७ बैशाख २०८१, शुक्रबार ७:३१ | 04/19/2024 9:46 AM



“ब्लाक लाईभ्स म्याटर” मा रुपान्तरित भएका मार्टिन लुथर किङ्गका सपनाहरु – शैलेश श्रेष्ठ, अमेरिका

१७ जेष्ठ २०७७, शनिबार २०:३३ मा प्रकाशित

अमेरिका बाहिरबाट हेर्दा देखिने जस्तो न्यायिक अनि लोकतान्त्रिक छैन | रंगभेदको संस्थागत जडमा विभेदका अजंग पहाडहरु जताजतै छन | रेसियल जस्टिसको नाममा हुने ईनजस्टिसको पहिलो निशाना प्रारब्धदेखि कालाजाती हुने गरेका छन र त्यसपछि ल्याटिनो अनि अन्य अल्पमत समुदायका आप्रवासीहरु |

म अमेरिका आएकै बर्ष तिर हो क्यारे एक जना अस्वेत आमडू दियालोलाई एनवाईपीडीका प्रहरीले पचासौं पटक गोली हानेर निर्मम हत्या गर्यो | पछि प्रहारीले सफाईमा भन्यो उनले पछाडीको खल्तीबाट निकालेको कालो पर्स बन्दुक जस्तो लाग्यो त्यसैले मैले आत्मरक्षाको लागि गोली प्रहार गरें | प्रहरीलाई मुस्किलले जागिरबाट बर्खास्त गरियो अन्य कुनै ठुला कारवाही भएन |

सन २०१४ मा आफ्नो जीवनयापनको लागि चुरोट बेच्दै हिडेका अर्का अस्वेत एरिक गार्नरलाई स्ट्याटन आईल्याण्डमा न्युयोर्ककै पुलिसले घाँटी थिचेर मार्यो | अन्तिम स्वास लिईरहंदा “आई कान्ट ब्रिद” भनेर पुलिस समक्ष उनले बाँच्ने अन्तिम लालशाका साथ अनुनय बिनय गरिरह्यो अहँ कुनै सुनुवाई भएन | उनको ईहलिला समाप्त भयो | त्यसरी दिनदहाडै मान्छे मार्ने पुलिसलाई मुस्किलले बर्खास्त त गरियो तर कुनै थप सजायका लागि मुद्दा दायर गरिएन | पछि डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय बहसको क्रममा राष्ट्रपतिका उम्मेदवार तथा मेयर बिल दि ब्लाजियोलाई अन्य प्रत्यासीहरुले यही बिषयका औंला ठड्याउँदै प्रश्नहरुले घेराबन्दी गरेपछि त्यसको पुनः छानविन गरेर प्रहरीलाई कारवाही गर्न मेयर बाध्य भयो |

अहिले त्यस्तै प्रारूप र शैलीको अर्को नृसंश घटना मिनियापोलिसमा घटेको छ | अर्का निहत्था अस्वेत जर्ज फ्लोईडलाई एकजना स्वेत पुलिस अफिसरले ८ मिनेट ४६ सेकेन्ड घुँडालेले घाँटी थिचेर चरा मारेजस्तो गरेर मार्यो | त्यसरी क्रुर अनि नृसंश तरिकाले हत्या गर्ने प्रहरी अधिकृतलाई ४ दिनपछि मात्र गिरफ्तार गरियो भने उनका सहयोगी अन्य तीन जना प्रहारीलाई पदीय दायित्वबाट मात्र मुक्त गरियो |

बिरोध र न्यायिक आन्दोलनले राष्ट्रव्यापीरुप लिएपछि अहिले अभियुक्त डेरेक चाभिनलाई थर्ड डिग्री मर्डर र सेकेन्ड डिग्री म्यानस्लटर केस अन्तरगत मुद्दा दायर गरिएको कुरा हेनेपिन काउन्टीमा अटर्नी माईक फ्रीम्यानले प्रेस कन्फेरेन्स मार्फत जानकारी गराएका छन | यदी अन्य सामान्य नागरिकले यो स्तरको प्रमाणिक हत्या गरेको भए सिधै फर्स्ट डिग्री मर्डर केस अन्तरगत मुद्दा दायर हुन्थ्यो | अत्यन्त अन्यायपूर्ण क्रिमिनल जस्तिक सिस्टम र संस्थागत रंगभेद भएको अमेरिकामा घटना भन्दा पनि व्यक्ति र वर्ण हेरेर न्याय निरुपण गरिन्छ |

