७ बैशाख २०८१, शुक्रबार १०:३७ | 04/19/2024 12:52 PM



न्युयोर्क सिटी काउन्सिल निर्वाचन र क्यारोलिन ट्रानको उम्मेदवारी घोषणा – शैलेश श्रेष्ठ

१९ मंसिर २०७७, शुक्रबार ००:२६ मा प्रकाशित

आउँदो बर्ष सन् २०२१ मा न्युयोर्क सिटी काउन्सिलका सबै अर्थात् ५१ सिटमा निर्वाचन हुन्छ। लगातार तीन पटकसम्म उठ्न नपाईने टर्म लिमिट राखिएको कारण सिटी काउन्सिल सदस्यको निर्वाचनमा थुप्रै काउन्सिल मेम्बेरहरु टर्म लिमिटका कारण नउठ्ने भएका छन। उनीहरुका लागि अर्को राजनैतिक खुट्किला भनेको पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेन्ट या मेयरको लागि आफ्नो आकांक्षा सार्वजनिक गर्नु हो।

अमेरिका भरिकै सर्वथा उदार अनि प्रगतिशील सहर मानिने न्युयोर्क सहरका अधिकांश डिस्ट्रिकहरुमा डेमोक्रेट्सहरुले विजय हाँसिल गरेका छन भने मेयर, प्राय अधिकांश बोरोका प्रेसिडेन्ट, डिस्ट्रिक अटर्नी, कम्पट्रोलर र पब्लिक एड्भोकेटमा पनि डेमोक्रेट्सहरुले नै विजय हाँसिल गरेका छन। पछिल्ला बर्षहरुमा जनसंख्याको भारी अभिबृध्दीसंगै नेपाली अमेरिकीहरु पनि मुलधारको राजनीतिमा रुचि राख्न थालेका छन।

संख्याका दृष्टिकोणले न्युयोर्क सहरको डिस्ट्रिक नम्बर २५ र २६ मा नेपालीहरुको बाहुल्य र सम्भावना पनि छ तर अहिलेसम्म कसैले पनि उम्मेदवारी दिएका छैनन तर संख्यात्मकरुपमा खासै पहुँच नभएको डिस्ट्रिक १९ बाट भने नेपाली अमेरिकी नबराज केसीले सिटी काउनिल मेम्बरमा उम्मेदवारी दिएको कुरा न्युयोर्क सिटी बोर्ड अफ ईलेक्सनबाट जानकारी प्राप्त भएको छ। उनले आफ्नो उम्मेदवारी अहिलेसम्म आफ्ना केही निकटहरुमै मात्र सिमित राखेका छन।

नेपालीहरुको बाक्लो आवादी र जनसंख्या भएको ज्याक्सन हाईट्स क्षेत्र अर्थात् डिस्ट्रिक २५ बाट भने भियतनामी मुलकी एकल महिला तथा लामो समयदेखि वर्तमान सिटी काउन्सिल मेम्बर ड्यानियल ड्रोमका चिफ अफ स्टाफको भूमिकामा रहेकी क्यारोलिन ट्रानले गत एक समारोहका बिच आफ्नो उम्मेदवारी घोषणा गरिकी छन।
आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले भनेकी छन ” बिगत एक दशकदेखि मैले कुईन्सको डिस्ट्रिक २५ का जनताहरुलाई सकेको सेवा उपलब्ध गराउँदै आएकी छु र आफ्ना कामहरुलाई थप जनमुखी बनाउन पनि कटिबद्ध रहँदै आएकी छु। जोखिममा रहेका आम समुदायलाई प्रेम र प्रतिज्ञा मार्फत स-शक्तिकरण गर्नु नै मेरो बैचारिक आदर्श र ब्यबहारिक सिद्धान्त हुन।

नेता र नेतृत्वको पछाडी रहेर आम मानिसका लागि काम र सेवा गर्ने भूमिकामा म सँधै रहें। त्यसो गरिरहँदा मैले आफुलाई आफैले कहिल्यै पनि त्यस्तो नेतृत्वदायी भूमिका निर्वाह गर्ने उम्मेदवारका रुपमा देखिन किनकी परम्परागतरुपमा एकजना म जस्ती कामदार वर्गकी एकल महिलाका लागि संस्थापनले त्यस्ता पद र नेतृत्वदायी भूमिका सिर्जना गरेका होइन भन्ने पनि मैले बुझेकी छु तर म त्यो परम्परा र यथास्थितीबादलाई तोड्न चाहन्छु र त्यस अर्थमा पनि म आमूल सामाजिक र राजनैतिक परिवर्तनको पक्षमा छु।

म माकाना र माकाई नामकी दुई सुन्दर छोरीहरुकी एकल आमा हुँ । उनीहरुको भविश्य बिना भेदभाव र अप्ठेराहरु बिनै सुन्दर र सुरक्षित बनाउनु पर्ने अहम दायित्व पनि मेरै काँधमा छ तर यो अभियान म र मेरो एकल अभिभारा मात्र होइन हामी आमा, महिला, आप्रवासी अल्पमत समुदाय, समलिंगी र युवापुस्ता लगायत सबै वर्गको सामुदायिक दायित्व र अभिभारा पनि हो भन्ने मैले गहिरो गरि बुझेकी छु।

अहिलेसम्म उक्त डिस्ट्रिकमा आठ जना आकांक्षीहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन। उनलाई अहिले एकजना बलियो उम्मेदवारको रुपमा हेर्न थालिएको छ त्यसको एउटा कारण उनलाई प्राप्त हुन सक्ने एसियन प्यासेफिक आईल्याण्डरहरुको बढ्दो समर्थन पनि हो। उनी नेपाली समुदाय बिच पनि उत्तिकै परिचित अनि लोकप्रिय छिन।