१३ बैशाख २०८१, बिहीबार १२:०६ | 04/25/2024 2:21 AM



पुरानै रोगको पुनरावृत्ति हुने सम्भावना बढ्दैछ एनआरएनए अमेरिकामा – शैलेश श्रेष्ठ

१४ फाल्गुन २०७७, शुक्रबार २१:४१ मा प्रकाशित

एनआरएनए अमेरिकाको भेरिफिकेशन कमिटीले “हालसम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना” भन्दै अहिले औपचारिक-अनौपचारिक सुचना, वक्तब्य अनि बजार हल्ला बाक्लैरुपमा सार्वजनिक गरेको छ।

पहिले यसरी बिबिध कारणले अप्रुभ नभएको तर दस्तुर भुक्तान गरिसकेकाहरुलाई अपुग कागज बुझाउने र सच्याउने म्याद यहि फेब्रुअरी महिनाको २२ तारिख ११:५९ बजे (अमेरिकी पूर्वीय समय) सम्म तोकिएकोमा अन्तिम समयमा आएर शंकास्पद तरिकाले सारा दुनियालाई शंका गर्ने हक दिंदै अर्को छ दिन बढाएर पर्सि २८ तारिख ११:५९ बजेसम्म तोकेको छ।

२०१५-१७ को निर्वाचनदेखि नै यस खालको चेलखेल आरम्भ गरिएको हो कहिले आफ्नो अनुकुलमा सदस्यता नवीकरण गर्ने म्याद बढाउने त कहिले आफुलाई चाहिने जति सदस्य बनाई सकेपछि बनिबनाउ सर्वर ईरर गरेर-गराएर आम एनआरएनलाई सदस्य बन्न बन्देज लगाउने गरिएको घिनलाग्दो, डरलाग्दो, अपराधिक मनोवृत्ति निशृत क्रियाकलापका हामी देखि जान्ने र भोगी जान्ने साक्षीहरु हौँ।

आफु अघिल्लो सत्रको सुपरिवेक्षण समितिमा बसेर काम गरेको हैसियतले मैले त्यस्ता थप घृणित खेलहरुको चलखेल देखेको अनि भोगेको छु। यहाँहरुलाई बिदितै छ अघिल्लो पटकको अनाधिकृत जगेडा २०९३ मत काण्ड अहिले आईसीसीको छानविनको दायरा र कोर्टमा यो मुद्दा विचाराधीन रहेको छ।

सदस्यता नवीकरण र मतदाता नामावली दर्ताका लागि भनिएको म्यादभन्दा एक दिन नथप्ने चट्टानी अडानलाई कार्यान्वयन गर्ने डा. राजन पन्तको नेतृत्व र कमाण्डमा रहेको भेरिफिकिशन कमिटिले कसको निर्देशन, स्वार्थ र चाहनामा अतिरिक्त १६ सय मानिसलाई अवसर दिने बनिबनाउ बहानामा छ दिन म्याद थप्यो?

फेब्रुअरी १५ तारिख मध्यरातमा कार्यक्रम जोग संजोगमा पत्रकार सतिश चापागाईंसंगको वार्तालापमा त्यत्रो अडान लिएर बोलेको मान्छे आफ्नो अडानबाट किन यति चांडै गल्यो अनि पछि हट्यो? पत्राचारको लागि त्यति लामो समय उपलब्ध गराउँदा पनि पत्राचारहरुको रेस्पोन्स नगर्ने भनिएका यो ठुलो समुहले थपिएको छ दिनमा चाँही सम्पर्क र सम्बादमा आउँछन भन्ने के ग्यारेन्टी छ?

द्रब्यको ठुलो चलखेल हुने अनि दलाल र बिचौलियाहरुको परोक्ष हस्तक्षप हुने गरेको यस संगठन भित्रको यो खेलमा डा. पन्तले पनि आफ्नो ईमान र यशलाई जोखिम र दाउमा राख्ने अप्रिय दुस्साहस गरेकै हुन त? यस्तो किमार्थ अनि किञ्चित नहोस भन्ने हाम्रो अशिम चाहना छ।

सदस्य संख्याकै लोभ र लालच हो भने नवीकरण र मतदाता नामावली दर्ताको म्याद अर्को एक हप्ता थपिदिएको भए कम्तिमा पनि अरु ६ हजार सदस्य बढ्ने सम्भावना थियो। उ बेला कडीकडाउ गर्ने यो कमिटिले अहिले आएर किन यस्तो दया देखायो? हामी निरन्तर अनुगमन अनि निगरानी गर्ने छौं।