प्रेस कन्फरेन्सको क्रममा अटर्नी माईक फ्रीम्यानले अमेरिकी क्रिमिनल जस्टिस सिस्टमको एउटा लज्जापूर्ण दुरुह सत्यको उजागर गर्दै भने “हामी यो केसलाई तिब्रतर गतिमा अघि बढाउन सक्षम भएका छौं, सामान्यतया प्रहारीद्वारा भएका यस्ता घटनाहरुको छानविन भएर मुद्दा दायर गर्न नौ महिनादेखि एक बर्षसम लाग्ने गर्दछ |” उनले उद्घाटित गरिदिएको यो यथार्थले अमेरिकाको न्याय प्रणालीको असलीरुपको समेत पटाक्षप भएको छ |

कोभिड-१९ महामारीको पीडाबाट मुस्किलले तंग्रदै गरेको अमेरिका जर्ज फ्लोईडको हत्याले अहिले पीडा र आक्रोश सहित दनदनी बलेको छ भने “ब्लाक लाईभ्स म्याटर” र “नो जस्टिस नो पिस” को न्यायिक आन्दोलन देशै भरि फैलिएको छ | मिनियापोलिसमा भएको शान्तिपूर्ण बिरोध प्रदर्शनहरुमा स्वेत सर्बोच्चताबादी र नियो-नात्जी अतिबादीहरुको घुसपैठ भएको प्रमाणहरु फेला परेको छ | सत्ताधारी भिजिलान्तेहरुले नेटिभ अमेरिकन र अफ्रिकन अमेरिकनहरुको बाहुल्य रहेको साना ब्यापारहरुमा निसाना बनाएर आगजनी गरेको खबर अहिले बाहिर आएको छ र पुलिस प्रशासनका अनुसार आगजनी र लुटपाटको समयमा गिरफ्तार गरिएकाहरु मध्य ८० प्रतिशत बाहिरबाट आएकाहरु छन |

रंगभेद बिरोधी यो न्यायिक आन्दोलनलाई बद्नाम गर्न घुसपैठ भएकोले स्थितिलाई सामान्यीकरण गर्ने मिनियापोलिसको मेयरले आज आठ बजेबाट कर्फ्यु जारी गरेका छन |त्यसै गरि लस एन्जलस, फिलाडेल्फिया, एटलान्टा, कोलम्बस, डेनभर तथा अन्य केही सहरहरुले पनि आज रातीबाट कर्फ्यु जारी गरेका छन | स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन डीसी सहित अन्य सात राज्यमा नेशनल गार्डलाई परिचालन गर्न सम्बन्धित राज्यका गभर्नरले आदेश जारी गरेका छन |

यस्ता पीडादायक राष्ट्रिय बिपतहरुमै पनि चुनाब केन्द्रित राजनैतिक फाईदा लिने बानी परेका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले ट्वीट मार्फत हिँसा भड्काउने र जनतालाई उत्तेजित पार्ने काम निरन्तर गरिरहेका छन | साठीको दशकमा भएको रंगभेद बिरोधि आन्दोलनको बेला काला जातीका आन्दोलनकारीहरुलाई तर्साउन स्वेत पुलिस अफिसरले भन्ने गरेको चर्चित लाईन “व्हेन द लुटिङ्ग स्टार्ट्स, द सुटिङ्ग स्टार्ट्स” लाई उनले आफ्ना ट्वीटर मार्फत प्रक्षापण गरेका छन | पछि उनले आफुलाई यो भनाईको एतिहासिक बिगत र सन्दर्भका बारेमा जानकारी नभएको कुरा रोज गार्डेनमा भेला भएका सम्बाददाताहरुलाई बताए |

अमेरिकी राष्ट्रपतिय निर्वाचनको तिथि-मिति अब धेरै टाढा छैन | कोरोना कहरले ओझेलमा पारेको अमेरिकी निर्वाचन अब यो घटनाले निर्णायकरुपमै अघि बढ्ने निश्चित छ | जसरी ४/५ वटा सुईङ्ग स्टेटलाई राष्ट्रपतिय निर्वाचनको निर्णायक मानिन्छ त्यो भन्दा बढी “ब्लाक भोट” लाई सर्वाधिक निर्णायक ठानिन्छ | सन २००८ र २०१२ मा बराक हुसैन ओबामा ब्लाक भोटकै कारण सहजरुपमा बिजयी भएका थिए भने सन २०१६ को निर्वाचनमा डेमोक्रेटिक पार्टीकि उम्मेदवार हिलारी रोधाम क्लिन्टनले त्यही रफ्तार र प्रतिशतमा ब्लाक भोट सुरक्षित गर्न नसक्दा ब्यापारी ट्रम्पलाई राजनैतिक चिठ्ठा परेको थियो |

