१६ चैत्र २०८०, शुक्रबार ८:५० | 03/29/2024 11:05 AM



राष्ट्रपति ट्रम्प बिरुध्दको महाअभियोग अमेरिकी प्रतिनिधिसभाबाट दोश्रो पटक पारित – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

२९ पुष २०७७, बुधबार १६:५२ मा प्रकाशित

हिजो बुधबारबाटै आरम्भ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव अन्तरगत अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा २३२ मत र विपक्षमा १९७ खसेको छ। डेमोक्रेटिक पार्टीको झिनो बहुमत रहेको तल्लो सदनमा भर्खर सम्पन्न भएको मतदानमा दस जना रिपब्लिकन पार्टीका सदस्यहरुले ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताबको समर्थन गरेका छन।

त्यसरी मतदान गर्नेहरुमा रिपब्लिकन पार्टीको तर्फबाट हाउसको नेतृत्व मर्यादाक्रममा तेश्रो स्थानमा रहेकी लीज चेनी रहेकी छिन। लीज पुर्व उप-राष्ट्रपति डिक चेनीकी छोरी हुन । ट्रम्प समर्थकहरुको बाहुल्य रहेको रिपब्लिकन परम्पराबादी फ्रिडम ककसले लीज चेनीको अबिलम्ब राजिनामाको माग गरेका छन।

रिपब्लिकन पार्टीको नेतृत्व मर्यादाक्रममा तेश्रो स्थानमा रहेकी लीज चेनी

गत बुधबार राजधानी वासिंगटन डीसीको क्यापिटल हिलमा घटेको आततायी घटनामा राष्ट्रपति ट्रम्पको प्रत्यक्ष संलग्नता रहेको र उनले स्वेत सर्बोच्चताबादीहरुलाई विद्रोहका लागि उकासेर उत्तेजना फैलाएको अभियोग समेत महाअभियोगमा किटानीका साथ लगाईएको छ।

राष्ट्रपतिलाई महाअभियोग मार्फत पदमुक्त गर्नको लागि अब अमेरिकी माथिल्लो सदन सिनेटका सम्पूर्ण सदस्यहरुको दुई तिहाईले समर्थन गर्नु पर्ने हुन्छ। अहिलेको सिनेट कम्बिनेसनमा रिपब्लिकन र डेमोक्रेट्सहरुको ५०-५० सिट छ। अघिल्लो पटकको महाअभियोगमा दुई तिहाई संख्या नपुगेकै कारण राष्ट्रपति ट्रम्प सत्ताच्युत हुनबाट बचेका थिए।

अमेरिकाको संबिधान अनुसार वर्तमान राष्ट्रपति ट्रम्पको कार्यभार अर्को हप्ता अर्थात् जनवरी महिनाको २० तारिख मध्यान्न समाप्त हुन्छ र त्यही दिन राष्ट्रपति पदमा निर्वाचित जो बाईडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिनेछन। माथिल्लो सदनमा संख्या पुग्ने भएकै अवस्थामा पनि महाअभियोगको प्रस्ताबमा छलफल र मतदान गर्न एथेष्ट समय नभएको तर्क संबिधानविद र राजनैतिक विश्लेषकहरुले गर्न थालेका छन।