६ बैशाख २०८१, बिहीबार ११:०४ | 04/18/2024 1:19 PM



सिध्दिपुरकि सांगीतिक धरोहर गायिका तिर्थ कुमारी – रमेश महर्जन, अमेरिका

११ श्रावण २०७७, आईतवार २१:५८ मा प्रकाशित

लेखक रमेश महर्जन

थसी, सिध्दिपुर तथा सानागाऊ जस्ता बिबिध नामबाट आफ्नो ऐतिहासिक परिचय स्थापित गर्दै हाल आएर आफ्नो नयाँ नाम महालक्ष्मी नगरपालिका रुपमा परिचित मौलिक नेवारी बस्तिको आफ्नै मौलिक बिषेशताहरु छन । बदलिंदो परिवेश तथा प्रगतिको पथतिर लगातार अघि लम्कदै गरेको सिध्दिपुरबासीहरुका प्रेरणाका स्रोतहरु भनेको त्यही नगरीका केही बिशेष व्यक्तिहरु नै हुन भन्दा सायद अत्युक्ति नहोला।

त्यसरी गर्वका साथ लिन सकिने नामहरु हुन सिध्दिपुरकि पहिलो लोकप्रिय गायिका तिर्थ कुमारी, बेलायत जानुहुने पहिलो सिध्दिपुरवासी स्वर्गीय शिवलाल महर्जन, अमेरिका जानुहुने चन्द्र बहादुर नेम्कूल, जर्मनी जानुहुने राम बहादुर महर्जन, तात्कालिक सोभियत संघ जानुहुने डा. सिताराम श्रेष्ठ, कुवेत जानुहुने प्रकाश श्रेष्ठ र जयराज श्रेष्ठ,साउदी अरब जानुहुने गोबिन्द महर्जन र बुध्द महर्जन, जापान जानुहुने गोपाल महर्जन र हालसालै मात्र आएर सिध्दिपुरकी प्रथम सफल सगरमाथा आरोही कल्पना महर्जन |

 

गायिका तिर्थ कुमारी

उहाँहरु जस्ता व्यक्तित्वहरु सदैव प्रत्यक्ष वा परोक्षरुपमा हाम्रा नयाँ पुस्ताहरुकालागि अथक प्रेरणाका स्रोत हुनुहुन्छ | उहाँहरु मध्यबाट यहाँ मैले सिध्दिपुरबासीका गहना तिर्थ कुमारीको बारेमा नयाँ पुस्ताका सिध्दिपुरबासीहरुका लागि प्रेरणा हुन सक्छ भन्ने अभिष्टले उहाँसंग सम्बन्धित केही यथार्थ र फेहरिस्तहरु गुथ्ने प्रयास गरेको छु । आज भन्दा करिब ६६ बर्ष अघि माता ज्ञानी कुमारी सिंह र पिता हर्ष वहादुर सिंहकी सु-पुत्रीका रुपमा तिर्थ कुमारीको जन्म भएको हो |

चार दिदी-बहिनी र एक भाइ मध्य माहिली सुपुत्रीको रुपमा जन्मेकी उनी बाल्यकालदेखि नै नाँचगानमा धेरै रमाउने गर्नुहुन्थ्यो । त्यस माथि घर भित्र पनि परम्परागत नेवारी संगीतको माहौल भएकोले नै होला सायद तिर्थ कुमारीको लागि त्यसताकाको नेवारी सांगीतिक घराना पनि उहाँको कलाकारितालाई हौसला र बल पुर्याउने माध्यम सावित भयो। फलस्वरुप उहाँ सिध्दिपुरको पहिलो ब्याबसायिक गायिकाको रुपमा स्थापित हुन सफल हुनुभयो । हुलाक सेवा बिभागका सरकारी जागिरे पछि संचार मन्त्रालय र त्यही सेरोफेरोमा रेडियो नेपालमा अधिकृत तहमा काम गर्दै बिना कुनै खास सांगितिक तालिम रेडियो नेपालको स्वर परिक्षामा उतिर्ण भए पश्चात बि.स. २०२८ सालदेखि उहाँ लगाताररूपमा गाउँदै आईरहनुभएको छ। अलि समयपछि उहाँ कलानिधि संगीत महाविधालयबाट सांगीतिकरुपमा प्रशिक्षण समेत हुनु भयो।

पहिलो युगल गीत “कहिलेमा हुने होला नानी, तिमी पिपल म वर…”, “म त खाँदिन कुवाको पानी हो…”, “डाँडामा माथि बिहानीमा घाम लाग्यो तिरिरी…”, “ढुँगे बगर माया ढुँगे बगर…”, “झम्के फूली नाकैमा बुलाकी…”, “उकालीमा पनि हजुर मोटर जाँदो रैछ…”, “बारीको डिलमा ओखर बोट ओखर बोटमा दिल बस्यो…”, “माछी मारन हो दाई हौ रक्सीलाई चटनी “, “तालको माछा छेउ लाग्यो…” जस्ता सदावहार गायाकीकि धनि तिर्थ कुमारी आजसम्म पनि आम नेपालीका माझ लोकप्रिय त हुनुहुन्छ नै त्यसको साथै उहाँले गाउनु भएका नेपाल भाषाका अति कर्णप्रिय गीतहरुले गर्दा पनि उहाँ नेवार समुदाय बिच अझ धेरै आदर र सम्मानको पात्र हुनुहुन्छ। झण्डै २०० का हाराहारीमा गाउनु भएका ति नेपाल भाषाका गितहरु मध्ये “छंड्०गु हिसी दुगु ख्वा सो स्व:..”, “सु मरुगु ताक सोया वा…” लगायतका अन्य थुप्रै गीतहरू बृद्धादेखि नयाँ पुस्तासम्मका सबैले गुनगुनाउने गीतहरु हुन्।

