११ बैशाख २०८१, मंगलवार १२:०९ | 04/23/2024 2:24 AM



मलाई मन र मुटुमा सजाउने “नारीहरु” – हरिहर दाहाल

८ जेष्ठ २०७७, बिहीबार १२:५६ मा प्रकाशित

आमा: दिनभरि काम गरेर लखतरान थाक्नु भएकि मेरी आमा मस्त निद्रामा सुतिरहेको बेला पनि मलाई आफ्नो मायाले सारीको फेरोमै बाँध्नु हुन्थ्यो । खाना अपच भएर मेरो पेट कटक्क दुख्थ्यो, उ बेला आजकलको जस्तो ट्वाईलेट घर भित्र हुँदैनथ्यो, आमालाई कोट्याउथें। थकान अनि निद्रा फालेर मेरी आमा जुरुक्क उठ्दै खाद्य-बिसर्जन गर्न मलाई खरबारीमा लानुहुन्थ्यो। म आमाको सारिको फेरो बलियो गरि समातेर त्यो बिसर्जन महायज्ञमा सरिक हुन्थें। मेरो घाँसको भारीदेखि गाँसको भारीसम्मै मेरी आमाले नै भरिदिनु हुन्थ्यो ।

नेहाको माया बाबा हरिहर दाहाललाई (“मेलो पुन्ते पापा” भन्दै नेहा दाहाल)

श्रीमती: अहिले घरभित्र आधुनिक ट्वाईलेट छ । पेट कटक्क दुख्दा नेहाकि आमाको निद्रा नबिथोलियोस भनि म बिरालोचालमा बिस्तारै ओच्छ्यानबाट निस्कन्छु। तथापि म उठेको उनले थाहा पाईहाल्छिन । श्रीमानको सरोकार अनि ख्यालमा रमाउने बानी परेकी मेरी श्रीमती प्रेमील स्वरमा मेरो कान नजिक आएर प्रश्न गर्छिन “पातलो गयो कि सारो”?

छोरी : छोरी २२ बर्षको भईन । उनि मायालु मात्र छैनन जिम्मेबार अनि परिश्रमी पनि छिन । मैले सानो छदाँ सधैंभरि मेरा बासंग पैसो मागें तर मेरी छोरी पैसा चाँहिदा म संग “पैसा” होइन “काम” माग्छिन। उनको स्वाबलम्बन देखेर मेरो शरीर भरि अजीबको रक्तसंचार हुन्छ । छोराछोरीहरु जीवनका सहारा मात्र होइनन मुटुका घाउ हुन । मेरी छोरीले अहिलेसम्म मेरो मुटु दु:खाएकी छैनन। पढाई र कामलाई संगसंगै लगेकी छन। कहिले काँही लाडे पल्टिएर मेरो गाला सुम्सुम्याउदै भन्छिन “मेलो पुन्ते पापा”| आहा! अनुभूत गर्न जाने यहीं स्वर्ग छ, अलौकिक स्वर्गिय अनुभुति हुन्छ मेरी छोरीको मायालु स्पर्शहरुले!

सासुआमा: मेरी सासुआमाको अषिम माया र सम्मानले पुरिएको अनि थलिएको अनुभब गर्छु म । आफ्नी छोरीलाई मायावी शैलीमा खबरदारी आदेश गर्दै “ज्वाईको राम्रो ख्याल गर्नु है” भन्दै सदैब ज्वाईलाई “देबता” देख्ने मेरी सासुआमाको अभिभावकीय आत्मिय मायाले म कहिलेकाँही अल्मलिन्छु, पलापिन्छु अनि मातिन्छु ।

दिदी-बैनी र भाउजुहरु: उ बेला दिदीले लिटो खुवाएरै अहिलेको नेहाको “पुकुले पुन्ते पापा” बनाउनु भो । मेरी भाउजुहरुले दाईहरुको नजरबाट लुकाएर साँचेर जोहो गरेर राखेको दाम खाजा खर्चकोलागि दिनु भो, दिदी-बैनीहरुले मेरो सु-स्वास्थ्य र लामो आयुका लागि यमराजको बाटो छेक्नु भो । मेरी दिदी र भाउजुहरुले मलाई माया दिने क्रमका मेरी आमासंगै प्रतिस्पर्धा गर्नुभो त्यसैले आमा सरह हुनुहुन्छ मेरी दिदी र आदरणीय मेरी भाउजुहरु!

अरु सबै नारीहरु: नाता, ब्यबहार र साईनोले गाँसिएका अथवा नगाँसिएका अरु धेरै नारीहरु हुनुहुन्छ जो मेरो जीबन र दैनन्दिनीहरुमा कुनै न कुनै रुपमा सामेल हुनुभएको छ बिगतदेखि वर्तमानसम्म । त्यसरी त्यस्तो मायाँ अनि स्नेह दिनुहुने स्नेह र प्रेमका प्रतिमूर्ति सप्पै सप्पै नारीहरु मेरा लागि प्रिय मात्र होइन प्रेरणा पनि हुनुभएको छ।
त्यस्तो निस्वार्थ माया गरेर मलाई सग्लो र अग्लो कर्मबीर “हरी” बनाउने मेरा जीबनका आरोह-अबरोहहरुमा जोडिनु भएका परिवार भित्रका स्नेह र ममताका धरोहर नारीहरु र बाँकी संसारका सबै नारीहरुमा “नारी दिबस” को अवसरमा स-धन्यबाद हार्दिक शुभकामना व्यक्त गर्दछु ।