१३ बैशाख २०८१, बिहीबार ५:०० | 04/25/2024 7:15 PM



आसन्न प्राईमरी र ब्लुमबर्ग फ्याक्टर- शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

१९ माघ २०७६, आईतवार ०२:२६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड जे. ट्रम्प उपर लगाईएको महाअभियोगले अलिकति ओझेलमा परेको डेमोक्रेटिक पार्टीको प्राईमरी अहिले अमेरिकी राजनैतिक वृत्तको चर्चाको केन्द्रमा आईपुगेको छ । सबैको आँखा भोली सोमबार, फेब्रुअरी ३ तारिख हुने आयोवा ककसमा परेको छ । ककसको चर्चासंगै न्युयोर्क सहरका पुर्व मेयर माईकल ब्लुमबर्ग चर्चाको पनि अप्रात्यसितरुपमा चुलिएको छ ।

न्युयोर्क सहरका पुर्व मेयर बिलियनर माईकल ब्लुमबर्ग पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै एकजना ब्यापारी हुन तर उनीसंग पैसा मात्र छैन ब्यबस्थापकीय क्षमता पनि छ । ट्रम्प ब्लुमबर्गका अजात वर्गीय सत्रु हुन त्यसैले उनी रिपब्लिकनहरुलाई हराउनको लागि बिगत चार बर्षदेखि “गन कन्ट्रोल” गर्ने लेजिसलेटिभ एड्भोकेसी र ग्रासरुट मुभमेन्ट मार्फत भित्र-भित्रै लागेका थिए ।

पछिलो रेकर्ड अनुसार उनले त्यस्ता अभियानहरुलाई सघाउने शिर्षक र शर्तमा अहिलेसम्ममा ८०० मिलियन डलर डेमोक्रेटिक पार्टीका बिभिन्न निकायहरुलाई चन्दा दिईसकेका छन । अन्य थुप्रै बिषय र मुद्दाहरुमा राम्रो काम गरेका ब्लुमबर्ग उनको कार्यकालमा लागु गरेका रंगभेदी नियतले लागु गरिएको “स्टप एण्ड फ्रिस्क” विनियमका कारण अश्वेतहरुको निशानामा पर्ने गरेका छन । कार्यकाल भरि र त्यसपछिका यत्तिका बर्षहरुसम्म त्यो लागु गर्नु आफ्नो भुल थियो भनि कहिल्यै स्विकार गर्न नमानेका जिध्दी स्वभावका ब्लुमबर्गले राष्ट्रपतीय दौडमा सामेल हुने घोषणा गर्ना साथ आफुले लागु गरेको त्यो नीति प्रति “रिग्रेट” गरेका छन ।

अनेकौं पटक सार्वजनिक समारोह र मिडियाहरुलाई आफु सन २०२० को निर्वाचनमा सामेल नहुने घोषणा गरेका ब्लुमबर्गले अर्ली भोटिंग हुने आयोवा, न्युहेम्पसायर, नभादा र साउथ क्यरोनिला राज्यको ककस र प्राईमरी स्किप गर्ने गरि आफ्नो उम्मेदवारी घोषणा गर्नुलाई डेमोक्रेट्स र बिशेष गरेर डेमोक्रेटिक पार्टीको प्रोग्रेसिभ ब्लकले शंकाको दृष्टीले हेरेका छन ।
Qualified Candidates
मार्च ३ तारिख का दिन “सुपर-ट्युजडे” अन्तर्गत १७ राज्यमा एकै दिन हुने सम्पन्न हुने प्राईमरीहरुमा मात्र ब्लुमबर्गको नाम सामेल हुनेछ । पुँजीबादी अमेरिकाको निर्वाचनमा “द्रब्य” ले साह्रै ठुलो अर्थ राख्दछ । अघिल्लो महिनासम्म कहीं कतै चर्चामा नभएको ब्लुमबर्ग अहिले गरिएका राष्ट्रिय सर्वेक्षणहरुमा १० प्रतिशत पोईन्ट प्राप्त गर्न सफल भएका छन भने जीवनभरी डेमोक्रेटिक पार्टीको राजनीति गरेका कोरी बुकर, कमला ह्यारिस, हुलियन क्यास्ट्रो जस्ता उदियमान प्रगतिशील उम्मेदवारहरु दौडबाट बाहिरिन बाध्य भएका छन ।

