८ बैशाख २०८१, शनिबार ७:५८ | 04/19/2024 10:13 PM



मेरो देशमा इमानको खडेरी लागेको छैन

१८ फाल्गुन २०७१, सोमबार १४:५६ मा प्रकाशित

Thumbnail for 166

मेरो देशमा इमानको खडेरी लागेको छैन तर यसो भन्दै गर्दा राजनैतिक बेइमानीहरु बढेको चाँही सत्य हो| अहिले देखा परेको राजनैतिक अन्योल र अत्यन्त कष्टकर लामो संक्रमणकाल त्यसैको परिणती हो| कम्लारी प्रथाको उन्मुलनको अधिकारकर्म हुँदै अघिल्लो पटक सम्मानित सभासद बनेकी शान्ता चौधरी अहिले यो क्षेण हाम्रो इमानको धरोहर बनेर अग्लो उभिएकी छिन उनको इमानमा हामी गर्ब बोलिहेका छौं| क्यान्सर रोगबाट पिडित चौधरीले त्यो रोगलाई पनि निरन्तर जितिरहेकी छन|

प्रसंग उपचार खर्चको हो, अघिल्लो सरकारले पनि उनलाई न्युनतम उपचार खर्च उपलब्ध गराएको थियो| अहिले पछिल्लो समय सरकारले उपलब्ध गराएको पाँच लाख खर्च आवश्यक नपर्ने भएकोले उनले राज्यलाई फिर्ता दिने निर्णय सार्वजनिक गरेको कुरा नेपालमा प्रमुख अखबारहरुले उच्च प्राथमिकताका साथ छापेको छ|

म पनि उनको फेसबुके साथी रहेछु, उनको गर्विलो स्टाटस पढेर अहिले मेरो मन गर्बले ढकक फुलेको छ भने मैले मेरै आँखाले देखेका र जानेका ठुला पार्टीका ठुला नेता र उपचार टोलीमा आफ्ना आसेपासे परिवारजन अमेरिका ल्याएर गरिब राज्य कोषबाट एक पटकको यात्रामा करोडौं लुट्ने र दोहन गर्ने लालचीहरु प्रति घृणा होइन दया पो लागेको छ|

आफ्ना शुभचिन्तकलाई शान्ता चौधरी लेख्छन: “त्यसैले अहिलेको रकम सबै खर्च नभएकोले र अब स्वास्थ्यमा पनि धेरै सुधार भएकोले यो रकम फिर्ता गर्न खोजेको हुँ। मलाई धन्यवाद दिईरहनु पर्दैन। कोही सिटामोलको अभावमा मर्नु पर्ने र कसैले दोहोर्‍याएर सहयोग लिइरहने अवस्थामा मैले रकम फिर्ता गर्नु कुनै महान काम नभएकोले कृपया मलाई धन्यवाद नदिनुहोला| मैले कुनै महान काम गरेको हैन|”

इमान हुनेहरु मात्र यस्तो गर्विलो जीवन जिउन सक्छन तस्विर: शान्ता चौधरीको फेसबुकबाट
इमान हुनेहरु मात्र यस्तो गर्विलो जीवन जिउन सक्छन तस्विर: शान्ता चौधरीको फेसबुकबाट

अझ अगाडी उनि थप्छिन: “मेरो उपचारको लागि भै परि आउने सामान्य खर्च त मेरो श्रीमानले सउदीबाट थोरै भएपनि कामाएर पठाउनु भएको रकमले धान्ला कि भन्ने लागेको छ|” (वाह! इमान!! खोइ के लेखौं!!!)

शान्ता चौधरीजी तपाईलाई तपाईको दरिलो इच्छाशक्ति र यहि इमानले बचाउने छ| यो डरलाग्दो रोगलाई जित्नु भो अब तपाईको पार्टी र अन्य पार्टीमा लागेर देश लुट्नेहरुलाई अलिकति नैतिकता र इमानको पाठ पढाउनुस| अहिले ठुला पार्टी त्यसका ठुला नेताहरुलाई लागेको नीति र इमानमा लागेको क्यान्सर तपाईले सामना गर्नु भएको क्यान्सर भन्दा डरलाग्दो र संक्रमित छ|

शान्ताजी हामो पहुँच त्यहाँसम्म छैन तपाईले त सोध्न मिल्ला नि, एक पटक तपाईकै ठुला नेता र अन्य ठुला दलका नेता अमेरिका या अन्य बिकसित देशमा गएर उपचार गराउंदा कति करोड खर्च भएको रहेछ कृपया यसो मिलाएर सोध्नुस न| फेरी हाम्रो देशमा सार्वजनिक लेखा समिती पनि छ क्यारे, के ति निकासा भएको रकमको फर्स्यौट या हिसाब किताबको लेखा गर्नु पर्दैन? हामीले कस्तो भ्रमको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गरेछौं जहाँ जसले जे गरेनी हुने?

म तपाईको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु|