१३ बैशाख २०८१, बिहीबार २:१४ | 04/25/2024 4:29 AM



सम्प्रेषण ईन्डोर्समेन्ट: यसकारण क्यारोलिन ट्रान अरु उम्मेदवारहरु भन्दा अनुभव, नीति र कार्ययोजनाहरुमा अब्बल छिन

५ असार २०७८, शनिबार १४:५२ मा प्रकाशित

 

न्युयोर्क सहरको सिटी काउन्सिल डिस्ट्रिक्ट नम्बर २५ बाट आसन्न डेमोक्रेटिक प्राईमरीमा उम्मेदबार बनेकी क्यारोलिन ट्रान अहिले चुनावी मैदान र चर्चामा रहेका अन्य सबै उम्मेदवारहरु भन्दा अनुभव, नीति र कार्ययोजनाहरुमा अब्बल छिन भन्ने सम्प्रेषणको ठम्याई रहेको छ।
अमेरिकी निर्वाचनमा मिडिया ईन्डोर्समेन्टको प्रचलन मात्र होइन ठुलो महत्व पनि छ। आखिर हामी र हाम्रो प्रवासी नेपाली समाज पनि अरुलाई हेरेर, देखेर अरुहरुबाट सिक्दै गरेको सिकारु गतिशील समाज हौँ। त्यस अर्थ र आसयमा यसपालीको श्रेणीबध्द मतदान पध्दती (र्याङ्क च्वाईस भोटिंग) मा सामुदायिक स-शक्तिकरणको अभीष्ट राखेर बिगत आठ बर्षदेखि क्रियाशील नेपाली संचार सम्प्रेषणले चुनावी मैदानमा देखिएका सबै उम्मेदवारहरु मध्य सर्वाधिक उदार अनि प्रगतिशील उम्मेदवार क्यारोलिन ट्रानलाई आफ्नो पहिलो प्राथमिकता अर्थात र्याङ्क च्वाईस नबर एकका उम्मेदवारका रुपमा ईन्डोर्स गर्ने निर्णय गरेको छ।

“करेज टु चेङ्ग” का तर्फबाट क्यारोलिन ट्रानलाई ईन्डोर्स गर्दै कांग्रेसउमेन आलेकसान्द्रिया ओकासियो-कोर्टेज

सम्प्रेषणले आफ्नो स्थापना कालदेखि उठाएका थुप्रै सामाजिक र राजनीतिक मुद्दा र सरोकारहरुलाई क्यारोलिन ट्रानको प्रतिबध्दताले घनिभूतरुपमा सम्बोधन गरेको छ। त्यति मात्र होइन उनी एकजना सिटी काउन्सिल डिस्ट्रिक अफिसकी कर्मचारी र सामाजिक अभियन्ताका हैसियतमा सामाजिक र राजनैतिक परिवर्तनका लागि क्रियाशील थिईन। उदार र प्रगतिशील डेमोक्रेट्सहरुको बाहुल्य रहेको न्युयोर्क सहरको कुईन्स काउन्टीलाई नेतृत्व गर्ने अभीष्टका साथ मैदानमा उत्रिएका हरेक उम्मेदवारहरु कुनै न कुनै रुपले सक्षम पक्कै छन तर क्यारोलिन ट्रानको प्रगतिशील खेमाको राजनीतिमा बलियो प्रतिबध्दता मात्र होइन प्रमाणिक ट्राक रेकर्डहरु पनि छन। त्यसैका आधारमा तिनै प्रोग्रेसिभ ट्राक रेकर्डहरुलाई उच्च मुल्यांकन गर्दै न्युयोर्कका प्रगतिशील कांग्रेसउमेन आलेकसान्द्रिया ओकासियो-कोर्टेज (एओसी) को “करेज टु चेन्ज”, न्युयोर्क स्टेट सिनेटर जेसिका रामोस लगायतका दर्जनौं प्रगतिशीलबिधायकहरुले उनलाई ईन्डोर्स गरिसकेका छन। अमेरिकी निर्वाचन र बिशेषगरि प्राईमरीमा यस्ता ईन्डोर्समेन्टहरु पाउनु चानचुने कुरा होइन।


क्यारोलिन ट्राननै सम्प्रेषणको पहिलो प्राथमिकतामा पर्नुका निम्न कारणहरु पनि छन:
~ उनी नि:शुल्क स्वास्थ्य उपचार र सर्वसुलभ शिक्षा अभियानकी पक्षधर हुन।
~ उनी बृहत आप्रवासी सुधार बिधेयकका अभियन्ता-समर्थक हुन।
~ उनी अल्पसंख्यक समुदायको समानुपातिक प्रतिनिधित्व र महिलाहरुको सम्मानजनक प्रतिनिधित्वकी हिमायती हुन।
~ उनीसंग यहि डिस्ट्रिकमा कर्मचारीका रुपमा लामो समयसम्म काम गरेको अनुभव छ त्यस अर्थमा उनलाई यस निर्वाचन क्षेत्रका मानिसहरुको
आवश्यकताहरुका बारेमा अरुलाई भन्दा बढी जानकारी छ।
~ उनीसंग आफ्नो निर्वाचन क्षेत्रका जनताहरुका पक्षमा काम गर्ने र कठिन निर्णय लिनसक्ने साहस छ।
~ उनी पर्यावरण सम्बन्धि प्रोग्रेसिभ पोलिटिकल ब्लकको मूल एजेन्डा “ग्रीन न्यु डिल” की हिमायती हुन।
~ उनीले आफु निर्वाचित भएमा न्युयोर्क पुलिसको बजेटबाट तीन बिलियन डलर कटौती गरेर सामुदायिक सेवामा लगानी गर्ने प्रतिबध्दता जाहेर गरिसकेकी छन।


उम्मेदवारी घोषणाको पहिलो दिनमा नै सम्प्रेषणले तेर्स्याएका केही समसामयिक सवाल र जिज्ञाशाहरुलाई सम्बोधन गर्दै उनले भनेकी थिईन “म यस कारण तपाईहरुको उम्मेदवार हुँदैछु की हामी जस्ता सिमान्तकृत अल्पमत आप्रवासीहरु पनि शहरका जिम्मेवार पदहरुमा बहाल हुँदै पारदर्शी र समावेसी प्रशासन मार्फत आफ्नो प्रतिनिधित्व स्थापित गर्न सक्षम हुनेछौं। मेरो अनुभव र अभियानले अन्तत: अभावमा रहेका अल्पसंख्यक समुदायलाई आवश्यक सुबिधा र सरकारी श्रोतहरुको बाटो खुल्ला गर्नेछ। लामो कालदेखि हाम्रो वर्ग र बर्णले अमेरिकामा संस्थागत भएको रंगभेद, पुलिस अत्याचार, संस्थागत विभेदहरुको सामना गर्न परिरहेको छ। मेरो उम्मेदवारी न्यायिक समाज निर्माण र परिवर्तनका लागि हुनेछ। मेरो सामुदायिक सेवामुखी काम र अभियानको आरम्भ डिस्ट्रिक २५ का काउन्सिल मेम्बर डानियल ड्रोमको चिफ अफ स्टाफबाट आरम्भ भयो र त्यो कामलाई नयाँ आयाम दिंदै अहिले म तपाईहरुको निर्वाचित सेविका र प्रतिनिधि हुने बाटो तर्फ साहसका साथ अग्रसर भएकी छु।”


वर्तमान काउन्सिल मेम्बर डानियल ड्रोमले गर्न नसकेका के के परियोजनाहरुमा तपाईको ध्यान थप केन्द्रित हुन्छन त? भनि सम्प्रेषणले उप्काएको प्रति प्रश्नलाई सम्बोधन गर्दै उनले भनिन “तपाईहरुको साथ र समर्थनले म निर्वाचित भएँ भने निर्वाचित भएको पहिलो दिनबाट नै सिटी काउन्सिल मेम्बरका हैसियतमा यथेष्ट सेवा र सुबिधाहरु मेरो निर्वाचन क्षेत्रमा ल्याउने हरेक ईमान्दार प्रयास गर्नेछु। घरबेटी र बहालवालाहरुको अधिकार, आप्रवासी क्षेत्रहरुको संरक्षण, कामदारहरुको न्यायिक सुरक्षा, साना ब्यबसाय र स्ट्रिट भेन्डरहरुको संरक्षण, समावेसी बजेट वितरणमा पारदर्शिता, हरित क्षेत्र र खुल्ला बाटोहरुको बिस्तार जस्ता उदार र प्रगतिशील सवालहरुमा म मेरो कामलाई उच्च प्राथमिकताका साथ केन्द्रित गर्नेछु। हामी संगठित र एक्यबद्ध भयौं भने त्यस्ता परिवर्तनहरु सम्भव हुनेछन र म त्यस्ता परिवर्तनहरुको आभास तपाईहरुलाई दिन चाहन्छु त्यो नै मेरो प्रतिबद्धता हो।”
हुन पनि फगत वक्तब्यबाजी, नारा र भाषणहरुमा मात्र होइन थुप्रै दु:खका पहाडहरु छिचोलेर संघर्षपूर्ण जीवन बाँचेको उनको बिगत छ। उनका बाबा-आमा युध्द छल्न डुङ्गा चढेर भियतनामबाट अमेरिकामा आएर शरण लिएका थिए। आज तिनै एकल महिला क्यारोलिन ट्रान आफ्नी दुई छोरीहरु माकाना र माकाईलाई च्यापेर तपाई हाम्रो वर्गको नेतृत्व गर्न तम्सिएकी छिन। यस्तो बिरतापूर्ण जीवन र सहासिलो जिन्दगी बाँचेर राजनीति मार्फत परोपकारी र न्यायपूर्ण सामज बनाउन उनी हरेक किसिमले लागि परेकी छिन त्यस्तो सपना बोकेर समुदायमा आएकी एक सक्षम, उदार र प्रगतिशील उम्मेदवार क्यारोलिन ट्रानलाई ईन्डोर्स गर्न पाउनु सम्प्रेषणको लागि पनि गर्वकै बिषय हो। त्यस अर्थमा हामी गौरावान्वित भएका छौं।