१६ चैत्र २०८०, शुक्रबार ६:३७ | 03/29/2024 8:52 AM



संघिय संरचनाको सार्वभौम शक्ति र ताकत – शैलेश श्रेष्ठ

२० मंसिर २०७७, शनिबार २०:५१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउसलाई आफ्नो पारिवारिक भर्तिकेन्द्रनै बनाएको सत्यतथ्य अब पुष्टी भईनै सकेको छ जसको उचित र यथोचित सजाय उनलाई स्वाधीन अमेरिकी जनताले भर्खर सम्पन्न भएको निर्वाचन मार्फत दिईसकेका छन।

जनताको अभिमतलाई स्वीकार गर्न हरेक बहाना गर्दै आनाकानी गरिरहेको ट्रम्प अहिले आफ्नो र आफ्ना परिवारको न्यायिक बचाऊ कसरी गर्न सकिन्छ अनि सम्भावित कानुनी अभियोगहरुबाट कसरी बच्न र बचाउन सकिन्छ भनेर तल्लिन हुन थालेका छन। त्यसको पछिल्लो कडीका रुपमा उनी आफु लगायत आफ्ना दुई छोराहरु डोनाल्ड ट्रम्प जुनियर, एरिक ट्रम्प, छोरी ईभान्का ट्रम्प र ज्वाईं जारेड कुस्नरलाई अग्रिम क्षेमादान (प्रिएम्टिभ पार्डन) को तयारी गरिरहेका छन।

अमेरिकी संबिधानले त्यस्तो विशेषाधिकार राष्ट्रपतिलाई दिएको छ तर त्यस्तो क्षेमादानले संघीय अपराध अन्तरगतका मुद्दाहरुमा मात्र उन्मुक्ति दिन सक्दछ तर डोनाल्ड ट्रम्प, उनका दुई छोराहरु, छोरी र ज्वाईंका बिरुध्दमा न्युयोर्क अटर्नी जेनेरलको कार्यालय र न्युयोर्क डिस्ट्रिक अटर्नीको कार्यालयमा परेको मुद्दा र सम्भावित न्यायिक सजायहरुबाट उनीहरु अब बच्ने सम्भावना नितान्त कम छ। बहालवाला राष्ट्रपतिलाई कारवाही गर्न नमिल्ने संबैधानिक व्याख्या र वाटर गेट काण्डको स्थापित नजिरका कारणले मात्र अहिलेसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो उन्मुक्ति पाएका हुन।

न्युयोर्क अटर्नी जेनेरलको कार्यालय र न्युयोर्क डिस्ट्रिक अटर्नीको कार्यालयमा ट्रम्प परिवारद्वारा संचालित ट्रम्प फाउन्डेसन र ट्रम्प युनिभरसिटीका बिरुध्दमा तीन वटा फौजदारी र तीन वटा सिभिल केसहरु दर्ता भएर अघि बढी सकेको अवस्था छ त्यसका अतिरिक्त दशकौंदेखि आफ्नो कम्पनीको आयव्यय सार्वजनिक नगरेको र संबिधानत: सरकारलाई बुझाउनु पर्ने आयकर नतिरेको संगीन अभियोग पनि राष्ट्रपति ट्रम्प बिरुद्ध परेको छ।

उनी आफु सत्तामा रहेको अवस्थामा उक्त मुद्दामा पनि उनले निरन्तर उन्मुक्ति पाएका थिए तर आउँदो वर्षको जनवरी २० तारिखको मध्यान्नबाट उनले पाईआएको उक्त न्यायिक संबैधानिक उन्मुक्ति समाप्त हुन्छ। त्यसको अर्थ हो उनी कुनै पनि समय आफुले आफैलाई अग्रिम क्षेमादान दिएकै अवस्थामा पनि न्युयोर्क राज्यको कानुनबाट भने बच्ने छैनन किनकी त्यस्ता क्षेमादानहरुले राज्यको क्षेत्राधिकारभित्र संबैधानिक हस्ताक्षप गर्न मिल्दैन। यो नै अमेरिकी संघीय संरचना र शासन शैलीको सार्वभौम शक्ति र ताकत पनि हो।