१६ चैत्र २०८०, शुक्रबार ४:०४ | 03/29/2024 6:19 AM



राष्ट्रपति बिद्या भण्डारी: सहज आरोहण, कठिन अवतरण

१३ कार्तिक २०७२, शुक्रबार ०१:५३ मा प्रकाशित

सामाजिक संजालको सदुपयोग (कतिले दुरुपयोग पनि भन्लान) गर्दै आज मैले पनि नेपालीकि पहिलो महिला राष्ट्रपति बिद्या भण्डारीलाई “दिदी” भनेर सम्बोधन गर्दै बाईलाईन बधाई तथा शुभकामना सम्प्रेषण गर्ने साहस गरें | ठुला पदमा पुगे पछि नचिनेकाहरुलाई पनि गोरु बेचेको साईनो लाउँदै जोड्दै आफ्नो अथवा नाता कुटुम्ब भन्ने हाम्रो अर्ध सामन्ती पुरातानिक प्रचलन र सोंच छ | मैले पनि त्यस्तै र त्यसकै सहारा लिंदै यो बखत परदेशबाट केहि लेख्ने दुस्साहस गरें |

​हाम्रो मुलुकमा बहुलवादी लोकतन्त्र र जनताको शासन प्रणाली भएकोले मात्र यो सम्भब भएको हो | धनी र औधोगिक बिकशित राष्ट्र भनिएका कैयन मुलुकहरुमा यस्तो सपना साकार भएका छैनन | हाम्रो कर्मभुमी अमेरिका बल्ल प्रथम महिला राष्ट्रपतिको सपनाको निकट आईपुगेको छ | अझ कैयन राष्ट्रले त परिकल्पना समेत गर्न सकेको छैन | थुप्रै अर्थमा हामीले बाजी मार्यौं | यस कारण पनि यो क्षण यो पध्दतीको स्थापना गर्न आफ्नो जीवन आहुती दिने बीर र बलिदानी ज्ञात अज्ञात सहिद र नेपाली जनतालाई सबभन्दा पहिलो बधाई र सम्मान अर्पण गर्नु पर्ने हुन्छ |

म भोजपुरको दावाको सिध्देस्वर मा.बि. पढ्दा बिद्या दिदी भोजपुरकै विद्योदय मा.बि. मा म भन्दा तीन कक्षा अग्रज छात्रा थिईन | अहिले एमाले पार्टीका कार्यकर्ताहरु र चटके संचारकर्मीहरुले ठुला ठुला जोखिमपूर्ण बिभुषण र अलंकारको पगरी गुथाएर “महान महिला” आदी ईत्यादी जे जसो भने पनि बिद्या दिदी एक जना आम र औसत बिद्यार्थी मात्र थिईन | त्यस पछि गृहिणी हुँदै मदन भण्डारीको हत्या पछि एमालेमा दिदीले अनपेक्षित छलांग मारिन | संसदीय निर्वाचनमा कृष्ण प्रसाद भट्टराईलाई पराजित गरेपछि उनको चर्चा राष्ट्रियरुपमै चुलियो | त्यसपछि निरन्तर उनि अर्थात् विद्या दिदी २०५०, २०५१ र २०५६ मा सांसद बनिन |

एमालेमा हुने भागबण्डा र बिरासतको राजनीतिले दिदीलाई यत्रतत्र राजनैतिक लाभ मात्र मिल्यो | तात्कालिक प्रधानमन्त्री माधब कुमार नेपाल उनलाई रक्षामन्त्री बनाउन बाध्य भए | त्यस पछि त दिदीले फर्किए न जन्म थलो भोजपुर हेर्नु पर्यो न आफुले पढाएको मोरङको पाठशाला | दिदीको भागमा माथि माथि मात्र प्राप्त भयो, फलिफाप नै फलिफाप | बैचारिकरुपले दिदी भाग्यबादमा विश्वास गर्दिनन भन्ने अहिलेसम्म पनि मेरो बुझाई छ नत्र त यसलाई पश्चिमा ईसाई समुदायले भन्ने गरेझैं “मिराकल” नै भनिदिए नि हुन्छ | मलाई थाहा छ हामीसंगै रातो पुस्तक पढ्दै मार्क्सबादका बिद्यार्थी बनेकी बिद्या दिदीले कुनै दैबको दया अथवा लेखाले होइन आफ्नै कर्मले हस्तिनापुर जितेको दावी गर्ने छिन | त्यति मात्र दिदीले भनि दिंदा पनि मलाई खुसी लाग्छ कमसेकम मार्क्सबादी जीवन शैली, नीति र नैतिकता भुले पनि मार्क्सबादको जीवन दर्शन भने दिदीले भुल्नु भएको रैन’छ भन्ठान्नेछु |

