४ बैशाख २०८१, मंगलवार १२:५५ | 04/16/2024 3:10 AM



मास्क पोलिटिक्सले आक्रान्त अमेरिका – शैलेश श्रेष्ठ, अमेरिका

१५ श्रावण २०७७, बिहीबार १६:३० मा प्रकाशित

तस्विरमा: जुन २० तारिख ओक्लाहोमा राज्यको तुल्सामा सम्पन्न भएको ट्रम्प चुनावी सभामा बिना मास्क सहभागी भएका स्वर्गीय हर्मन केन।

अमेरिकामा “मास्क” पोलिटिक्स उत्कर्षमा पुगेको छ। मास्क बिरोधि राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले कोरोना भाईरसका कारण एक लाख पचास हजार अमेरिकीहरुले ज्यान गुमाईसकेपछि बल्ल बल्ल जन दवाबको कारण दुई साता अघिबाट मास्क लगाउन थालेका छन। त्यो पनि उनले स्वेच्छाले लगाएका होइनन।

त्यो भन्दा अर्को सहतमा यही अमेरिकामा एक्काईसौं शताब्दीका लज्जाहरु निरन्तर सार्वजनिक भईनै रहेका छन। रेड स्टेटका धार्मिक कट्टरपन्थ बेसबाट चुनिएका रिपब्लिकनहरु मास्क बिरोधि अर्थात् बिज्ञान बिरोधि देखिएका छन भने उदार र प्रगतिशील राज्य र सहरबाट चुनिएकाहरु बिधि-बिधान र बिज्ञानसम्मत बिचारका पक्षपोषक देखिएका छन। वर्ग र वर्णको कारण जस्तै आजकल “मास्क” को कारण संयुक्त राज्य अमेरिका बिभाजित छ।

त्यस्ता दृष्ट र शृंखलाहरु बिगत चार महिनादेखि निरन्तर मन्चन भईनै रहेका छन। त्यसको प्रमाणिक पुष्टी न्युयोर्क, न्युजर्सी र कनेटिकट राज्यका डेमोक्रेटिक गभर्नरहरुको कामले गरेको छ भने प्रारम्भदेखि नै मास्क र लकडाउनको बिपक्षमा रहेर ट्रम्प पोलिटिकल लाईनको पक्षपोषण गर्दै जवरजस्त बन्द-ब्यापार खोल्न कस्सिने फ्लोरिडा, टेक्सास र जर्जिया राज्यका रिपब्लिकन गभर्नरहरुको कारण अहिले ति राज्यहरुमा महामारी फैलिएको छ।

तस्विरमा: गत मंगलबार क्यापिटल हिलमा भएको नागरिक सुनुवाईमा बिना मास्क देखा परेका कंग्रेसम्यान गोमेर्ट

सिडीसीका पुर्व प्रमुखहरु तथा चिकित्सा बिज्ञानका बिज्ञहरुका अनुसार यदि राष्ट्रपति ट्रम्पले कोरोना भाईरस संक्रमणको प्रारम्भमै मास्क प्रयोग गर्न आह्वान मात्र गरेको भए कोरोना भाईरसबाट मृत्यु हुने अमेरिकीहरुको संख्या आधा घट्न थियो। तर उनले आफ्नै प्रशासन मातहतको सिडीसी, डाक्टर फाउची र बुर्कको सल्लाहको समेत सार्वजनिक अबज्ञा गर्दै अनेकौं खाले अनाधिकृत औषधि र बिषादीको सेवन गर्न अमेरिकी जनतालाई उक्साई रहे। राष्ट्रपति ट्रम्पको लागि कोरोना भाईरस ठट्टा र राजनीति गर्ने माध्यम र साधन बनि रह्यो।

आफुले उचित समायोजन र ब्यबस्थापन गर्न नसकेपछि दोष जति अरुलाई थोपर्न माहिर राष्ट्रपतिले कहिले पुर्व राष्ट्रपति बराक ओबामा र उनको प्रशासनलाई कटाक्ष गरिरहे भने अधिकांश समय “कुङ्ग्फ़ु भाईरस”, “उहान भाईरस” र “चाईना भाईरस” भन्दै ठट्टामै महिनौं बिताए। संगै महामारी सुरु भएका कैयन राष्ट्रहरुले असल ब्यबस्थापनका कारण महामारी निर्मुलको नजिक पुगिरहेको बेला अमेरिकामा संक्रमण बढ्दो अनि फैलँदो छ।

त्यतिले नपुगेर कोरोना भाईरस उर्कर्षमै रहेको बेला ईनडोर स्टेडियमहरुमा बिना मास्कका खुल्ला चुनावी सभाहरु आयोजना गरि रहे। गत जुन २० तारिखका दिन ओक्लोहोमा राज्यको तुल्सामा आयोजना गरिएको र्यालीको आयोजानामा खटिएका छ जना चुनावी क्याम्पेन स्टाफलाई तत्काल कोरोना भाईरस पोजेटिभ देखिएको थियो भने त्यही र्यालीमा मास्क नलगाई उपस्थित भएका रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बनेका हेर्मन केनको कोरोना भाईरसका कारण आज दु:खद निधन भएको छ।

हरेक कंग्रेसनल सभा-समारोहहरु र अन्तरिक भेटघाटहरुमा समेत मास्क लगाउन अटेर गर्ने टेक्सासका रिपब्लिकन कांग्रेसम्यान लुई गोमेर्टको पनि पोजेटिभ रिपोर्ट आएको छ। त्यस्तो बिज्ञान-सम्मत रिपोर्ट आई सक्दा पनि अझै उनी मास्क बिरोधि नै देखिएका छन। मास्क लगाउँदा मास्क भित्र जीवाणु संक्रमित हुने सम्भवना हुने गर्दछ भन्दै अझै उनी मास्क बिरोधि अतिबाद निरन्तर सम्प्रेषण गरिरहेका छन। कंग्रेसम्यान गोमेर्ट अफिसका कर्मचारीहरुका अनुसार उनी दस दिनको आईसोलेसनमा बसेका छन। अमेरिकी तल्लो सदन कंग्रेसकि सभामुख न्यान्सी पलोसीले सदन परिसरमा मास्क अनिवार्य भएको घोषणा गरिसकेकी छिन।

संसारभरको ट्रेन्ड हेर्दा पनि एउटा सफेद सत्य स्पष्टताका साथ यो महामारीको क्रममा देखिएको छ त्यो के हो भने जुन जुन देश र सरकार प्रमुखहरुले बिज्ञानसम्मत प्रो-एक्टिभ अप्रोचहरु गरे त्यो देशले उल्लेख्य उपलब्धि हाँसिल गरेका छन तर रुढीबाद र धर्मको आड लिएर महामारीको नजरअन्दाज गर्ने राष्ट्रहरुले अधिक क्षेति व्यहोर्नु परेको छ उदाहरणको लागि अमेरिका र ब्राजिललाई लिन सकिन्छ।