१३ बैशाख २०८१, बिहीबार ११:२३ | 04/25/2024 1:38 PM



“बालकोट टु बालुवाटार” ओलीको चुनौतीपूर्ण यात्रा

२४ आश्विन २०७२, आईतवार १२:४९ मा प्रकाशित

संघीय लोकत्रान्त्रिक गणतन्त्र नेपालको पहिलो सौभाग्यशाली निर्वाचित प्रधानमन्त्रीका हैसियतमा के.पी. शर्मा ओली गरुङ्गो चुनौती र भारी बोकेर बालकोटबाट बालुवाटार जाँदैछन | अहिले राष्ट्रबादी कित्ता र बिरासदको नेतृव मात्र होइन समायोजन गर्ने दायित्व पनि उनमा थपिएको छ भने मुलुकले कोइरालाबाद भनेर दशकौं देखि जानीने कोइराला डाईनेस्टीको राजनैतिक एकाधिकारबाट आजको मितिबाट सम्पूर्ण मुक्ति पाएको छ तथापी जाती र वर्गको हिसाबले आमुल समावेसी अनि प्रगातिशित संयोजन र समायोजन गरेर मुलुकलाई प्रगतिशील र राष्ट्रबादी दुवै धारलाई न्यायसंगतरुपमा अगाडी बढाउनु पर्ने संगिन चुनौतीको सामना गर्न सानो तिनो साहस र त्यागले सम्भव छैन |

एक छत्र पुरुष ब्राह्मणहरुको कार्यकारी हालीमुहाली रहेको एमाले पार्टीमा अन्तरिक आकांक्षीहरुलाई यथोचित लाभ र प्रतिष्ठाको पद दिनु पर्ने दायित्व आफ्नो ठाउंमा छदैछ त्यस बाहेक तेश्रो ठुलो पार्टी एमाओबादी, राष्ट्रवादको सौदाबाजीमा उनलाई साथ दिने कमल थापा, चतुर खेलाडी विजय गच्छेदार सानै परिधिका सहि अन्तिम अवस्थामा ओलीको नजिक आएका डा. बाबुराम भट्टराई पक्षीय नेताहरुलाई पनि उचित संयोजन र समायोजन गरेर चित्त बुझाउनु गर्ने अहम दायित्व उनीमा थपिएको छ |

उनको उखान टुक्काको आक्रामक शैलीबाट आहत बनेका स्थायी प्रतिपक्ष जस्ता देखिने सिमान्तकृत समुदाय र वर्ग अनि मधेसी, जनजाती र दलितलाई यथोचित मलम लगाउनु पर्ने पहिलो अनि अहम दायित्व झन चुनौतीपूर्ण छ | मुलुकलाई अहिले राष्ट्रवादको त्यान्द्रोले भए पनि केहिहदसम्म जोडेको छ तर त्यो जोडाई अस्थायी स्वरुपको भयो भने थप हानिकारक पनि हुन सक्दछ | मुलुक भारतीय दादागिरी र नाकाबन्दीबाट आहत र आक्रान्त बनेको यो जटिल र दुरुह अवस्थामा आफ्नो न्याय र पहिचानको लडाईमा निरन्तर रहेको मधेस र जनजाती समुह र नेतृव पनि अहिले “सुरक्षित अवतरण” को खोजी या बहानामा रहेको देखिन्छ | अब त्यस्तो राजनैतिक परिदृश्यको बहिङ्गम र उपल्लो पहिचान गरेर उनीहरुसंग पुग्न सकियो भने दु:खेको मधेस अनि पिडा र अन्यायमा बाँचेको सिमान्तकृत समुदायले पनि न्याय र सम्पूर्ण उन्मुक्तीको अनुभुती गर्न सक्नेछ | नीतिगत र गुटगत स्वार्थपरक खेलमा थिलिएको अनि बाहुन-क्षेत्रीको पार्टीको ट्याग लागेको पार्टी एमाले र नव-नियुक्त प्रधानमन्त्री ओलीले त्यस्तो बिराट चुनौतीको सामना गर्न सक्लान त?

केहि भनी हाल्नु अहिलेलाई हतारो गर्नु हुने छ | बिश्वको जटिल राजनैतिक ईतिहास र त्यो कालखण्डको निस्पक्ष विश्लेषण गर्ने हो भने हामी यौटा निचोड अनि निस्कर्षमा चाँही हामी पुग्न सक्छौँ कि प्रत्येक राष्ट्रिय बिपत्तिले नयाँ सम्भावनाको ढोका फराकिलो गरि खोली दिन्छ अनि अनपेक्षितरुपमा नयाँ राजनेताको अभ्युदय पनि हुन्छ | अबको यो युग चाहना र चेतनाको राष्ट्रवाद, न्यायपूर्ण संरचना र प्रगतिशीलताको सामुहिक नेतृत्वको जिम्मेवारी के.पी. शर्मा ओलीलाई जुरेको रहेछ भने त्यसलाई हामीले ऋषिमनले स्विकार्नु पर्छ | अहिले हामीलाई तोड्ने होइन जोड्ने नेतृत्व चाहिएको छ | त्यस्तो राष्ट्रिय चाहनाको परिपुर्ती गर्ने सफलता नव-नियुक्त प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई मिलोस मेरो हार्दिक शुभकामना!