१२ बैशाख २०८१, बुधबार २:५८ | 04/24/2024 5:13 AM



ट्रम्पको जिध्दी र क्रिस्टीको स्वीकारोक्ति – शैलेश श्रेष्ठ

३० आश्विन २०७७, शुक्रबार १७:५४ मा प्रकाशित

अमेरिकामा २२३,४५६ मानिसहरुको निधन भईसक्दा पनि धार्मिक अतिबादी कित्ताका रिपब्लिकनहरु कोरोना भाईरसको यो सत्य र यथार्थलाई स्वीकार गर्दै मास्क प्रयोग गर्न खुलेआम अस्वीकार गरिरहेका छन। पछिल्ला रिपोर्टहरु अनुसार अमेरिकामा संक्रमितहरुको संख्या आठ मिलियन पुगेको छ भने ३५ राज्यहरुमा संक्रमण बढोत्तरी भएको छ। अमेरिकाका विश्वसनीय संस्थाहरुले अबको तीन हप्तामा अर्को बीस हजार अमेरिकीहरुको निधन हुने बताएका छन।

देशमा यस्तो बिकराल स्थिति आँखाकै सामुन्ने देखेका र कोरोना संक्रमण आफैले भोगेका राष्ट्रपति अमेरिकी जनतालाई मास्क प्रयोग गर भन्न समेत अप्ठेरो मानिरहेका छन। राष्ट्रपति ट्रम्पको चुनावी र्यालीहरुमा अझै पनि अधिकांश मानिसहरु बिना मास्क खचाखच भएको चुनावी सभामा सामेल भईरहेकै छन। आफ्ना नागरिकहरुलाई मास्क लगाउन सुझाब दिनु पर्ने जिम्मेवारी भएको राष्ट्रपति ट्रम्प मास्क हावामा फालेर आफ्ना अन्धोभक्तहरुसंग रमाई रहेका छन।। कोरोना संक्रमणले थलिएर तीन दिन अस्पताल बस्दासम्म पनि उनले चेतेनन।

आरिजोना राज्यको फिनिक्समा कारखाना निरिक्षणको क्रममा मास्क लगाउन अस्वीकार गर्दै राष्ट्रपति ट्रम्प

धन्न न्युजर्सीका पुर्व गभर्नर क्रिस क्रिस्टीले चाँही ह्वाईट हाउसको “भाईरस स्प्रेडर ईभेन्ट” हरुमा सामेल भएर आफुले ठुलो गल्ति गरेको स्वीकार गरेछन। उनी सेप्टेम्बर २६ तारिखका दिन ह्वाईट हाउसमा सम्पन्न भएको सुप्रिम कोर्टका लागि राष्ट्रपतिले नोमिनेट गरेका न्यायाधिश एमी कोनी बेरेटको मनोनयन समारोहमा सामेल भएको थिए र त्यसपछि पहिलो राष्ट्रपतिय बहस हुनु पुर्व उनी र न्युयोर्क सहरका पुर्व मेयर रुडी जुलियानी बिना मास्क ह्वाईट हाउसको ईन्डोर रुममा राष्ट्रपति ट्रम्पलाई डिबेटको लागि प्रशिक्षित गर्न पुगेका थिएँ। तिनै भेटघाटहरुका कारण कोरोना भाईरसले संक्रमित भएर एक हप्ता आईसीयुमा उपचार गरेर उनी हिजो मात्र घर फर्किएका छन।

पुर्व गभर्नर क्रिस्टीले हिजो समाचार माध्यमहरुसंग कुरा गर्दै भने “बिगत सात महिना अधिक सचेत अनि सतर्क भएर सुरक्षित रहेको थिएँ तर पछिल्ला चार दिनहरु असाबधानी भए वापत मैले यो सजाय भोगें।” मोटोपन र आस्मा रोग समेत भएका क्रिस्टी खतरा मुक्त भएर घर फर्किएपछि उनले यो स्वीकारोक्ति सार्वजनिक गरेका हुन।

तर अर्को तिर जिध्दी र जिरहा स्वभावका राष्ट्रपति ट्रम्प “मैले चाईना भाईरसलाई जितेर आएँ” तपाईहरु जस्ता बयस्क र तन्नेरीहरु यो भाईरसबाट पूर्णरुपले ईम्युन हुनुहुन्छ भनेर बिज्ञान बिरोधि गलत सुचना र तथ्य सम्प्रेषण गर्दै मास्क हावामा उडाएर चुनावी सभाहरुमा तामसी उत्सव गरिरहेका छन।

तस्विर साभार: पोलिटिको र भक्स