६ बैशाख २०८१, बिहीबार १:१६ | 04/18/2024 3:31 PM



हामीलाई पनि “देश” दुखेको छ

१३ बैशाख २०७२, आईतवार १०:४८ मा प्रकाशित

हिजो मातृभूमी नेपालले “लाश” गनिरहंदा हामी अमेरिकामा एनआरएन अमेरिकाको भर्खर सम्पन्न भएको निर्वाचनको “मत” गनिरहेका थियौं| भूगोल र सिमानाले नबाँधिएको फैलँदो अनि तन्कँदो प्रवासी मनहरुको दुरीले मातृभूमी भन्दा धेरै टाढा रहेको एकादेशमा बस्छौं हामी…त्यो देशको नाम हो परदेश, हो हामी त्यहीं बस्छौं तर देश जहाँ बसे पनि दुख्छ र दुख्दो रहेछ, हामीलाई पनि कम दुखेको छैन देश|

मैले एक जना एनआरएन अनि संचारकर्मी पर्यबेक्षकको हैसियतले तोकेको जिम्मेवारी बहन गर्न अत्यन्त दु:खी र गरुङ्गो मनले हिजो त्यो जिम्मेवारी फत्ते गरें| भारी मनले भन्नु पर्छ कहिले काँही जीवनको कर्म र गतिशिलता चाहेर पनि नरोकिने रहेछ|

सेप्टेम्बर एघारको बिनासकारी हमलाको एक जना “सर्भाईबर” को हैसियतमा मृत्युलाई मैले नितान्त नजिकबाट देखेको र आत्मसात गरेको छु| निर्वाचन आयोगको तर्फबाट अन्तिम निर्णय सुनाएपछि म चुपचाप बाहिरिएँ, त्यो बढाई र उत्सब गर्ने क्षण थिएन र भएन पनि | परिणामले जितेका भनिएका र झन्डै जिरेर उपविजेता (निर्वाचन प्रमुखको शब्दमा) भएकाहरु हातेमालो गर्दै राहत र सहयोगको बन्दबस्त मिलाउन लागि परे| ज्याक्शन हाईट्सको डीभर्सिटी प्लाजामा मृत आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन गरियो अनि फिप्नाको कार्यालयका सामुदायिक बैठक बस्यो|

अहिले फिप्नाले जारी गरेको बिज्ञप्तिका अनुसार एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष खगेन्द्र क्षेत्रीको संयोजकत्वमा राहत संकलन तथा उद्दार परिचालन समिती गठन गरिएको छ| त्यहि बैठकमा एनआरएन एनसीसीका क्षेत्रीय उप -संयोजक सोनाम लामाले एघार हजार डलर सहयोग गर्ने घोषणा गरेका छन्| हिजो बिहानदेखि बिभिन्न बर्ग, तह र तप्काका आम प्रवासी नेपालीको फोन र सम्पर्कको घेराबन्दीमा परेको छु| “लु न…कसरी सहयोग गर्ने हो?” उहाँहरुले भनिरहनु भएको छ लु है तपाई संचारकर्मीहरुको ठुलो दायित्व आएको छ| अब तपाईहरुले आम नेपालीलाई एक शुत्रमा जोड्नु पर्छ” |

हिजो बिहान देखि मेरो निजि सम्पर्कका कारण थुप्रै बिदेशी संचार माध्यमहरुले सम्पर्क गरेर मलाई सोधी रहेका छन “तपाई नेपाली संचारगृह तथा संचारकर्मीहरुको आफ्नै कम्युनिकेशन डेस्क छ कि जहाँबाट हामीले नेपालको बारेमा सत्यतथ्य जानकारी लिन सक्छौं|” हाम्रो संचारकर्म कहाँ उनीहरुले सोंच जस्तो स्तरमा पुगिसकेको छ र? तथापी हामीले धेरै गर्न सक्छौं| दु:खको साथ भन्नु पर्ने हुन्छ हामी “काम” भन्दा पनि “नाम” को बढी चिन्ता गर्छौं| कृपया यो विपदमा “म” होइन “हामी” अनि “यहाँ” होइन “उहाँ” यानेकि मातृभूमी नेपालको बारेमा काम गरौँ|

के के हुन सक्छन त तत्काल यानेकि अहिल्यै गरि हाल्नु पर्ने काम, उद्दारका श्रोत र स्वरूपहरु? मौकामा हिरा फोर्नु पर्छ भन्ने गरेको हामीले सुनेका छौं, लु अब यो विपदमा त्यसो गरौँ|

यसो गरे कसो होला?

