७ बैशाख २०८१, शुक्रबार १२:१४ | 04/19/2024 2:29 AM



मध्यावधि निर्वाचनको सरगर्मी बढ्यो क्यानडामा – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

५ भाद्र २०७८, शनिबार ००:५१ मा प्रकाशित

प्रधानमन्त्री जस्टिन ट्रुडोले अचानक मध्यावधि निर्वाचनको घोषणा गरेपछि क्यानडाको समकालीन राजनीतिमा को बढी प्रगतिशील र जनपक्षीय बन्ने र भन्ने होडबाजी अहिले तिब्र रफ्तारमा अगाडी बढेको छ जस्टिन ट्रुडोको सत्तारुढ लिबरल पार्टी र जगमीत सिंहको न्यु डेमोक्रेटिक पार्टी बीच। हाउस अफ कमन्सको कुल ३३८ सिटमा १५५ मात्र सिट हाँसिल गरेर अल्पमत सरकार हाँकिरहेको प्रधानमन्त्री ट्रुडोले कोरोना महामारीको बेला उनको सरकारले गरेका जनप्रिय लोक कल्याणकारी कामहरुका कारण उनको पार्टीले बहुमतको सरकार पुनः संचालन गर्न जनताबाट अनुमोदन पाउने कुरोमा लिबरलहरु आशाबादी देखिएका छन। तर एनडीपीका नेता जगमीत सिंह भने बेरोजगारी भत्ता र कर्मचारीहरुले अहिले खाईपाई आएका पेड सिक डेज सुबिधाहरु आफ्नो पार्टीको निरन्तर दवावको कारणले प्राप्त भएको कुरा बताई रहेका छन।

अघिल्लो हप्ता संघीय निर्वाचन घोषणा भए यता जस्टिन ट्रुडोको सत्तारुढ पार्टीले एकपछि अर्को गर्दै क्यानेडाली जनताहरुका लागि नयाँ नयाँ सुबिधा र प्रस्तावहरु ल्याईरहेका छन। अघिल्लो हप्ता मात्र ट्रुडो सरकारले जुलाई ३०, १९४७ अघि जन्मिएका क्यानेडाली नागरिकहरुलाई एक पटक मात्र पाईने बृध्दभत्ता ५०० क्यानेडाली डलर उपलब्ध गराउने घोषणा गरिसकेको छ भने आज मात्र एक समारोहमा प्रधानमन्त्री ट्रुडोले आफ्नो पार्टीले बहुमतको सरकार बनाउन सफल भएमा संघीय कर्मचारीहरुलाई प्रति बर्ष दस दिन अनिवार्य बिरामी बिदा उपलब्ध गर्ने प्रस्ताब हाउस अफ कमन्समा पेश गर्ने घोषणा गरेका छन। त्यसका अतिरिक्त जस्टिन ट्रुडो विशिष्ट चाईल्ड केयर र सिनियर सिटिजन्सलाई थप सुबिधाहरुको नयाँ पोलिटिकल प्याकेज लिएर चुनावी मैदानमा हिड्न थालेका छन।

आफै सत्तासिन रहेकै अवस्थामा पनि ट्रुडोका भनाईहरु प्रतिपक्षी नेताको जस्तो लाग्दछ। पोपुलिष्ट एजेन्डा प्रतिको उनको मोह निरन्तर छ तर बुझी नसक्नुको कुरो चाँही जनमुखी काम गर्न उनलाई र उनको लिबरल पार्टीलाई कसले रोक्यो? उनले चाहेको भए स्वास्थ, शिक्षा र अन्य कैयन प्रगतिशील एजेन्डाहरुमा एनडीपीको साथ अनि समर्थन लिन सक्थे त्यस्तो अवस्थामा हाउस अफ कमन्समा ११९ सिट मात्र भएको दक्षिणपन्थी पुरातनबादी पार्टी सीपीसीले चाहेर पनि रोक्न सक्दैनथे। क्युबेक केन्द्रित बीक्युको हैसियत पनि संघीय राज्य संचालनमा यसै पनि निर्णायक छँदै छैन। २४ सिट मात्र रहेको जगमीत सिंह एनडीपीको हैसियत सहकर्मी प्रतिपक्षीको जस्तो रहने गरेको छ।

अन्य सामाजिक मुद्दाहरुमा औसत काम गर्न सक्षम भएको ट्रुडो अल्पमतको सरकारलाई पछिल्लो समयमा आवासीय बिद्यालयहरुमा फेला परेको आदिबासी बिद्यार्थीहरुको नरसंहारको घटनाले राजनैतिकरुपमा कलंक लगाई दिएको छ। क्यानडाका आदिबासी अभियन्ताहरुले यो घटनालाई “सांस्कृतिक नरसंहार” भनेका छन र यसको सत्यतथ्य पत्तो लगाएर अभियुक्तहरुलाई कानुनको अधिनमा ल्याउन निरन्तर माग गरिरहेका छन।

पछिल्लो सर्वेक्षण अनुसार लिबरल पार्टीको स्थिति जस्टिन ट्रुडो र अन्य नेताहरुले आंकलन गरेजस्तो छैन। कन्जरभेटिभ पार्टी पहिले भन्दा पनि खुम्चिन सक्ने सम्भावना राजनैतिक समिक्षकहरुले गरिरहेका छन भने नेताका रुपमा जगमीत सिंहको लोकप्रियता बढेपनि उनको पार्टी सन् २०११ को स्थितिमा पुगिहाल्ने कुनै सम्भावना छैन। लोकप्रियताको हिसाबले क्यानडालाई नेतृत्व गर्नको लागि अझै जस्टिन ट्रुडो नै सबै सर्वेक्षणहरुमा अग्र पंक्तिमा देखिएका छन भने त्यसपछि कन्जरभेटिभ पार्टीका नेता एरिन ओटुल।

क्यानडामा भर्खर घोषणा गरिएको मध्यावधि निर्वाचनको सन्दर्भलाई जोडेर नेपालका केही ओली पक्षीय नेता र राजनीतिक समिक्षकहरुले “आफूखुसी मध्यावधिको घोषणा गर्ने जस्टिन ट्रुडोलाई चाँही किन प्रतिगमनकारी नभनिएको त?” भनेर सामाजिक संजालमा प्रश्न उठाउने थालेका छन। तर नेपालको नेकपा एमाले र क्यानडाको लिबरल पार्टीको राजनैतिक यथार्थ र अभीष्टहरु फरक छन। ट्रुडोको लिबरल पार्टी मध्यावधि निर्वाचानका लागि एकठ्ठा छन किनकी उनीहरुको पोलिटिकल क्यालकुलेसनमा लिबरल पार्टीले मध्यावधि निर्वाचनमा बहुमतको सरकारका लागि आवश्यक १७० सिट ल्याउने अहिले अधिक सम्भावना छ तर नेपालमा ओलीको बिकल्पमा बहुमतको अरु खाले गठबन्धन सरकार बन्ने सम्भावना थियो जति बेला ओलीले बलात संसद बिघटनको घोषणा गरे र त्यसको व्यापक बिरोध पार्टी भित्रबाटै भएको थियो।

क्यानडाको हाउस अफ कमन्सको ३३८ सिट संख्याको लागि अहिले घोषणा गरिएको मध्यावधि निर्वाचन आगामी सेप्टेम्बर महिनाको बीस तारिखका दिन हुनेछ।