२०५४ मा एमालेको केन्द्रिय नेतृत्वमा उक्लनु भएपछी दिदीले तल अथवा तलकालाई फर्केर हेर्नु परेन | तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले स्व-ईच्छाले राजिनामा गर्न नमाने पछि उनलाई तत्काल बर्खास्त गर्नु पर्छ भनेर राष्ट्रपती रामबरण यादबलाई उत्साहित गरेकी उनको स्वर र सम्बाद सायद संसद सचिवालयको लाईब्रेरीमा सुरक्षित हुनुपर्छ | सादा जीवन उच्च विचारमका हिमायती विद्या दिदीलाई पार्टीमा छुच्ची भनेर पनि आरोप लगाउने गरिन्थ्यो | दिदीले २०५४ सालमा आफ्नो क्षमता र पौरखले हात पार्नु भएको अखिल नेपाल महिला संघको उपल्लो नेतृत्व अध्यक्ष पदको जिम्मेवारी करिब अठार बर्ष एक्लै थेग्नु भो | पालो दिन तम्तयार भएर आएकी अर्की प्रतिस्पर्धी नेत्री उर्मिला अर्याललाई उक्त गरुङ्गो जिम्मेवारी लोकतान्त्रिक तौर तरिकाले हस्तान्तरण गर्न मान्नु भएन त्यहि कारण देखाए अर्यालले एमाले पार्टी परित्याग समेत गरिन | तर विद्या दिदीलाई त्यो काण्डले केहि लछारपाटो लाएन | दिदीको दिन बलियो थियो कारण संस्थापन उनका दाहिना थिए तब भयो सबै तैं चुप मै चुप |

त्यस पछि दिदीको अर्को महत्वाकाक्षी परियोजना शुरु भयो पार्टीको उपल्लो पदको आरोहण | पार्टी महाधिबेशनमा लोकप्रिय मतका साथ पार्टी उपाध्यक्षको पदमा छलाङ्ग नै मारिन | लोकप्रिय नेता मदन भण्डारीको हत्या पछाडी पार्टीले उद्घोष गरेको “शोक लाई शक्तीमा बदल्ने” नीतिको कार्यान्वयनमा लागि गृहिणीबाट नेतृ बनेकी हाम्री भोजपुरकि गर्विली चेली अहिले सम्पूर्ण नेपाल राष्ट्रको गरिमा र सान मात्र होइन ईतिहास समेत बनेकी छिन | दु:खेको देशले पनि अहिले उत्सब क्षेणिक उल्लास र उत्सब मनाईरहेको छ | हामीसंग उत्सब गर्न सधैं उचित र थुप्रै बहानाहरु हुने गर्दछ | अहिले बिशेष गरेर नेपालले पहिलो महिला राष्ट्रपति पाएकोमा देश रमाएको छ भने अत्याधिक मानिस खुशी समेत भएका छन |

यो विषम परिस्थितिबाट देशलाई बाहिर निकाल्न यी बहाना र आधारहरु भने पर्याप्त छैनन | मधेस जलेको मात्र छैन आम मानिसको मन भएर दु:खेको पनि छ | ठुलो क्षेत्र, आवादी र जनसंख्या ओगटेको जनजाती आन्दोलन न्यायिक निरुपण र उन्मुक्तीको अभाबमा फेरी फिलुंगो भएर दन्कने बहाना खोज्दैछ | सिमान्तकृत समुदायले उत्सब गर्ने आधार खोजिरहेको छ | दलित र महिलाको समस्या विद्या दिदीले भन्दा बढी नजिकबाट कल्ले जानेको, देखेको र बुझेको होला | रोटी र बेटीको पुरातानिक र परम्परागत सम्बन्धमा चलेको नेपाल भारत सम्बन्ध जटिल मात्र होइन तनाबको स्थितिमा छ | न्याय र पहिचानको अभाबमा तराई मधेस सिमानाको किल्ला सलाईको ज्वलनशील काँटी बनेर