राष्ट्रिय सर्वेक्षणहरुमा ब्लुमबर्गले १० प्रतिशत पोईन्ट प्राप्त गरेकै आधारमा यही महिनाको १९ तारिख हुने अर्को डेमोक्रेटिक डिबेटमा उनलाई सामेल गराउने सम्भावना बढेपछि डेमोक्रेटिक पार्टी संस्थापन अहिले आलोचित बनेका छन । अमेरिकी निर्वाचनमा “मनी फ्याक्टर” कति शक्तिशाली छ भन्ने कुरा डेमोक्रेटिक पार्टीको कुनै तह अनि निकायमा बसेर कहिल्यै काम नगरेका टम स्टेयर र माईकल ब्लुमबर्गको द्रब्यकेन्द्रित रजगजले सफेद पुष्टी गरेको छ । यही दुरुह सत्य र नियतीलाई स्विकार गर्दै न्युयोर्क राज्यकि उदयीमान कांग्रेसयुमेन अलेकसान्द्रिया ओकासियो-कोर्टेजले बारम्बार भन्ने गरेकी छिन “अमेरिकाको यही दुईदलीय अधिनायकबादकै कारण त म र पुर्व उप-राष्ट्रपति जो बाईडेन एउटै पार्टीमा बस्न बाध्य भएका छौं ।”

लोकतन्त्र र स्वतन्त्रता स्थापनाको तथानाम बहाना गरेर अन्य स्वतन्त्र र स्वाधीन राष्ट्रहरुमा बलात आक्रमण गर्दै “रिजिम चेन्ज” गर्ने अमेरिकी युध्द उन्मादी शैली प्रति घोर बिमति राख्दै राष्ट्रपतीय निर्वाचनमा होमिएकी तुलसी गाबर्डले डेमोक्रेटिक नेशनल कमिटीको अन्यायपूर्ण “थ्रेसहोल्ड” हरुको बिरोध गरेकी छिन । उनलाई रोक्नको लागि अमेरिकी पुरातानिक मोर्चाका थुप्रै यथास्थितिबादी अनुदार डेमोक्रेट्सहरु आरम्भदेखि नै क्रियाशील भएका थिए त्यसको पछिल्लो कडीकारुपमा राष्ट्रपतिका पुर्व उम्मेदवार हिलारी क्लिन्टन खुलेरै अगाडी आईन ।

उनले कांग्रेसयुमन गाबर्डलाई “पुटिनको सम्पत्ति” (पुटिन्स एसेट्स) भन्ने आरोप सार्वजनिकरुपमै लगाईन । हिलारी क्लिन्टन र संस्थापनको यो प्रहारले आहत भएकी गाबर्डले हिलारी क्लिन्टन उपर ५० मिलियन डलरको क्षेतिपुर्तीको माग गर्दै मुद्दा दायर गरेकी छिन ।

कहिल्यै कतै पार्टीका कुनै स्तर र निकायहरुमा कामै नगरेका अर्का धनाढ्य बिलियनर टम स्टेयर डेमोक्रेटिक पार्टी मातहतकै राष्ट्रपतीय बहसमा सामेल हुन सफल भएका छन । पछिलो आंकडा अनुसार पुर्व मेयर माईकल ब्लुमबर्गले डिजिटल र परम्परागत मिडिया बिज्ञापनमा मात्र १८८ मिलियन खर्च गरिसकेका छन भने दोश्रो धेरै खर्च गर्नेमा सिनेटर बर्नी स्यान्डर्स छन | उनले करिब ५० मिलियन डलर खर्च गरिसकेका छन । साना चन्दादाताहरु उनका भरोसा हुन पछिलो रेकर्ड अनुसार करिब ९२० मिलियन अमेरिकीहरुले उनलाई चन्दा दिईसकेका छन ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पर्सी सम्पन्न हुने आयोवा ककसलाई हरेक किसिमले अर्थपूर्ण मानिन्छ । पछिल्लो सर्वेक्षण अनुसार अहिले सिनेटर बर्नी स्यान्डर्सको स्थिति बलियो अनि मजबुत हुँदै गएको छ भने दोश्रोमा पुर्व उप-राष्ट्रपति जो बाईडेन छन । राष्ट्रिय सर्वेक्षणहरुका अनुसार जो बाईडेन र बर्नी स्यान्डर्स बिच तिब्र प्रतिष्पर्धा रहेको छ । उनको बोलीलाई बिश्वास गर्ने हो भने राष्ट्रिय टेलिभिजनहरुसंगको अन्तरवार्तामा माईकल ब्लुमबर्गले आफु डेमोक्रेटिक पार्टी भित्र फुट या बिभाजन ल्याउनका लागि होइन डोनाल्ड ट्रम्पलाई मिलेर पराजित गर्नको लागि राष्ट्रपतीय निर्वाचनको मैदानमा आएको बताएर डेमोक्रेट्सहरुको आम चिन्तालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन ।

