१२ बैशाख २०८१, बुधबार १२:३४ | 04/24/2024 2:49 AM



डिस्ट्रिक २५ मा शेखर कृष्णानको अग्रता कायमै, क्यारोलिन ट्रान दोश्रो स्थानमा

९ असार २०७८, बुधबार १५:०८ मा प्रकाशित

यसपालीको श्रेणीबद्ध मतदान पध्दतीका कारण न्युयोर्क सहरको अन्तिम निर्वाचन परिणाम आउन अझै केहि समय लाग्ने छ। पहिलो चरणको निर्वाचन परिणाम सम्भवत: यहि जुन महिनाको २९ तारिख बोर्ड अफ ईलेक्सनले सार्वजनिक गर्ने छ भने अब्सेन्टी ब्यालेट सहितको अर्को आवधिक परिणाम जुलाईको ६ तारिखमा मात्र घोषणा गरिने जनाईएको छ तथापी अन्तिम परिणामका लागि जुलाई १२ तारिखसम्म पर्खनु पर्ने हुन्छ ।

हिजो मध्यरातमा सम्प्रेषणले प्रकाशित गरेको परिणाममा बोर्ड अफ ईलेक्सनको पछिल्लो ताजा परिणाम अनुसार केहि फेरबदल भएका छन । त्यस अनुसार कुईन्स डिस्ट्रिक नम्बर २६ मा मतगणना भएको ९६.७७ प्रतिशत मतमा जुली वनले २,८१८ मत (१८.४७ प्रतिशत) र उनका निकटतम प्रतिद्वन्दी अमित एस बग्गाले २,६९३ मत (१७.६५ प्रतिशत) प्राप्त गरेका छन भने नेपालीहरुको अधिक चासो र सरोकार रहेको ज्याक्सन हाईट्स एल्म्हर्स्ट क्षेत्र समेटिएको डिस्ट्रिक २५ मा गणना गरिएको ८९.१३ प्रतिशत मतमा शेखर कृष्णानले ३,१६७ मत (३०.८० प्रतिशत), क्यारोलिन ट्रानले १,८२० मत (१७.७० प्रतिशत) र यी एन्डी चेनले १,८०८ मत (१७.५८ प्रतिशत) प्राप्त गरेका छन।

 

नेपालीहरुको पातलो बस्ति रहेको निर्वाचन क्षेत्र डिस्ट्रिक १९ बाट उम्मेदवारी दिएका पहिलो नेपाली अमेरिकी उम्मेदवार नबराज केसीका बारेका आम चासो बढेको छ। उनी उम्मेदवार रहेको उक्त क्षेत्रमा अहिलेसम्म गणना गरिएको ७५.४७ प्रतिशत मतमा पुराना राजनैतिक व्यक्तित्व टोनी आभेलाले ३,८८३ मत (३७.३ प्रतिशत) सहित अग्रता लिएका छ्न भने रिचार्ड लीले ३,१२९ मत (३०.१ प्रतिशत) ल्याएर दोश्रो स्थानमा रहेका छन। नेपाली समुदायले उच्च सद्भाव र सरोकार राखेका नेपाली अमेरिकी उम्मेदवार नबराज केसीले १५३ मत (१.५ प्रतिशत) प्राप्त गरेका छन।

 

न्युयोर्क सहरको मेयरमा एरिक आडम्स फराकिलो मत अन्तर सहित निरन्तर अग्रता लिई रहेका छन भने उनलाई उम्मेदवारहरु माया विली र क्याथरिन गार्सियाले पछ्याईरहेका छन। पछिल्लो समय अचानक दौडमा सामेल भएर आम चर्चामा रहेका अमेरिकी राष्ट्रपतिका लागि पनि आकांक्षी रहिसकेका आड्रु याङ्गले आफ्नो पराजयलाई औपचारिकरुपमा स्वीकार गरिसकेका छन। निर्वाचनका पछिल्ला दिनहरुमा उनले अर्का उम्मेदवार क्याथरिन गार्सियासंग संयुक्त निर्वाचन क्याम्पेन गरेपछि उनी एरिक आडाम्स क्याम्पेनको बिरोधको निसानामा परेका थिए।