१६ चैत्र २०८०, शुक्रबार ८:३३ | 03/29/2024 10:48 AM



सिनेटर क्लबचरको उदारता

५ असार २०७७, शुक्रबार ००:३३ मा प्रकाशित

जर्ज फ्लोईडको क्रुर र पाशविक हत्यापछि अमेरिकाभरि रंगभेद बिरुध्दको न्यायिक अभियानले नयाँ र निर्णायक परिबेग सिर्जना भएको छ | चार सय बर्ष लामो संस्थागत विभेदको समूल अन्त्यको सम्भावना बढेर गएको छ | हरेक सहर, राज्य र संघीय संरचनामा पुलिस रिफर्म बिधेयकहरु पास हुन थालेका छन भने चोकहोल्डलाई अबैधानिक घोषणा गरिएका छन |

यसको असर पुलिस प्रशासनमा मात्र होइन कर्पोरेट अमेरिकामा पनि परेको छ | कैयन ठुला कर्पोरेशनहरुले उनीहरुले निर्माण गर्ने बोर्डमा निश्चित प्रतिशत अस्वेतलाई राख्नै पर्ने नियमन लागु गरेका छन | सामन्यतया हरेक खालका क्रुर हत्यापछि त्यसरी हत्या गर्ने प्रहरीहरुले कानुनको कठघराबाट उन्मुक्ति पाउने गरेका छन तर यसपालीको आन्दोलन र देशव्यापी प्रदर्शन अनि त्यसको दवाबका कारण हत्यारा आरोपी प्रहरीहरु माथि आम मानिसलाई जस्तै कठोर सजायको माग सहित मुद्दा दायर गर्न थालिएको छ |

यही जन-उभार र आम अमेरिकी जनताहरुको मनोबिज्ञानलाई बुझेर डेमोक्रेटिक पार्टीबाट तर्फबाट उप-राष्ट्रपतिको सम्भावित उम्मेदवारका रुपमा भेटिङ्ग लिष्टमा अग्र स्थानमा रहेकी सिनेटर एमी क्लबचरले स्वेच्छिकरुपमा आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन | एमएसएनबीसीका प्रस्तोता लरेन्स अडनेलसंगको वार्तालापमा उनले भनिन “अमेरिका अहिले एतिहासिक परिवर्तनको मोडमा छ, अहिलेको अवस्थामा जो बाईडेनले उप-राष्ट्रपतिमा पिपुल अफ कलरका महिलालाई छान्नु पर्दछ र मैले हिजै उहाँसंग कुरो गरेर त्यो बाटो प्रसस्त गरिदिएकी छु | पिपुल अफ कलरबाट उप-राष्ट्रपति बन्न सक्ने सक्षम एकसेएक महिलाहरु हाम्रा पार्टीमा छन |”

अबको पाँच हप्ता भित्र डेमोक्रेटिक पार्टीले उप-राष्ट्रपतिको उम्मेदवारको चयन गरिसक्ने बताएको छ | अहिलेको न्यायिक आन्दोलनको परिबेगको कारणले पनि डेमोक्रेटिक पार्टीले अस्वेत महिलालाई उप-राष्ट्रपतिका रुपमा छान्ने अधिक सम्भावना रहेको छ |

अहिले चर्चाका शिखरमा जर्जियाकि स्ट्यासी एब्राम, म्यासाच्युसेट्सकि सिनेटर एलिजाबेथ वारेन, क्यालिफोर्नियाकि सिनेटर कमला ह्यारिस, फ्लोरिडाकि कांग्रेसयुमेन भाल डेमिङ्ग्स, एटलान्टाकि मेयर किसा लेन्स बटम्स आदीको नाम रहेका छन |

सिनेटर एमी क्लबचरको जस्तो सदासयता र उदारताले मात्र न्यायिक अनि लोकतान्त्रिक समाबेशी समाज र राष्ट्रको सिर्जना गर्ने गर्दछ |