बिशेष गरि डेमोक्रेटिक प्राईमरीमा ईन्डोर्समेन्टले ठुलो अर्थ राख्दछ जसले आ-आफ्नो बैचारिक कित्ताको पक्षपोषण गर्ने गर्दछ । अमेरिकामा ठुला मिडियाहरुको ईन्डोर्समेन्टले आम हलचल ल्याउने गर्दछ । त्यसैले न्युयोर्क टाईम्स, वासिङ्गटन पोष्ट जस्ता ठुला उदार अनि प्रगतिशील मिडियाहरुको ईन्डोर्समेन्ट लिन उम्मेदवारहरु मरिहत्ते गर्छन । आयोवा राज्यमा भोली हुने पहिलो ककसमा आयोवाकै सर्वाधिक ठुलो मिडिया डि म्वाईन रजिस्टर र न्युयोर्क टाईम्सले प्रगतिशील उम्मेदवार सिनेटर एलिजाबेथ वारेनलाई ईन्डोर्स गरेका छन भने अधिकांश ठुला अनि शक्तिशाली लेबर युनियनहरुले सिनेटर बर्नी सान्डर्सलाई ईन्डोर्स मात्र गरेका छैन बरु उनको पक्षमा खुलेरै लागेका छन ।

अनायास अनि अप्रत्यासितरुपमा प्राईमरी दौडमा सामेल भएका माईकल ब्लुमबर्गले प्राईमरीमा जसले जिते पनि ट्रम्पलाई पराजित गर्नको लागि आफ्नो निजी श्रोत र साधन अहिलेकै रफ्तारमा निरन्तर लगानी गर्ने बचनबध्दता समेत उनले व्यक्त गरेका छन । उनलाई शंका अनि संशयको नजरले हेर्दै एकोहोरोरुपमा बिरोध गरिरहने प्रगतिशील डेमोक्रेट्सहरुले बुझ्नै पर्ने यथार्थ के पनि हो भने सन २०१८ को मध्यावधिमा डेमोक्रेटिक पार्टीको बहुमत तल्लो सदनमा स्थापित गराउनमा उनको आईआरए (नेशनल राईफल एशोसियसन) बिरोधि मिडिया क्याम्पेनको ठुलो योगदान छ ।

उदार अनि प्रगतिशील डेमोक्रेट्सहरुको अवचेतन मनमा अझै एउटा संशय र आशंकाले घर जमाएर बसेको छ त्यो हो बर्नी स्यान्डर्स अन्तत: डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने स्थित भएमा ब्लुमबर्गले अहिले भने जस्तो गरि उनलाई सहयोग गर्दैनन । “के प्राईमरीमा बर्नी स्यान्डर्सले जिते पनि तपाई उनको पक्षमा खुलेर लग्नु हुन्छ त? “भनेर पोलिटिक्सनेशनका प्रस्तोता एल सार्पटनले आयोवा टाउन हलमा सोधेको समसामयिक प्रश्नको जवाफमा ब्लुमबर्ग भने “म जनमतको उच्च सम्मान र कदर गर्दै निश्चितरुपमा बर्नी स्यान्डर्सको पक्षमा लाग्ने छु किनकी हाम्रो साझा एजेन्डा र अभियान भनेको अतिबादी डोनाल्ड जे. ट्रम्पको पन्जा र कब्जाबाट हाम्रो उदार अनि सम्भावनायुक्त अमेरिकालाई कुनै पनि मुल्यमा मुक्त गर्नु हो।”