१२ बैशाख २०८१, बुधबार ३:५७ | 04/24/2024 6:12 AM



सुरु भयो ट्रम्प ट्वीटर आतंक – शैलेश श्रेष्ठ

२ मंसिर २०७७, मंगलवार २०:४७ मा प्रकाशित

डिफेन्स सेक्रेटरी मार्क एस्परलाई बर्खास्त गरेको ठिक एक हप्तापछि आज मंगलबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी साईबर सेक्युरिटी सम्बन्धि उपल्लो विभागीय जिम्मेवारी सम्हालेका साईबर सेक्युरिटी एण्ड ईन्फ्रास्टकचर सेक्युरिटी एजेन्सी (सिसा) का निर्देशक क्रिस्टोफर क्रेब्सलाई ट्वीटर मार्फत बर्खास्त गरेका छन।

क्रेब्स राष्ट्रपति ट्रम्पद्वारा राजनैतिक नियुक्ति गरिएका अधिकारी हुन। राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै बिभिन्न राज्यहरुमा पुन: मतगणना र अन्य लसुट मार्फत आफ्नो राष्ट्रपतीय आकांक्षालाई जीवित राख्दै अघि बढेको ट्रम्प आफ्ना अनुकुल नहुने आफैद्वारा मनोनितहरुलाई बर्खास्त गर्न कस्सिएर लागेका छन।

अबको बाँकी ६३ दिन त्यो रफ्तार तिब्र हुने कुरा राजनैतिक विश्लेषकहरुले बताउन थालेका छन।
क्रेब्सले आफ्नो एजेन्सी सिसा मार्फत भर्खर सम्पन्न भएको राष्ट्रपतीय निर्वाचन अन्तरगतको मेल-ईन-ब्यालेट अमेरिकी ईतिहासकै स्वतन्त्र र निस्पक्ष भएको कुरा केही दिन अघि मात्र सार्वजनिकरुपमै बताएका थिए त्यही सत्य बोले वापत हुनले आज साँझ आफ्नो जागिर गुमाउनु परेको छ।

अघिल्लो हप्ता बर्खास्त भएका डिफेन्स सेक्रेटरी मार्क एस्परले बिभिन्न सहरमा भएका ब्लाक लाईभ्स म्याटर र्यालीहरुलाई दबाउनको लागि सैनिक परिचालन गर्ने कुरामा ट्रम्पको विपक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए।

राष्ट्रपति ट्रम्प आफ्नो पराजय पीडामा एक पछि अर्को गर्दै आफैद्वारा नियुक्त गरिएका अधिकारीहरुलाई ट्वीटर मार्फत बर्खास्त गरिरहेका छन। अब उनको अर्को निशानामा एफबीआईका निर्देशन क्रिस्टोफर रे पर्न सक्ने सम्भावना राजनैतिक विश्लेषकहरुले बताउन थालेका छन।