१५ चैत्र २०८०, बिहीबार २:१० | 03/28/2024 4:25 PM



प्रवासी भात्री संगठनहरुको रुवाबासी! शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

३० कार्तिक २०७६, शनिबार ११:०५ मा प्रकाशित

सत्तासीन नेपाल कम्युनिष्ट पार्टीले प्रवास स्थित आफ्ना भात्री संगठनहरुलाई आधिकारिक मान्यता नदिने निर्णय गरिसकेको छ भने प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीले पनि कांग्रेस पार्टी अन्तरगतको भात्री संगठनको सदस्यता लिन नेपाली नागरिक हुनै पर्ने अर्थात् अन्य मुलुकमा बसेर त्यहाँका नागरिकता लिएकाहरुले पार्टीको सदस्यता लिन नपाउने नियमलाई आफ्नो पार्टीको बिधानमा विधिवत राखेपछि अहिले बिशेष गरेर “चिचीको पनि लोभ पापाको पनि लोभ” गरेर प्रवासमा पार्टी बिस्तारसंगै पार्टीको क्रियाशील प्रत्यक्ष राजनीति गरिरहेका कांग्रेसीहरुको रुवाबासी सुरु भएको छ ।
Shailesh Profile Picture New One यो मामलामा त्यही पदचाप पछ्याईरहेका “भाई कांग्रेस” अर्थात् प्रवासी नेपाली (एकता?) मंच अहिलेसम्म सार्वजनिकरुपमै रोईकराईमा सामेल भएका छैनन । हुन त अन्य कैयन मुलुकहरुमा खुलेरै राजनीति गरेपनि अमेरिकाको “भाई कांग्रेस” हरु “माछो आए दुलो भित्र हात अनि सर्प आए दुलो बाहिर हात” को चलाख रणनीतिमा पार्टीको बफादारी र नेता मन्त्रीहरुको चाकरी, चाप्लुसी अनि स्याहारसुसारमा लाग्ने गरेका छन ।

अन्य मुलुकका नागरिक बनिसकेका (भूतपूर्व नेपाली) हरुलाई पार्टीले सदस्यता नदिने हो भने नेपाली जनसम्पर्क समिति खुम्चिएर आकार र संख्यामा अहिलेको भन्दा एक तिहाईमा झर्ने कुरो पनि रुवाबासीसंगै प्रवासका कांग्रेसी कार्यकर्ताहरुले उठान गरेका छन । “ख्वामित, आधुनिक दास बन्ने यो अवसरबाट बन्चित नगराई बक्सियोस्!” भन्ने आसयमा अनन्यरोदन, बिन्तिभाउ मात्र होइन रुवाबासीनै गरिरहेका छन ।

नेपालले दोहोरो नागरिकतालाई मान्यता नदिएको अवस्थामा अन्य मुलुकको नागरिकता लिईसकेका भूतपूर्व नेपालीहरुले देश भित्रको पार्टीको सदस्यता लिनु र चलखेल गर्नु नेपाली मौजुदा कानुनकै आधारमा पनि दण्डनीय अपराध हो । बन्धुहरुको रोनाधोनाको त्यति बेला सुनुवाई हुन्छ जब नेपालले पनि आफ्नो अहिलेको निर्णयमा पुनर्विचार गर्दै “दोहोरो नागरिकता” लिन पाउने अधिकारको प्रत्याभूति गर्दछ तर हामीले नै उत्सब गरेर अहिले स्वीकार गरिसकेको “राजनैतिक अधिकार बिना” को नयाँ परिभाषाको “गैरआवासीय नागरिकता” लिएर नेपालको दलगत राजनीति गर्छु र गर्न पाउनु पर्छ भन्नु कस्तो ठिमाहा बौद्धिकता हो?

स्वार्थको सिरानमा नेपालकै दलगत राजनैतिक अभिष्ट र सपना सजाएर अन्य मुलुकका नागरिकता लिईसक्नु भएका बन्धुहरु, बहस यही बिन्दु र बुँदाबाट आरम्भ गरौँ न! आफ्नो स्वार्थ या बाध्यताले उताको जन्मसिध्द नेपाली नागरिकता परित्याग गर्दै नयाँ मुलुकको नागरिकता लिंदा हामीले खाएको कसम (ओथ) सम्झनुस त! त्यो अवस्थामा अर्थात् अर्कै देशको नागरिकको हैसियतमा संबिधानत: राजनैतिक अधिकारनै गुमाईसकेको आफु जन्मिएको देश नेपालको पार्टीको सदस्य बन्दै, महासमिति अर्थात् अन्य के के जाती पदको नाममा नेपाल पुगेर प्रतिनिधित्व गर्नु नैतिकताका हिसाबले “कन्फ्लिक्ट अफ इन्ट्रेष्ट”, गैरसंबैधानिक र उपल्लो दण्डनीय अपराध होइन र?