७ बैशाख २०८१, शुक्रबार ६:३७ | 04/19/2024 8:52 AM



डेमोक्रेटिक प्राईमरी: ककसमा सकस? शैलेश श्रेष्ठ

२१ माघ २०७६, मंगलवार १२:३३ मा प्रकाशित

आयोवा डेमोक्रेटिक पार्टी र डेमोक्रेटिक नेशनल कमिटीले एक्काईसौं शताब्दीको सुचना तथा प्रबिधिले सम्मुनत राष्ट्र अमेरिकामा यस्तो पनि हुन्छ भनेर दुनियाले बिश्वासनै गर्न नसक्ने स्तरको लज्जा प्रदर्शन गरेका छन । तर यस्तो हुँदोरहेछ! परम्परागतरुपमा डेमोक्रेटिक पार्टीको पहिलो प्राईमरी निर्वाचन/ककस हुने राज्य आयोवामा हिजो सम्पन्न भएको ककसमा “मेजर कोडिङ्ग एरर” का कारण सकस भएको कुरा डेमोक्रेटिक पार्टीले आधिकारिकरुपमै स्विकार गरेको छ । त्यसको अर्थ हो ककस सम्पन्न गर्न प्रयोग गरिएको एप (अप्लिकेशन) मा प्राबिधिक समस्या देखा परेको छ ।

“हाम्रो एनआरएनए अमेरिकामा मात्र हो र अमेरिकाकै डेमोक्रेटिक पार्टीको निर्वाचनमा पनि त यस्तो हुँदोरहेछ नि!” भन्दै वर्तमान संस्थापनले यो बेला आफ्नो तर्क पक्कै अघि सार्नेछन तर हाम्रोमा चाँही “छानविन समिति गठन गर्यौं है” भनेर आम सदस्यहरुको आँखामा छारो हाल्दै कर्तुत र बदमासी गर्नेहरुलाई छामछाम-छुमछुम पार्छन तर अन्त चाँही त्यसको पारदर्शी विवरण सार्वजनिक हुन्छ र “मास्टर माईण्ड” हरु दण्डित पनि हुन्छन ।
Caucus going mass in the University
तस्विर साभार: सीएनएन, आयोवा ककसको परिणाम सुन्न उत्सुक जनसमुदायहरु
४१ डेलिगेट्सहरुका लागि सम्पन्न भएको हिजोको आयोवा ककसमा प्रगतिशील डेमोक्रेटिक उम्मेदवार बर्नी स्यान्डर्स, जसले बिगत चार दशकदेखि आफुलाई अमेरिकी माथिल्लो सदन सिनेटमा एक्लो “समाजबादी” भनेर स-गर्व घोषणा गरेकाछन, ले पहिलो स्थान हाँसिल गरेको र दोश्रो स्थानमा मेयर पिट बुडीजजले बाजी मारेको अड्कल गरिएको छ ।

उम्मेदवारीको प्रारम्भदेखिनै चर्चाको शिखरमा रहेकी अर्की प्रगतिशील उम्मेदवार सिनेटर एलिजाबेथ वारेनले पनि सम्मानजनक डेलिगेट्सहरु हात पार्ने निश्चित छ किनकी डेमोक्रेटिक ककस र प्राईमरीमा “समानुपातिक प्रतिनिधित्व” का हिसाबमा प्राईमरी हुने गर्दछन भने रिपब्लिकन पार्टीको प्राईमरीमा चाँही जसले जित्यो सबै डेलिगेट्स उसैले हाँसिल गर्दछ जसलाई निर्वाचनको भाषामा “विनर टेक अल” भन्ने गरिन्छ । मध्यमार्गी डेमोक्रेट्सकारुपमा राष्ट्रपति ट्रम्पलाई पराजित गर्ने सपना बोकेका यथास्थितिबादी उम्मेदवार पुर्व उप-राष्ट्रपति जो बाईडेन अपेक्षा गरिएको भन्दा निक्कै पछि परेको आंकलन गरिएको छ ।

अमेरिकी राजनीति अहिले निक्कै पेचिलो बन्दै गएको छ । राष्ट्रपति ट्रम्पलाई लगाईएको महाभियोगको ईन्क्वाईरी सत्रमा आज दिनभर जुररका हैसियतमा रहेका माथिल्लो सदन सिनेटका सिनेटरहरुले आ-आफ्नो विचार (फाईनल आर्ग्युमेन्ट) राख्नेछन भने राष्ट्रपतिले आजै साझ “स्टेट अफ दि युनियन” मार्फत राष्ट्रको नाममा सम्बोधन गर्नेछन । अन्तत: भोली बुधबार ईम्पिचमेन्ट प्रस्ताब उपर माथिल्लो सदनमा अन्तिम मतदान हुनेछ जहाँ पार्टी लाईनमै एकठ्ठा भएर वर्तमान राष्ट्रपतिका हरेक असंबैधानिक कदमहरुको समर्थन गर्दै ५३ जना रिपब्लिकन सिनेटरहरुले राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको बचाऊ गर्नेछन ।

माथिल्लो सदनका सिनेटरहरुले आफ्नो राजनैतिक भबिश्य अनि स्वार्थका लागि बचाऊ गरेका राष्ट्रपति ट्रम्पलाई सचेत, स्वतन्त्र अनि स्वाधीन अमेरिकी मतदाताले “म नै राज्य हूँ” को अहम अनि दम्भमा यसरीनै निरन्तर आफ्नो व्यापारिक अनि पारिवारिक स्वार्थका लागि अघि बढ्न अनुमोदन देलान कि आफ्नो सर्वशक्तिमान अभिमत मार्फत उचित सजाय देलान? नोभेम्बर महिनामा सम्पन्न हुने राष्ट्रपतीय निर्वाचनले त्यसको निर्क्यौल गर्ने पक्का छ ।