएर कुनै पनि उम्मेदवारले जीत हाँसिल गर्न नसकेकोले उक्त राज्यमा जनवरी पाँच तारिखमा दोश्रो चरणको रनअफ ईलेक्सन हुने लागेको हो।

परम्परागतरुपमा रेड स्टेट मानिने जर्जिया राज्यमा यस भन्दा पहिले दुवै सिटमा रिपब्लिकन पार्टीला डेभिड प्रेड्यु र केली लोफ्लरले विजय हाँसिल गरेका थिए तर अनपेक्षितरुपमा राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट्स जो बाईडेनले जितेपछि अहिले डेमोक्रेटिक पार्टीका जन ओसफ र राफायल वार्नाफ जीतको सम्भावना देखिएको छ । अहिलेसम्म रिपब्लिकनले ५० सिट र डेमोक्रेट्सले ४८ सिटमा विजय हाँसिल गरिसकेका छन।

भोली सम्पन्न हुने यो निर्वाचनमा दुवै सिटमा डेमोक्रेट्सले जितेको अवस्थामा मात्र डेमोक्रेटिक पार्टीले निर्वाचनको दौरानमा गरेका प्रतिज्ञा र आश्वासनहरुलाई सापेक्ष अनि सार्थकरुपमा सम्बोधन गर्न सक्नेछन। सिनेटमा ५०-५० भएको अवस्थामा टाईब्रेक गर्ने निर्णायक अधिकार अमेरिकी संबिधानले उप-राष्ट्रपतिलाई उपलब्ध गराएको छ। त्यस अर्थमा उप-राष्ट्रपति कमला ह्यारिसको मत निर्णायक हुनेछ।

यदि दुवै सिटमा डेमोक्रेट्सले जीत हाँसिल गर्न नसकेको अवस्थामा भने फेरी पनि माथिल्लो सदन सिनेटमा बिगतका आठ बर्षहरुमा जस्तै मेजोरिटी लिडर मिच म्याकनलको तगारो र अबरोध निरन्तर रहनेछ। तल्लो सदन हाउसबाट जस्तो सुकै प्रगतिशील बिधेयकहरु पास गरे पनि माथिल्लो सदनमा पुगेर अड्कने छ। त्यस्तो दुरुह दृश्यहरु अमेरिकी राजनीतिमा सन् २०१२ को आरम्भदेखि नै निरन्तर प्रदर्शन हुने गरेको छ। अनुदारवादी रिपब्लिकनहरुको त्यस्तो मारमा सबभन्दा बढी अल्पमत आप्रवासीहरु पर्नेछन। डेमोक्रेटिक पार्टीको प्रगतिशील ब्लकले उठाएका अध्यागमन, सामाजिक सुरक्षा, पर्यावरण लगायतका कैयन मुद्दाहरु फिटिक्क अगाडी बढ्ने सम्भावना रहने छैनन।

राष्ट्रपतिमा जो बाईडेनले फराकिलो ईलेक्टोरल मत र लोकप्रिय मतले जीत हाँसिल गरेपनि डेमोक्रेटिक पार्टीले तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभमा सोचेको जस्तो फराकिलो मतले विजय हाँसिल गर्न सकेनन। त्यसको प्रतिछायाँ भर्खर सम्पन्न भएको सभामुखको निर्वाचनमा पनि स्पष्ट देखियो। डेमोक्रेटिक पार्टीकी ८० बर्षिय नेतृ न्यान्सी पलोसीले आफ्ना प्रतिद्वन्दी रिपब्लिकन क्याभिन म्यकर्थीलाई १७ मतको अन्तरले मात्र पराजित गर्न सक्षम भईन। त्यसको अलावा करिब ७५ मिलियन अमेरिकीहरुको अभिमत हाँसिल गरेका वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्प संस्थापन र शक्तिमा नभएपनि हरेक खाले बाधा व्यवधान ल्याउन भने उनी सक्षम हुनेछन र उनले त्यसो गर्ने सम्भावनालाई कुनै पनि शर्त अनि अर्थमा नकार्न सकिंदैन।

त्यसको अलावा सन २०१० को उत्तरार्धबाट राजनैतिक शक्तिका रुपमा अमेरिकी राजनीतिमा उदाएका अनुदारवादी दक्षिणपन्थी टी-पार्टी जस्तै अर्को धार्मिक अन्धबिश्वास र उग्रताको मापनमा उदाएको व्कोनान मुभमेन्टबाट आएकाहरुको अबरोधले पनि डेमोक्रेटिक पार्टीको राज्य संचालनमा केही बाधा र ब्यबधान पुर्याउने सम्भावानालाई पुरै नजरअन्दाज गरिहाल्न सकिने स्थिति छैन। त्यसको अलावा डेमोक्रेटिक पार्टी भित्रकै बैचारिक अन्तरविरोध र शक्ति संघर्षले पनि राष्ट्रपति निर्वाचित जो बाईडेनका योजना र गन्तब्यहरुलाई नजानिँदो किसिमले अबरोध पुर्याउने सम्भावना छ।

कार्यकारी हैसियतमा कार्यसम्पादन गर्न नसकेको अवस्थामा बाईडेन प्रशासन र डेमोक्रेटिक संस्थापनलाई कार्यपालिकाबाट साथ र समर्थन हुने एथेष्ट आधारहरु छैनन। अमेरिकी राजनीतिलाई निरपेक्ष भएर विश्लेषण गर्दा बैचारिकरुपमा सँधै मध्यपन्थमा रमाएको संयुक्त राज्य अमेरिका एक ईन्च पनि बायाँ मोडिने सम्भावना छैन।