८ बैशाख २०८१, शनिबार ७:२१ | 04/20/2024 9:36 AM



प्रवासी नेपाली समाज: युटोपियन साम्राज्य

४ मंसिर २०७२, शुक्रबार ०८:०५ मा प्रकाशित

हाम्रो प्रवासी नेपाली समाजमा रहेको तथाकथित सामाजिक र ब्यबसायिक भनिएका संगठन र तिनका हर्ताकर्ताहरुमा गुटबन्दी, व्यक्तिपुजा, तावेदारी, सस्तो लोकप्रियताको मोह र पदलोलुपताको मात्रा असाध्य बढेर गएको छ | त्यस्तो डरलाग्दो महारोग अहिले सबै खाले राजनैतिक विचार, जात, धर्म, क्षेत्र, लिङ्ग, भौगोलिक सिमाना आदीको साँघुरो घेरा तोडेर माथि उठ्नु पर्ने कलाकारहरुमा पनि डरलाग्दो गरि देखिन थालेको छ |

नेपाली अमेरिकन कलाकार संघका नवगठित कार्यसमिती तस्बिर: अशोक पन्त

नेपालमा छ छ जना उप-प्रधानमन्त्री भन्दै हामीले खिल्ली उडाउँदै गर्दा टाठाबाठा प्रवासी नेपालीहरुको बाक्लो बस्ति भएको न्युयोर्कको ज्याक्सन हाईट्स केन्द्रित नेपाली अमेरिकन कलाकार संघ उत्तर अमेरिकाले लोक गायक सुमन बुढामगरको अध्यक्षतामा एक जना बरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिब, सचिब, सह-सचिब, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, मिडिया संयोजक सहितको जम्बो टोलीको घोषणा गर्दै निरन्तर उत्सब गरिरहेको छ |

अझ त्यतिले पनि नपुगेर च्याप्टर संयोजक अनि च्याप्टर अध्यक्षको पनि बिशेष ब्यबस्था गरिएको रहेछ | अभिनेत्री जल शाहलाई साल्ट लेक सिटीको च्याप्टर अध्यक्षमा मनोनयन गरिएको खबरमा हाम्रा कलाकार बन्धुहरुले हप्तौं सामाजिक संजाल रंगाएर हप्तौं उत्सब मनाईरहेका छन | सुगम नेपाली संगीतका स्थापित अनि होनहार गायक यम बराल न्युयोर्क च्याप्टरको अध्यक्ष बनेका रहेछन | यम बराल र जल शाह यी दुई नामहरु आफैमा काफी छैन र ? किन आफैले आफुहरुलाई अबमुल्यन गर्छन हाम्रा कलाकर्मी साधक, सर्जक र धरोहरहरु ? एकताका आफु पनि कलाकार बन्न लागि परेकोले होला सायद यो बचपना अनि पदलोलुपताले अरुलाई भन्दा अलि बढी मलाई चिमोटेको अनि दुखेको छ |

दुनियाको कहीं कतै कुनै संगठनमा नभएको अचम्मको सांगठनिक स्वरूप पनि बनाएछन हाम्रा कलाकारहरु बन्धुहरुको संगठनले अब त्यहाँ महा-सचिबलाई साथ दिन सचिब अनि सह-सचिबको पनि ब्यबस्था गरिएको रहेछ | आम्दानी खर्च ठुलै हुने भएर होला कोषाध्यक्षलाई हिसाब किताबमा सघाउन एक जना सह-कोषाध्यक्षको पनि अतिरिक्त ब्यबस्था गरिएको रहेछ | किन यस्तो लालच र पदलोलुपता जाग्छ हाम्रो नेपाली जातिलाई ? त्यत्रो राष्ट्रिय स्तरको “नेम” अनि “फेम” भएका कलाकारहरुलाई किन यस्तो “कार्यकारी कारिन्दा” बन्ने अचम्मको शौख जागृत हुन्छ ? अब अरु क्षेत्रमा जस्तै “आईडेनटिटी क्राईसीस” को संक्रमण रोग हाम्रा सर्जकहरुमा पनि सरिसकेछ |