बसेको छ |

बिद्या दिदीको आरोहण तुलनात्मकरुपमा सहज देखिएपनि अवतरण कठिन र जटिल छ | पहिलो जटिलता स्पष्ट गुट र खेमामा विभाजित आफ्नै पार्टी एमाले हुने लक्षण अहिलेबाटै देखा पर्न थालेको छ | विद्या दिदीलाई देवत्वकरण गर्ने क्रमको दु:खद प्रारम्भिक खेल र डिजाईन अहिलेबाटै भईसक्यो | त्यसको पछिल्लो उदाहरण हो उनको अगाडी जोड्न सुरु गरिएको “महान महिला” को आवरण र विभूषण| अब पार्टीका स्वामीभक्त चाटुकारहरुले प्रक्षेपण गरेको यो अश्त्रलाई दिदीले नै निस्तेज बनाउन जरुरी छ | आम नेपालीले जानेको, बुझेको र मैले पनि चिनेको बिद्या दिदी “महान” या “बिशेष” केहि होइनन उनि आत्मबल, साहस र निश्चित क्षमता भएकी एक आम महिला हुन |

अर्को जोखिम भनेको सत्ता सत्तास्वार्थमा लत परेको माछोरुपी नेपाली कांग्रेस पार्टी हो जो पानी यानेकि सत्ता बिना लामो काल बाँच्नै सक्दैन | हामीले देखेको र भोगेको गिरिजा बाबुदेखि सुशीलदासम्मको कांग्रेसी कालखण्डले त्यहि आम सत्य आमरुपमा उद्घाटित गरेको छ | नेपालका पार्टीहरुले बिस्तारै वर्गीय समाज र संरचना बिर्सन थालेको छन, तिनीहरु सत्ता स्वार्थका लागि वर्गीय हैन जातीय, क्षेत्रीय र लैंगिक आधारमा समाजलाई परिभाषित गर्ने दुष्प्रयास गरिरहेका छन | अब त्यो वर्गका लागि अर्को अचुक अनि अभेद्य अश्त्र हुनेछ अहिलेको कार्यकारी शक्तीकेन्द्रहरुका बाहुन जाती बिशेषको एकछत्र एकाधिकार र अधिपत्य |

पार्टी भित्र पनि लामो समय गुटको सहाराले पद र सत्ता हात पार्न सफल भएकी हाम्री विद्या दिदीलाई त्यो धंगधंगी ह्याङ्गओभरबाट एक्कै चोटी बाहिर निक्लन पक्कै गाह्रो हुनेछ तर मलाई पुरापुर बिश्वास छ यसो गर्न दिदी सक्षम हुनेछिन | भनि राखेको वानी कम्म्युनिष्टहरुको वाणी “कमरेड” शब्द झ्वाट्ट मुखमा आईहाल्लान अथवा कसैले प्वाक्क भनि देलान “बिद्या कमरेड !” कति गाह्रो राष्ट्रपति जस्तो सबैको मान र सम्मानको उपल्लो गरिमामय पदमा बसेको मान्छेले त्यसो भनेको या ग्रहण गरेको अरु पार्टीका मान्छेले अथवा आम मान्छेले पक्कै निको मान्ने छैन | चाटुककार चाकरीबाजहरुले एमालेकि बिद्या भण्डारी भनेर औपचारिक सम्बोधन गर्ने छन अथवा पार्टीको स्तुतीगान गर्दै जीवनको गुजारा गरेका संचारकर्मीहरुले पनि त्यहि खेलो निरन्तर गर्लान |

त्यस्तो कठिन र जटिल मोडहरुमा म अब एमालेको मात्र होइन र रहिन म त सारा नेपाल र नेपालीको राष्ट्रपती पो हुँ भन्ने अन्तर चेतना र साहस दिदीमा आवस भन्ने शुभेच्छाका साथ मेरो माईती शुभामकाना अहिलेलाई यतिमै बिट मार्दछु | सामाजिक संजालको सर्बसुलभताको सदुपयोग गर्दै भोजपुरे माईतीको नाताले मनभरिको सद्भाव र शुभेच्छा लेखें | अब तपाई खास अर्थमा भोजपुर, महिला अथवा पार्टी बिशेषको मात्र होइन सर्वांग अनि समुल नेपालको गरिमामय सम्माननीय राष्ट्रपति भएर एउटा नयाँ युग र अध्यायको थालनी गर्नुस | बिद्या दिदी, तपाईलाई मेरो हार्दिक शुभकामना !