११ बैशाख २०८१, मंगलवार १०:३५ | 04/23/2024 12:50 PM



धार्मिक अतिबाद, एक्काईसौं शताब्दीको “अफीम” – शैलेश श्रेष्ठ

१४ जेष्ठ २०७७, बुधबार ००:४४ मा प्रकाशित

महान विचारक कार्ल मार्क्सले “धर्म” लाई अफीम भनेका थिए । तर हाम्रो नेपालमा चाँही मार्क्सका दर्शन पढेका र आफुलाई मार्क्सबादी भन्नेहरु सबभन्दा बढी आडम्बरी, कर्मकाण्डी, पुरातनिक मात्र होइन “धार्मिक” पनि छन । मैले मार्क्सबाद धेरै पढिन तर जीवन, जगत र समयसापेक्षताको कसीमा आफु बाँचेको समाज चाँही निरन्तर पढें । आवरणमा देखाईने अथवा मानिने धर्महरु मलाई आडम्बर लाग्दछ । प्राय: अधिकांश धर्मभीरुहरुले मानवता, प्रेम र क्षमाशिल बन्न नसिकाएको बरु आफुले मानेको धर्म मात्र राम्रो अनि बाँकी अरुहरुले मान्ने गरेको चाँही असाध्य नराम्रो भन्ने “अधर्मी” उपदेशहरु रटाउने गरका छ्न ।

धार्मिक युध्दकै कारण लाखौँ मान्छे मारेको मारिएको मात्र होइन एउटा युगकै अन्त्य भएको ईतिहास पढेका एक्काईसौं शताब्दीका मानिसहरु पनि यो अफीमको सेवनमा किन आशक्त हुन्छन म पटक्कै बुझ्न सक्दिन । मेरै पुस्ताका शिक्षित सुसंस्कृत मेरा सहपाठीहरुमा पनि त्यस्तो धर्मान्धता देखेर म झनै छक्क पर्छु । तिनले पुरातनिकरुपमा अंगालेको त्यो धर्मान्धताका कर्मकाण्डी रुढीबादका बारेमा दुई शब्द लेख्दा पनि उनीहरु मलाई सलमान रुस्दी बनाउन तम्सन्छन ।

बिषयगतरुपमा धर्म मेरो रुची नभएपनि यी नादान धर्मभिरुहरुसंग बौद्धिक अनि बैचारिक बहस गर्नको लागि नै भए पनि म बिश्वमा अभ्यास गरिएका प्रचलित धर्महरुमा भेटे जति पढ्छु । करिब दुई बर्ष अगाडी फिप्नाको अनुरोधमा मैले धर्मनिरपेक्षताको बारेमा एउटा कार्यपत्र नै प्रस्तुत गरेको थिए त्यो तयार गर्ने क्रममा ईसाई धर्मको बारेमा मैले कल्पनानै नगरेको एतिहासिक सत्य तथ्यहरुको जानकारी पाएँ । हामी आवरणमा “क्रिस्चियन” भनिदिन्छौं तर त्यहाँ पनि दर्जनौं खाले ईसाई धर्माबलम्बीहरु हुँदा रहेछन अनेक हाँगाबिगा हुँदा रहेछन ।

कुनै अति उदार अनि कुनै नितान्त पुरातनिक अनि आदिम र कठोर! नेपालको पहिले पहिलेका कम्युनिस्ट पार्टीहरु जस्तो विभाजित अनि आफुले आफैलाई मात्र सच्चा ईश्वरका सन्तान मान्ने अनि अरुलाई कमसलको दर्जा दिने । धर्मभीरुहरुको जिरहा जिद्दी जे जस्तो हुने गरे पनि मेरो आफ्नो अध्ययन र अनुसन्धान अनि मौलिक निजि विश्लेषणको आधारमा यति सत्य लेख्न चाँही म अप्ठेरो मान्दिन धर्म-सापेक्ष राष्ट्रहरु भन्दा राज्यले धर्मलाई सरोकार नगर्ने र आम मानिस पनि धर्मका बारेमा निरपेक्ष रहने राष्ट्र र समाज नै हरेक अर्थमा विकसित, समुन्नत र न्यायसंगत हुने गरेका छ्न ।

