१३ बैशाख २०८१, बिहीबार ११:१९ | 04/25/2024 1:34 PM



“हस्तिनापुरको राज होइन” अब “चपरी मुनीको बास” हुने सम्भावना बढ्यो – शैलेश श्रेष्ठ

७ मंसिर २०७६, शनिबार ०२:०४ मा प्रकाशित

अमेरिका र ईजरायलको राजनीति मात्र होइन सत्ता संचालन पनि करिव करिव उस्तै उस्तै किसिमले अघि बढेको छ । त्यही परिस्थितिको आँकलन अनि विश्लेषण गरेर मैले बारम्बार लेख्ने गरेको छु “जिते हस्तिनापुरको राज हारे चपरी मुनीको बास” किनकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र प्रधानमन्त्री बेन्यामीन नेतन्याहूको हालत अनि हविगत पनि उस्तै उस्तै छ । दुवैको राजनैतिक बैचारिक समिकरण मात्र होइन चरित्र पनि मिल्दोजुल्दो छ । दुबैलाई धार्मिक अतिबादीहरुको बलियो समर्थन छ तर आम जनमत भने गुमाउँदै गईरहेका छन ।

ईजरायल अहिले ईतिहासकै अप्ठेरो मोडमा छ जहाँ यही बर्ष दुई पटक आम निर्वाचन भईसक्दा पनि कुनै पनि पार्टी या कोलिसनले नयाँ सरकार गठन गर्न सकेको छैन । गत अप्रिल महिनामा सम्पन्न भएको निर्वाचनमा नेतन्याहूको लिकुड पार्टी सदनमा सबभन्दा ठुलो दल भयो तर सरकार गठन गर्न आवश्यक बहुमत हाँसिल गर्न सकेनन र गत सेप्टेम्बरमा सम्पन्न भएको निर्वाचनमा पुर्व सैनिक प्रमुख बेनी गान्जले नेतृत्व गरेको ब्लु एण्ड ह्वाईट पार्टी ३३ सिट जितेर सदनको सबभन्दा ठुलो पार्टी त बन्यो तर त्यो पार्टीले पनि बहुमत मात्र होइन सरकार बनाउन आवश्यक ६१ सिट जुटाउन सकेन ।

गान्जले मध्यपन्थी तथा उदारबादी दलहरुको सहयोगमा सरकार गठन गर्ने प्रयास गरेपनि त्यो सफल भएन । ईजरायली राष्ट्रपतिले दुवै जनालाई दिएको समयावधि हिजो मात्र समाप्त भयो भने आज अचानक ईजरायली महान्यायाधिवक्ता अभिचाई म्यानडलब्लिटले बहालवाला प्रधानमन्त्री नेतन्याहू बिरुध्द करिब तीन बर्षदेखि थाँती रहेको उनी उपरको कारवाहीलाई औपचारिकरुपमा अघि बढाएका छन । ईजरायली ईतिहासमा पहिलो पटक बहालवाला प्रधानमन्त्रीलाई तीन वटा गम्भीर अभियोग सहित छानविन आरम्भ गरिएको छ । उनी उपर ब्राईबरी, फ्रड र ब्रिच अफ ट्रस्टको गम्भीर अभियोगहरु लगाईएका छन ।

धार्मिक कट्टरपन्थी पार्टीहरुको साथ र सहयोगले मात्र लिकुड पार्टीका नेतन्याहूको पक्षमा गणपुरक संख्या नपुग्ने भएपछी अहिलेको समिकरणका “किङ्गमेकर” को भूमिकामा देखिएका पुर्व रक्षामन्त्री एड्गर लिबरम्यानको शरणमा समेत उनी पुगेका थिए तर लिबरम्यानले नेतन्याहूको भ्रष्ट आचरण र कर्मलाई उन्मुक्ति दिन नसकिने बताउँदै कोलिसनमा सामेल हुन ईन्कार गरेका थिए । प्रधानमन्त्री बेन्यामिन नेतन्याहू ईजरायलकै ईतिहासमा सबभन्दा लामो समय प्रधानमन्त्री र सत्ता संचालन गर्ने राजनेता हुन । तर उनको अद्योपतन र राजनैतिक भबिश्यको पटाक्षपको कारण भ्रष्टाचार बन्ने प्राय: निश्चित छ ।

शासन संचालन शैलीमा मात्र होइन कर्मदेखि धर्मसम्मै एकरुपता भएका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र बेन्यामिन नेतन्याहूको राजनैतिक अद्योपतन उनीहरुकै आचरणका कारणले हुने सम्भावना स्पस्ट देखिन थालेको छ । सामान्यतया ईजरायलमा पनि अमेरिकामै जस्तै बहालवाला राष्ट्रपतिलाई कुनै पनि अभियोगमा कारवाही अघि बढाउन मिल्दैन भन्ने गरिएको थियो तर ईजरायली महान्यायाधिवक्ताले व्यक्तिलाई कानुन भन्दा माथि नराख्ने अडान मात्र लिएनन ईतिहासमै पहिलो पटक त्यस्तो साहस पनि गरे ।

युक्रेनलाई सैनिक सहायता दिंदा शर्त राखेको कुरो आफैले नियुक्त गरेका रिपब्लिकन पार्टी निकट राजदूत र कुटनीतिज्ञहरुबाट सार्वजनिक सुनुवाई मार्फत खुलेपछि ट्रम्पले बर्बराएर जो बाईडेन र आडम सिफको बिरुध्दमा पनि छानविन गर्नु पर्छ भने जस्तै ईजरायली प्रधानमन्त्री नेतन्याहूले पनि आफ्ना महान्यायाधिवक्ता माथि छानविन गरिनु पर्ने बताएका छन ।

सन् १९७२ को वाटरगेट काण्डको नजिर र मौजुदा अमेरिकी कानुन अनि त्यही बहाना र शैलीमा उन्मुक्ति पाएका तर कैयन मुद्दाहरु खेपिरहेका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प माथि पनि सर्वशक्तिमान अमेरिकी कानुन र त्यस अन्तरगतको सर्वशक्तिमान स्वायत्त निकायले छानविन आरम्भ गर्यो भने हामीले अचम्म नमाने हुन्छ किनकी अमेरिकी तल्लो सदनले आरम्भ गरेको महाअभियोग छानविन र अघिल्लो हप्ताबाट आरम्भ भएको सार्वजनिक सुनुवाईले उनलाई “क्योड प्रो क्यो” को कसुरदार ठहर्याउने थुप्रै साक्षी-प्रमाणहरु फेला परिसकेका छन ।