/ विचार-विश्लेषण / बलेको आगो ताप्नेहरु – शैलेश श्रेष्ठ, न्युजर्जी

बलेको आगो ताप्नेहरु – शैलेश श्रेष्ठ, न्युजर्जी

Shailesh Shrestha on April 20, 2016 - 12:13 am in विचार-विश्लेषण

मान्छे हुनुको अर्थ र परिभाषामा हरेक मान्छेको आफ्नो आफ्नै बानी अनि व्यहोरा हुन्छ | म चाँही मानिससंग सम्बन्ध स्थापित गर्ने अनि निरन्तरता दिने प्रसंगमा अलि पृथक अनि कति हदसम्म अप्ठेरो पनि छु | अलि स्पष्ट भन्नु पर्दा बलेको आगो ताप्दै ताप्दीन बरु थोरै राप आउने नै सहि आफै अनि आफ्नै औकात अनि बुतामा आगो बालेर ताप्छु |

राम्रै चिनजान अनि सम्बन्ध भएकाहरु पनि मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपती जस्ता उपल्ला ठाउंमा पुगेपछि उनीहरुलाई पहिले चिनेको भन्दा कम चिन्छु | मलाई के लाग्छ भने उनीहरु मेरा लागि भन्दा पनि राष्ट्र र जनतालाई राप र ताप दिने बन्नु पर्छ अनि बन्न दिनु पर्छ | मलाई हिजो दिउँसो अहिले ह्वारह्वार्ती बलेको हिलारी तापको क्षणिक रापमा ओभानो अनि रापिलो हुने सानो सुयोग (अहोभाग्य नै चाँही नभनौं) मिल्यो तर किन हो कुन्नि त्यहाँ गएर कुम जोडेर तस्विर खिचेर आडम्बरी उडान भर्दै फेसबुके प्रदर्शनी गर्न मेरो मनले नै मानेन | म यसै पनि मनको आदेश मानेर काम गर्ने अनि लेख्ने मान्छे कसै गरेपनि आफुलाई त्यसरी प्रस्तुत गर्न मन लागेन |

Hillary at ROC
रेस्टुरेन्ट कामदारहरुको मुद्दाका एक्यबध्द्ता व्यक्त गर्दै राष्ट्रपतीका उम्मेदवार हिलारी क्लिन्टन तस्विर श्रोत: रक युनाईटेड

हामीले सन २००२ मा स्थापना गरेको रेस्टुरेन्ट अपर्च्युनिटी सेन्टरको निम्तामा त्यसै हामीले संचालन गरेको कलर्स रेस्टुरेन्टमा उनि ग्लुटन फ्री लन्च गर्न आईन | हिलारी समर्थक हाम्रा संस्थापकहरुको आमन्त्रणमा तिनी त्यहाँ आईन अनि मौकाको चौका हान्दै हामीले आरम्भ गरेको “वान फेर वेज” को पक्षमा चुनाबी आश्वासन बाँडिन | मुस्किलले स्टेटको मिनिमम वेजको कमाई गर्ने हाम्रा रेस्टुरेन्टकर्मी साथीहरुले खुब ताली ठोके अनि संगै बसेर फोटो सेसन गर्न पाएर दंग परे | यिनै र यस्तै गरिब कामदार, निम्न-मध्यमवर्गीय, आप्रवासी अनि आम श्रमजिवीहरुको मुद्दामा उम्दा देखिएका मात्र होइन च्यामपियन बनेका मेरो निजि रुचिका उम्मेदवार बर्नीसान्डर्सको अगाडी उनको त्यो क्षणिक चुनाबी राप अनि ताप दिने आस्वासनले मलाई पटक्कै तान्न सकेन | न्युयोर्क प्राईमरीको ठिक एक दिन अगाडी हिलारीसंग फोटो सेसन गर्दा मेरो रोजाईको बर्नी व्यक्ति मात्र होइन यो बर्नी विचार प्रतिनै घात गरेको पो हुने हो कि भन्ने मनको अप्ठेरोले त्यो जमघटमा जाने रुची पटक्कै भएन | अहिले जसरी न्युयोर्क राज्य अनि सहरका प्रगतिशील अनि उदार डेमोक्रेट्सहरु हिलारी र बर्नीमा विभाजित भएका छन् त्यसको प्रतिछाया हाम्रो रक न्युयोर्क अनि युनाईटेडमा पनि परेको छ |

अमेरिकी माथिल्लो सदनमा मिलर-हार्किनले प्रस्ताब गरेको संघीय तलबमान बढाउने बिधेयकमा हिलारी क्लिन्टनले निक्कै ढिला गरि आफ्नो समर्थन जनाएकी थिईन भने सिनेटर बर्नी सान्डर्सले त्यो प्रस्तावित प्रतिघन्टा नौ डलरको प्रस्ताब अपुग छ अब आम सेवासंग सम्बन्धित कामदारहरुको प्रति घण्टा तलबमान १५ डलर हुनुपर्छ भनेर फ्लोरमा बोलेका थिए | क्यालिफोर्निया राज्यले यो वन फेर वेज पास गरिसकेको छ | दुखको साथ एउटा सत्य मैले लेख्ने पर्छ हिलारी क्लिन्टन कहिल्यै आप्रवासीहरुको मुद्दामा च्याम्पियन बन्न सकिनन् अथवा चाहिनन |