मानब संसाधनका दृष्टिले विशिष्ट र समुन्नत मानिएका स्क्यान्डीनेभियन राष्ट्रहरु त्यसका उम्दा उदाहरण हुन । त्यसै गरि चीन, ब्रिटेन, जर्मनी, स्विटजरल्याण्ड, अस्ट्रिया, फ्रान्स, स्पेन, जापान, नेदरल्याण्ड, दक्षिण कोरिया अस्ट्रेलिया जस्ता बिकसित र समुन्नत देशका मानिसहरु आफुलाई धर्म प्रति असंलग्न भनेर भन्दछन । मानिसलाई अचम्म लाग्ला ईजरायलमै पनि ६२ प्रतिशत नागरिक आफुलाई गैर धार्मिक भएको मान्दछन । कार्यपत्र प्रस्तुति पछिको अन्तरक्रियाकै क्रममा पनि मलाई निकै संगीन प्रश्नहरु बुझेकै साथीभाईहरुले निहु खोज्ने अभिष्टले सोधेका थिए “शैलेशजी, तपाई लामो समय बसेको देश अमेरिका चाँही क्रिस्चियन राष्ट्र होइन र?”

मैले त्यति बेला पनि भनेको थिएँ अनि अहिले पनि भन्छु “होइन, अमेरिका संबिधानत: धर्मनिरपेक्ष राष्ट नै हो ।” तथापि केही परम्परागतरुपमा जोडिएका रितिथिति र परम्पराहरुका कारणले अमेरिका क्रिश्चियन राष्ट्र जस्तो लागेको मात्र हो जसरी नेपाललाई धर्म निरपेक्ष भनिए पनि अझै सरकारले हिन्दु पौराणिक परम्परागत रितिथितिहरुको पूर्ण परित्याग गर्न सकेको छैन त्यस्तो दृश्यहरु हामी दसैंको फूलपाती बढाईदेखि नेपाली सेनाको ब्यारेकहरुमा गरिने नित्य पुजाअर्चनाहरुमा देख्न सक्छौं । यो कुरा चाँही सर्वथा सत्य हो कि आम अमेरिकीहरु धार्मिक प्रवृतिका भने छन । त्यसो हुनुमा रैथाने स्वेतहरुको ठुलो बस्ति क्रिश्चियन हुनु र आप्रवासीहरुको ठुलो संख्या भएका अफ्रिकन अमेरिकन र ल्याटिनो जनसंख्याको ठुलो हिस्सा धार्मिक प्रवृतिका छन र अधिकांश क्रिश्चियनहरु नै छ्न तर सन २०१७ मा यहाँका रिसर्च ईन्सटिच्युटहरुले गरेको गहन अध्ययन र अनुसन्धानले एउटा नयाँ तथ्यको उद्घाटन गरिदिएका छन नयाँ पुस्ताका अमेरिकीहरुको कुनै पनि धर्म प्रति आशक्ति मात्र होइन संलग्नता पनि नभएको यथार्थ त्यो अनुसन्धानले पत्ता लगाईदिएको छ ।

त्यो आंकडा अनुसार करिब ५० मिलियन अमेरिकीहरु धर्म प्रति असंलग्न छ्न । त्यस मध्यको ठुलो संख्याले आफुलाई “नन्स” भनेर आफुलाई परिभाषित गर्ने गरेका छ्न त्यो भनेको के हो भने उनीहरु आफुलाई “एथियष्ट” (नास्तिक) पनि भनेर परिभाषित गर्दैनन बरु यो संख्या “एगनस्टीक” भने पक्कै हुन बी. पी. कोइराला जस्तो । म पनि आफुलाई त्यही कोटीमा राख्ने गर्दछु । बिकसित र धनी राष्ट्रको तुलनामा अविकसित र गरिब राष्ट्रका मानिसहरु धार्मिक हुने गरेको तथ्य पनि अनुसन्धानहरुबाट पत्ता लागेको छ ।

धर्मका बारेमा बिबेचना या परिसम्बाद गर्दा मलाई एउटा कुरामा अचम्मै लाग्दछ संसारकै बिकसित र अझ धर्मनिरपेक्ष राष्ट्र र राज्यमा लामो समय बसेका हाम्रा विद्वान समाजसेवी अभियन्ताहरु “अब हामी पनि नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनु पर्छ” भन्दै कांग्रेसका शशांक कोइरालालाई गुहार्दैछन । अझ दुई कदम अगाडी बढेर सत्ता बाहिर बस्नु पर्दाको पिडाबोध सार्वजनिक गर्दै उनीहरु भन्दैछन “यहि मौका हो के.पी. ओली र ने.क.पा. ले नेपालमा क्रिश्चियानिटी भित्र्यायो, अब हामी धार्मिक ध्रुविकरण मार्फत सत्ता हत्याउनु पर्छ ।” छक्कै पर्छु म त अब हामीलाई हिन्दुराष्ट्र, बुध्दिष्टराष्ट्र, क्रिश्चियनराष्ट्र, ईश्लामराष्ट्र चाहिएको हो कि न्यायपूर्ण समुन्नत नेपाल राष्ट्र?