१. ईमरजन्सी फण्डको नाममा खोलिएको र राखिएको सामाजिक र गैर नाफामुलक संघ संगठनहरुमा मौजुदा

रहेको रकम तत्काल उद्दार परिचालन समितीलाई हस्तान्तरण गरौँ| उदाहणको लागि एनआरएन

अमेरिकामा रहेको सम्पूर्ण रकम |

२. अमेरिकामा मन्दीर, गुम्बा, चर्च, मस्जिद अथवा कुनै धार्मिक आस्थाको केन्द्र निर्माणको लागि जगेडा

गरेर राखिएको अचल र स्थिर रकमको ठुलो हिस्सा तुरुन्त यो जीवन बचाउनु पर्ने पुनित र मानवीय कार्यको

लागि हस्तान्तरण गरौँ |

३. प्रत्येक प्रवासी नेपालीले आफुले कमाएको एक हप्ताको कमाई मातृभूमीको लागि प्रदान गरौँ |

४. अमेरिकाको प्रतिष्ठित कम्पनीहरुमा काम गर्ने ब्यबसायिक कामदारहरुलाई म्याचिंग फण्डको सुबिधा

दिईएको हुन्छ, बेला यहि हो त्यो सुबिधाको पनि परिचालन गरौँ |

५. उधमी ब्यबसायीहरुले आपतकालिन र मानवीय सहयोग गरेको रकममा संघीय कर छुट पाउने प्राबधान

रहेको हुन्छ, त्यो संघीय सुबिधाको यथोचित उपयोग गर्दै अधिकतम रकम यो उद्दार समिती मार्फत

मातृभूमीका लागि पठाऔं |

६. अहिले निर्वाचन प्रयोजनको लागि एनआरएन अमेरिकाले उम्मेरदारहरुबाट उठाएको रकम जम्मा गरि खर्च

कटाएर बाँकी रहेको सम्पूर्ण रकम यो समितीलाई आजै हस्तान्तरण गरौँ| किनकी अर्को चुनाब गर्दा फेरी

उम्मेदवारहरुबाट मनोनयन शुल्क उठिहाल्छ त्यस कारण यो रकम जमाएर राख्नुको कुनै तुक र तर्क छैन|

७. “नेपालीको लागि नेपाली भनेर” ठुलो कुरा गर्ने हामी एनआरएनहरुमा ठुलो जिमेवारी आएको छ त्यसकारण

१०७७४ सदस्य भएको संसारकै सबभन्दा ठुलो भनिएको एनआरएन अमेरिकाले आकार र आयतनले मात्र

ठुलो होइन अब मन र कर्मको आयतनले पनि हामी ठुला हौँ भनेर उदाहरण बन्ने अवसर आएको छ, यो

मौकाको चुनौतीलाई स्वीकार गर्दै सदस्यहरुबाट उठेको रकमबाट अहिले मौजुदा रहेको खाताबाट केहि रकम

राखेर सम्पूर्ण रकम यहि समिती मार्फत परिचालन गरौँ |

र अन्तमा, कृपया छुट्टा छुटै संगठन या समुहको नाममा भेटघाट या भेला गरेर गराएर विभाजित भएर सहयोग संकलन नगरौं, यो हाम्रो लागि अपूर्व एकता, सद्भाव प्रदर्शन गर्दै मातृभूमी, जननी अथवा आमाको दस धारा दुधको ऋण चुकाउने दिन र क्षण पनि हो| सिर्फ सिंगो, सग्लो अनि सपाट नेपाली बनेर सकेको सहयोग गरौँ अनि सावित गरौँ “हामी गर्न सक्छौं”!