यिनै राजनैतिक सौदाबाजी अनि उतारचढाबका कारण मार्टिन लुथर किङ्ग जुनियर, रोसा पार्क र अन्य कैयन नागरिक अधिकार अभियानका हर्ताकर्ता अभियन्ताहरुले सन साठीको दशकमा आरम्भ गरेको यो न्यायिक अभियान अझै मध्यान्तरमै बाटो बिराएर अड्किएको छ |

जर्ज फ्लोईड हत्याको दुर्भाग्यपूर्ण प्रसंग र घटनाकै कारणले भए पनि अबको दिनमा “ब्लाक लाईभ म्याटर्स” को न्यायिक आन्दोलनको परिबेग निर्णायकरुपमा अगाडी जाने सम्भावना भने बढेको छ | सबै कुरोमा नम्बर एक बन्ने र भन्ने बानी परेको अमेरिका आफ्ना नागरिकलाई जेल हाल्ने कुरोमा पनि संसारकै “नम्बर-वन” बनेको छ | करिब २.२ मिलियन अमेरिकीहरु जेल जीवन बिताउन बाध्य भएका छन | फितलो र अन्यायपूर्ण क्रिमिनल जस्टिस सिस्टमका कारण अस्वेतहरुको ठुलो संख्या जेल जीवन बिताउन बाध्य भएका छन |

अस्वेतहरुको बाक्लो आवादी र बस्ति भएको ईलिनिअस राज्यका गभर्नर जेबी प्रित्जकरले गत बर्ष सामान्य गाँजा सेवनको अभियोगमा जेल जीवन बिताउन बाध्य भएका ११ हजारलाई आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै क्षमादान दिएर जेल मुक्त गराएका थिए | अन्य प्रगतिशील अनि उदार राज्यका गभर्नरहरुले पनि क्रिमिनल जस्टिस सिस्टमलाई परिमार्जन गर्न लागि परेका छन | पुर्व उप-राष्ट्रपति तथा राष्ट्रपतिका उम्मेदवार जो बाईडेनको युनिटी टिमले सार्वजनिक गरेका एजेन्डाहरुमा पनि यो बिषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ |

यो दु:खद घटनालाई आसन्न राष्ट्रपतिय निर्वाचनको जोड-घटाउसंग जोडेर समिक्षा गर्ने हो भने कोभिड-१९ महामारीमा संयोजनकारी अभिभावकीय भूमिकामा नितान्त फितलो देखिएको राष्ट्रपति ट्रम्पको लागि यो अर्को झट्का हो जसका कारण उनको राजनैतिक अद्योपतन अवश्यम्भावी छ | यसै पनि अमेरिकी निर्वाचनमा “ब्लाक भोट” लाई निर्णायक मानिन्छ | परम्परागत लोकप्रियताका आधारमा हेर्ने हो भने पनि अस्वेत समुदायका ८६ प्रतिशत मतदाताले यसै पनि डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाईडेनलाई समर्थन गरेको स्थिति छ | पछिल्लो सर्वेक्षणलाई आधार मान्ने हो भने राष्ट्रपति ट्रम्पलाई सात प्रतिशत ब्लाक भोटर्सहरुको मात्र समर्थन छ |

सन २०१६ को डेमोक्रेटिक प्राईमरीमा सुपर डेलिगेट्सहरुको कारण सिनेटर बर्नी स्यान्डर्सलाई हराएको बदलामा हिलारी क्लिन्टनलाई मतदान नगरी तटस्थ बसेका ठुलो संख्यामा रहेको मतदाताले यसपटक जो बाईडेनलाई मतदान गर्नेछन | उनका पुर्व बोस राष्ट्रपति बराक ओबामाको खुल्ला ईन्डोर्समेन्टले पहिलेको निर्वाचनमा किनारामा बसेको अस्वेत मतदाताहरु यसपाली “ब्लाक लाईभ म्याटर्स” को युगान्तकारी अभियानमा जोडिएर न्यायिक अमेरिका बनाउने अभियानका एकठ्ठा हुने राजनैतिक समीकरणको आँकलन गर्न अब झन सजिलो भएको छ |

जागेको जनतालाई कोही कसैले केही गरि रोक्न सक्दैन त्यसैले “नो जस्टिस नो पिस” को गगनभेदी नाराका साथ अमेरिकाभरि गुन्जिएको यो न्यायिक अभियानले नयाँ गति लिने पक्का छ | ढिलै भएपनि अन्तत: मार्टिन लुथर किङ्ग जुनियर र रोजा पार्कहरुका अपुरा अनि अधुरा न्यायिक सपनाहरु “ब्लाक लाईभ्स म्याटर” मा रुपान्तरित हुँदै अगाडी बढी रहेको छ |

तस्विरहरु: सीएनएनबाट साभार