१३ बैशाख २०८१, बिहीबार १०:०५ | 04/25/2024 12:20 AM



ढल्न थाले स्वेत सर्बोच्चताबाद र रंगभेदका प्रतीकहरु – शैलेश श्रेष्ठ, अमेरिका

२९ जेष्ठ २०७७, बिहीबार ०१:०० मा प्रकाशित

अमेरिकी स्वेत सर्बोच्चताबाद र जिम क्रोका रंगभेदको पक्षपोषण गर्ने दर्जनौं कन्फेडरेट स्ट्याच्युहरु अमेरिकाका बिभिन्न राज्यहरुमा अझै छन | उदार अमेरिका र अमेरिकी जनताहरुले बिगतको कलंक र बिरासतहरुको पक्षपोषण गर्ने त्यस्ता स्ट्याच्युहरुलाई हटाउन समय समयमा माग गर्ने गरेका छन | केही ठाउँमा हटाउने काम भएका पनि भएका छन तर कैयन ठाउँमा भने अदालतले नहटाउने अध्यादेश समेत जारी गर्ने गरेका छन |

जर्ज फ्लोईडको पाशविक र क्रुर हत्यापछि रंगभेद बिरुद्धको न्यायिक आन्दोलन निर्णायकरुपमा अघि बढेको बेला हिजो मात्र अमेरिकी तल्लो सदनकि सभामुख न्यान्सी पलोसीले पुनः क्यापिटल हिलमा अवस्थित त्यस्ता स्ट्याच्युहरुलाई तत्काल हटाउन ज्वाईन्ट कमिटी अफ द लाईब्रेरीका चेयरम्यान सिनेटर रोय ब्लन्ट र भाईस-चेयरवुमेन कांग्रेसवुमेन जोई लोफग्रीनको नाममा पत्राचार गरेकी छन | सन् २०१७ मा पनि उनले यही ब्यहोराको औपचारिक माग गरेकी थिईन |

भर्जिनिया राज्यको रिचमण्डमा अवस्थित कन्फेडरेट जनरल रबर्ट ई. लीको स्ट्याच्यु हटाउन गभर्नरले गत सोमबारनै आदेश दिएका थिए तर कन्फेडरेट जनरल रबर्ट ई लीका पलाँतीले अदालतमा मुद्दा दायर गरेपछि स्ट्याच्यु तत्काल नहटाउन अदालतले अन्तरिम आदेश दिएपछि अन्तिम अवस्थामा त्यो स्ट्याच्यु नहटाउन सरकारी निकाय बाध्य भएका थिए | अन्य थुप्रै राज्यहरुमा अदालतको अन्तरिम आदेशका कारण त्यस्ता स्ट्याच्युहरु हटाउने गभर्नरहरुको निर्णय स्थगित भएका छन |

राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र अनुदारबादी दक्षिणपन्थी रिपब्लिकनहरु यस्ता स्ट्याच्युहरुलाई अमेरिकी ईतिहासको बिरासत र धरोहर भएकोले हटाउन नहुने तर्क गरिरहेका छन भने उदार तथा प्रगतिशील डेमोक्रेट्सहरु चाँही कलंकका यस्ता बिरासतहरुलाई ईतिहास भनेर संरक्षण गर्न नहुने तर्क गर्दछन | | अहिले अमेरिकाभरि रंगभेद बिरोधि आन्दोलन उत्कर्षमा पुगेको बेला स्वेत सर्बोच्चताबाद र जिम क्रोका रंगभेदको पक्षपोषण गर्ने यस्ता कन्फेडरेट स्ट्याच्युहरु आन्दोलनकारीहरुको निशानामा पर्ने गरेका छन |

सभामुख पलोसीले क्यापिटल हिलमा अवस्थित त्यस्ता स्ट्याच्युहरुलाई तत्काल हटाउन माग गरेको केही घण्टामै भर्जिनिया राज्यको पोर्ट्स माउथ स्थित कन्फेडरेट स्ट्याचुलाई आन्दोलनकारीहरुले ढाली दिएका छन | उक्त स्ट्याचुलाई ढाल्न अघि आन्दोलनकारीहरुले त्यहाँ रहेका चार वटा स्ट्याचुहरुको टाउको फोरिदिएका थिए | स्ट्याचु ढाल्ने क्रममा भएको दुर्घटनामा एकजना तीस बर्षिय युवक घाईते भएका थिए भने केही प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको खबर बाहिर आएको छ |