 

उहाँले प्रचार प्रसार र मानसम्मानलाई कहिल्यै ब्याबसायिकताको मानक बनाउनु भएन। कुनै पनि खाले स्वार्थ र लालचा राख्नु भएन तथापी उहाँको लगन र क्रियाशीलताकै कारणले उहाँलाई प्रवल गोरखा दक्षिणबाहु, बीरेन्द्र ऐश्वर्य सेवा पदक, छिन्नलता गीती पुरस्कार, नारायणगोपाल संगीत सम्मान जस्ता दर्जनौं पुरस्कार र सम्मानहरुले विभूषित हुनुभएको छ।

आफ्नो अलौकिक कला साधनाबाट हामी माझ आफूलाई प्रेरणादायी पात्रको रुपमा चिनाउन सफल, कठोर परिश्रमी उहाँ जस्ता नेवारी समुदायका सांगीतिक सिल्पी नेपालमा शासकीय स्वरूप फेरिएसंगै ओझेलमा पर्दै आएको तथ्य त हामीमाझ घाम जस्तै छर्लंग नै छ । त्यसरी राज्यबाट उपेक्षित भएर पनि सिध्दिपुरकै पहिलो गायिका बनेर भावी सन्ततिहरुलाई प्रेरणा दिन सफल हुनु भनेको त्यसताकाको समयमा चानचुने चुनौती पक्कै थिएन।

हरेक अप्ठ्याराहरुका बाबजुद पनि अटुट संगीत साधनामा निर्लिप्त समर्पित उनै तिर्थ कुमारीको कोखबाट अहिलेको सांगीतिक पुस्ताका होनाहार गायक तथा संगीतकार सुरज थापा आफ्नी आमाको बिरासत थाम्ने क्रममा संगीत साधनामा निरन्तर लागिरहेका छन | आमा तिर्थ कुमारीको सांगीतिक आषिश र आफ्नै निरन्तर साधनाका कारण छोरा सुरज थापा पनि नेपाली सांगीतिक फाँटमा क्रमश स्थापित हुँदै गरेको देख्न सकिन्छ।

मैले सामाजिक संजालको यो अवसरलाई अत्याधिक सदुपयोग गर्दै केही वाक्य र फेहरिस्तहरु सिध्दिपुरकी अमुल्य गहना तिर्थ कुमारी दिदीको बारेमा बर्णन गर्दै गर्दा म जस्तो गीत संगीतमा कम ज्ञान राख्ने अल्पज्ञानी ब्यक्तिले गरेको समिक्षा र विश्लेषणले कत्तिको अर्थ राख्ला त्यो म आफैले भन्न सक्ने कुरै होइन तर एउटा कुरा चाँही यो पंक्तिकारलाई पुरापुर बिश्वास छ कि म लगायत बिश्वभरि छरिएर रहेका सिध्दिपुरबासीहरु अर्थात तपाईका आफनै भाई-बहिनी, भदा-भदै तथा आफन्तहरु नेपाली सांगीतिक आकाशमा तपाईका कर्णप्रिय गीतहरू साक्षात्कार भएर प्रत्यक्षरुपमा सुन्न आशक्त अनि आतुर छन ।

 

एउटा प्रचलित आहान छ कि दिदीबहिनीहरुलाई आफ्नो माइती गाउँको कुकुर पनि प्यारो लाग्दछ त्यस अर्थमा पनि दिदीलाई सिध्दिपुरकै पहिलो गायिका र गहना भनि आदरका साथ शब्द सम्मान अर्पण गरिरहँदा दिदीले पनि हामी माइती गाउँको आत्मीय माया, सम्मान र निम्तोलाई स्विकार गर्नुभई हामीलाई “ता:फल्चा” को डबलीमा आफ्ना मिठा मिठा लोकप्रिय गीतहरुद्वारा छमछम नचाउनुहुनेछ भन्ने दृढ बिश्वासका साथ म त्यो स्वर्णिम दिनको तिथि र मिति गन्दै औला भाँच्दै आजैबाट स्वैरकल्पनामा रमाउन हराउन थालेको छु ।

सिध्दिपुरका गहना हाम्रा सांगीतिक धरोहर तिर्थ कुमारी दिदीका बारेमा मैले मेरो जानकारीमा रहेका यी हरफ र फेहरिस्तहरू कोर्नुको मूल ध्यय भनेकै विश्वभर छरिएर रहनु भएका तपाई सिध्दिपुरबासीहरुलाई उहाँको बारेमा जानकारी गराउनु हो | उहाँ जस्ता सांगीतिक धरोहर र राष्ट्रकै गहनालाई हामीले औपचारिक ओंठेभक्ति गरेर मात्र पुग्दैन उहाँको जीवनकालमै जनस्तरबाट स्व-स्फुर्तरुपमा सम्मान गर्न सक्नु र जान्नु पनि पर्दछ।