बिगत १९ बर्षदेखि टिप्समा आधारित कामदारहरुको संघीय तलबमान दुई डलर १३ सेन्ट छ, पुरुष कामदार/कर्मचारीहरुको अनुपातमा महिलाहरुले जम्मा आम्दानीको ८७ प्रतिशत मात्र पाउँछ | सैनिक सेवामा काम गर्ने महिलाहरु माथिको योन शोषणको फेहरिस्त सरम लाग्दो गरि सार्वजनिक भएका छन् त्यसको बिरुध्दमा हाम्रै न्युयोर्क राज्यका अर्की सिनेटर क्रिस्टिन जिलिब्रान्टले बिशेष बिल पेस गरिसकेकी छन | संसारको औद्योगिक अनि अति बिकशित राष्ट्र मध्य अमेरिका मात्र एउटा यस्तो राष्ट्र हो जसले आफ्ना परिवार, बिरामीजन अनि नवजात शिशु हेरचाहको लागि पेड सिक डेज (बिरामी बिदा) को प्रत्याभुती गर्दैन | थुप्रै प्रगतिशील अनि उदार राज्यहरुले कागजपत्रबिहिन आप्रवासीहरुलाई सवारी साधन अनुमती-पत्र दिने बिधेयकहरु पास गरेका छन तर सन् २००९ मा तत्कालिन गभर्नर ऎलियट स्पित्जरले त्यहि स्वरुपको नियमन घोषणा गर्दा हिलारी क्लिन्टनले अतिवादी दक्षिणपन्थी रिपब्लिकनहरुले भन्दा पहिले अनि चर्को स्वरमा त्यो बिधेयक अनि निर्णयको बिरोध गरिन |

आजै सम्पन्न भएको न्युयोर्क प्राईमरीमा तिनै हिलारी क्लिन्टनले भारी मत प्रतिशतको अन्तरमा बर्नी सान्डर्सलाई पराजित गरेकी छन | हिलारीको जित संस्थापन र यथास्थितीबादीहरुको गठजोडको परिणाम अथवा गणित हो तर बर्नी अब अमेरिकी समाजमा नवीनतम आशा अनि परिवर्तनको सम्बाहक विचार भएर अघि बढ्छ | मैले यसो भनेर भनीरहंदा अथवा लेखिरहँदा हिलारी प्रतिको घृणा लेखिरहेको छैन | प्राईमरी निर्वाचन तुलनात्मकरुपमा असल अनि राम्रोलाई छान्ने पध्दती हो त्यस मानेमा बर्नी मेरो लागि बीसमा १८ हो भने हिलारी मुस्किलले १३ मात्र हो |

थुप्रै नेपाली अनि अमेरिकी (अथवा अन्य मुलुकका) महिलाहरु अहिले हाम्री हुनेवाली प्रथम महिला राष्ट्रपती हिलारी क्लिन्टन भनेर तिन बिता उफ्रिएको देख्छु अनि सुन्छु | उहाँहरुलाई मैले बिनम्रतापुर्वक सोध्ने गरेको छु, यी माथि उल्लेखित जल्दाबल्दा हाम्रा भनिएका बिराट अनि बिकराल मुद्दाहरुमा हिलारी क्लिन्टनले उपल्लो आसन अनि शासन गर्दा कहाँ, कहिले र कस्ता नेतृत्वदावी भूमिका निर्वाह गरेकी छिन? नेता हुनु भनेको सदनमा बिल पेस हुँदा अन्तमा हात उठाएर अथवा टेबल ठटाएर समर्थन गर्नु मात्र होइन | नेता हुनु भनेको त बिधेयकहरुको अगुवाई गर्नु हो अनि च्याम्पियन बन्नु हो | जसरी लिबरल लायनको नामले स-सम्मान जानिने सिनेटर टेड क्यानेडीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्थे अनि अहिले त्यहि म्यासाचुसेट्स राज्यकी अर्की प्रगतिशील सिनेटर एलिजाबेथ वारेनले गर्ने गरेकी छन |

त्यस कारण झिनो आशाको भिख माग्दै फोटो सेसन गर्न अथवा फगत प्रथम अमेरिकी महिला राष्ट्रपतीको स्वोरकल्पनामा निरपेक्ष बन्दै काल्पनिकरुपमा रमाउन पनि त्यस्तो यान्त्रिक भींडमा जान मन लागेन | हाम्रो बर्गको सच्चा प्रतिनिधि बर्नी विचार हो भन्ने मेरो आफ्नो निजि विचारमा म अडिग अनि अविचलित छु | म सकिन्जेल अनि बाचिन्जेल बलेको आगो ताप्दीन बरु ज्वलनशील पतझड अनि पात पतिङ्गर खोस्रेर खोजेर आफ्नो आँत र औकातको धिपधिपे बालेर ओजिलो बन्छु | मनको आदेशमा बोल्छु अनि लेख्छु मन मारेर उची उडान भर्दीन |

Comments

comments

Comments are closed.