११ बैशाख २०८१, मंगलवार ९:०३ | 04/23/2024 11:18 AM



ट्रम्प राजनीतिक अवरोहण-यात्रा – शैलेश श्रेष्ठ

२२ जेष्ठ २०७७, बिहीबार २२:५८ मा प्रकाशित

मेरो बुझाई र विश्लेषणमा अमेरिकीहरु सुविधाभोगी मात्र होइन निजि स्वार्थकेन्द्रित “क्यालक्युलेटिभ” पनि छन | सकभर हार्ने युध्द गर्नै चाहादैनन | फाईदा नहुने काम र कुरोमा अलिकति मात्र पनि समय खेर फाल्न चाहादैनन | रिपब्लिकन पार्टीको सामान्य सदस्यसम्म नभएको डोनाल्ड जे. ट्रम्प नामको एकजना ब्यापारी आएर पार्टी कब्जा मात्र गरेन तहसनहस नै पारि दियो | सदिऔंदेखि जीओपीको बिराशतमा आसिन ठुला रिपब्लिकनहरु “यो छुच्चो चोथालेसंग के मुख लाग्नु” भन्दै उनको बाटो खाली गरि दिए | पार्टीको साख गिर्ने सम्भावना देखेपछि उनीहरु बचाउनको सट्टा अवकास लिएर पार्टी छाडेर भागे |

ट्रम्पको दम्भ र कर्तुतका कारण आफ्नो निर्वाचनक्षेत्रमा आफ्नै राजनैतिक भविश्य समेत जोखिममा रहेको स्वार्थी विश्लेषण गर्दै आफुहरु निर्वाचनमा पुनः उम्मेदवार नबन्ने भन्दै पार्टी छाडेर कुलेलाम ठोके | आखिर डोनाल्ड जे. ट्रम्पले चाहेको पनि त्यही थियो | जिउँदो हुँदा मात्र होइन मृत्युपर्यन्त पनि अमेरिकी राजनीतिका धरोहर म्याभरिक जन म्याकनलाई उनले गाली गरिरहे | आपसी घृणा र द्वेषको पारो यतिसम्म चढ्यो कि स्वर्गीय म्याकनको चाहना मुताविक ट्रम्पलाई मेमोरियल सर्भिसमासम्म बोलाईएन |

जेफ फ्लेक्स, बब कोर्कर, ओरिन हेच जस्ता भेटरान स्थापित रिपब्लिकन सिनेटरहरुले निर्वाचनमा नउठ्ने निर्णय गरे भने त्यही मेसोमा अमेरिकी तल्लो सदन हाउसका पुर्व सभामुख पल र्यानले पनि राजनीतिबाट सन्यास लिए | ट्रम्पको मन्त्रीमण्डल र प्रशासनमा “हायर” “फायर” को रफ्तार दुनियालाई थाहै छ | अहिले समय र परिस्थिति बदलिएको छ | ट्रम्प आफ्नै अतिबाद र दम्भको कारण क्रमश ओरालो लाग्दैछन | हरेक सर्वेक्षणहरुमा उनी आफ्ना प्रतिद्वन्दी डेमोक्रेट्स जो बाईडेन भन्दा १० पोईन्टले पछाडी छन |

पछिल्लो समय अमेरिकाभरि फैलिएको रंगभेद बिरोधि न्यायिक आन्दोलनको क्रममा आन्दोलनकारीहरुलाई “थग” भनेर सम्बोधन गर्दै सैनिक उतारेर भएपनि आन्दोलनलाई “डोमिनेट” (उनको भाषामा) गर्ने उद्घोष गरेपछि अहिले उनको बिरुध्दमा उनकै पार्टीका नेताहरु र पुर्व प्रशासकहरु  खुलेर बोल्न थालेका छन |

उनको नाम नलिईकन पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुशले वर्तमान सरकारले न्यायिक आन्दोलनलाई सम्बोधन गर्न नसकेको भनेर राष्ट्र र नागरिकको नाममा आफ्नो सम्बोधन सार्वजनिक गरेका छन भने उनकै क्याबिनेटका पुर्व रक्षामन्त्री जेम्स म्याटिसले न्यायिक आन्दोलन प्रति सहानुभूति जाहेर गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी जनताहरुलाई जोड्ने भन्दा पनि लडाउने भिडाउने तिर लागेको बताएका छन | त्यसै गरि अहिले अमेरिकी सुरक्षा निकायका माथिल्ला ओहोदामा बसेर राष्ट्रको सेवा गरिसकेका दर्जनौं विशिष्ट व्यक्ति व्यक्तित्वहरुले राष्ट्रपति ट्रम्पको सैनिक परिचालन गर्ने धम्कीको बिरुद्ध आ-आफ्ना आवाजहरु सार्वजनिक गर्न थालेका छन |

पछिल्लो चरणमा चर्चको अगाडी उभिएर एउटा फोटो शेसन गर्नको लागि सुरक्षाकर्मीहरुको हस्ताक्षपकारी परिचालन गरेको घटनालाई अहिले सर्वत्र  निन्दा गरिएको छ | रोज गार्डेनदेखि सेन्ट जोन्स ईपिसकोपाल चर्चसम्म उनको बाटो खुल्ला अनि सुरक्षित गर्नको लागि सुरक्षाकर्मीहरुले शान्तिपूर्ण बिरोध प्रदर्शनमा भाग लिईरहेका सयौं प्रदर्शनकारीहरु माथि अश्रु ग्यास, रबर बुलेट र पानीको फोहरा प्रयोग गरेका थिए |

जीवन आखिर कुमालेको चक्र जस्तै नै हो | सबैको दिन सँधै उस्तै रहँदैन | ट्रम्प अबरोहणका दिनहरु उकालो नलाग्ने गरि सुरु भएका छन | मरेको कुकुरलाई झिंगाले पनि छाडेझैं उनका अघि पछि झुम्मिएका स्वार्थी भिंड अब बिस्तारै पातलो हुँदै जानेछन | अघिल्ला केही हप्ताहरुबाट त्यस्ता दृश्यहरु चहकिलो गरि सतहमा देख्न थालिएको छ | उनको दम्भी सर्वसत्ताबादी क्रियाहरुमा चुईक्क नबोल्ने लाचार र निरिह रिपब्लिकन सिनेटरहरु अहिले अलिनो मलिनै स्वरमा सही बिरोध बोल्न थालेका छन |

सुख-सुबिधा र येश आरामको “क्याल्कुलेटिभ” राजनैतिक जीवन बाँचेकाहरु यस कारण मुख खोल्दैछन कि डोनाल्ड जे. ट्रम्पको राजनैतिक र नैतिक अद्योपतन अवश्यम्भावी मात्र होइन त्यो निकट पनि छ | यस्तै हो दुनियाँ आखिर “ओरालो लागेको कुकुरलाई मृगले पनि खेद्छ” अझ परिमार्जन गरेर समयानुकुल यसो भनौं “ओरालो लागेको धोबीलाई साबुनले पनि खेद्छ |”

तस्विर साभार: दि एटलान्टिक