जल शाह साल्ट लेक सिटी च्याप्टरको अध्यक्ष पद ग्रहणको अवसरमा पुष्पगुच्छा स्वीकार गर्दै |

हाम्रो प्रवासी नेपाली समाजमा “कन्फ्लीक्ट अफ ईट्रेस्ट” जस्तो सांगठनिक सम्बेदनशिलतालाईलाई या त बुझ पचाईएको छ अथवा नजरअन्दाज गरिएको छ | पद पाए जति कुम्ल्याउने प्रचलन छ | न त टर्म लिमिटको प्राबधान राखिएको छ न त लोक लाज नै छ | तीन पटकसम्म अध्यक्ष भईसकेकाहरु पुनः त्यहि पदका लागि रणमैदानमा उत्रिएका लज्जास्पद यथार्थहरु छन यो प्रवासी संगठन र बस्तीहरुमा | आफु कार्यकारी अध्यक्ष भएकै बखत त्यो भन्दा अलि ठुलो अनि फराकिलो अर्को संगठनमा उम्मेद्वारी दिंदै जितेर फट्कीएको दुखद उदाहरणहरु पनि छन हामीसंग |

हामी आम प्रवासी नेपालीहरुको सांझा अनि ठुलो संगठन ठानिएको एनआरएन अमेरिकाका जिम्मेवार महा-सचिब तिलक श्रेष्ठ अहिले भर्खर घोषणा गरिएको कलाकारहरुको संगठनमा पनि एक जना उपाध्यक्षका हैसियतमा चुनिएका अथवा मनोनित भएका छन | त्यस्तै नेपाली कांग्रेस भात्री संगठन नेपाली जनसम्पर्क समितीका वर्तमान कार्यकारी सदस्य गायिका पविता परियार उपाध्यक्ष पदमा छानिएकी छिन | उता नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष पदमा बहाल रहेकै बेला एनआरएन अमेरिकाको बरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारी दिएको आरोप खपेका शिब बिष्टले उम्मेदवारी दर्ता अगावै राजिनामा दिएको तर नेजाले आफ्नो राजिनामा करिब पाँच महिना षडयन्त्रपुर्वक होल्ड गरेको सत्य सार्वजनिक गरेका छन |

उनि दुई महिना अघि मात्र नर्थ क्यारोलिनामा सम्पन्न भएको निर्वाचनमा नासियाको महा-सचिबमा निर्वाचित भएका छन| त्यसै गरि आफु पद बहाली रहेकै अवस्थामा अमेरिका नेपाल सोसाईटीको अध्यक्ष पदमा फट्को मारेका तात्कालिक नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निर्वाचित अध्यक्ष नगेन्द्र पौडेल आम पत्रकारहरुको प्रचण्ड दवाब पश्चात राजिनामा दिन बाध्य भएका थिए | प्रवासी नेपालीहरुको साना ठुला संगठनहरुमा यस्ता पदलोलुपता र अनैतिक प्रचलनहरुको पुनरावृत्ति निरन्तर हुने गरेको छ |

मातृभूमी नेपालको यथास्थितिबाद अनि तरल राजनीति र नेताहरुलाई यहाँबाट जति गाली गरे पनि हामी उनीहरु भन्दा कैयौं गुणा असहिष्णु, अनैतिक, लालची, ढोंगी अनि पदलोलुप छौं भन्ने सत्य तथ्यको फेहरिस्त र पुष्टी यी र यस्तै थुप्रै घटना र परिघटनाहरुले गर्ने गरेको छ |

आवरणमा राजनीति, जात, धर्म, क्षेत्र, अनि गोत्रको खोल ओडेर समाजसेवाको नाटक र ढ्वांग गर्ने संघ संगठनहरुमा हुने गरेको त्यस्तो खाले पदलोलुप अकर्मन्य र अनैतिक खेलमा आफ्नो सिर्जना र पारखले सिमानाबिहिन एक्काईसौं शताब्दीको संसार जित्नु पर्ने सर्जक अनि साधक कलाकारहरु पनि फस्नु हामी सबैको लागि दु:खद यथार्थ हो |