१६ चैत्र २०८०, शुक्रबार ७:३४ | 03/29/2024 9:49 AM



अब त हामी अरुको आँखामा पो देखिनु पर्छ – शैलेश श्रेष्ठ, न्युजर्जी

१२ बैशाख २०७३, आईतवार २३:२२ मा प्रकाशित

ज्याक्सन हाईट्सको साँगुरो परम्परागत “कम्फर्ट जोन” मा बसेर माथापच्छी गरिञ्जेल मात्र हो यो जात अनि त्यो जात, त्यो विचार र यो विचार अनि चुच्चो अनि थ्याप्चोको विभेद | न्युयोर्कको कुईन्स ब्रिज काट्ने साहस गरेर अलि ठुलो आकारको सपना देखिने अनि कहिल्यै ननिदाउने सहर म्यानहाटन पुगेपछि हामी अरुको आँखामा उस्तै अनि एउटै देखिन्छौं, सिर्फ नेपाली |

गत बर्ष हाम्रो मातृभूमी नेपालमा आएको विनाशकारी भुकम्पको स्मृतिमा आज म्यानहाटनको साउथ सी पोर्टमा हजारौंको संख्यामा पोखिएको नेपालीहरुको तन अनि मनले यो प्रवासमा हाम्रो परिचय, पहिचान मात्र होइन सम्भावित समानुपातिक प्रतिनिधित्वको सम्भावना पनि देखाएको छ | हामी नेपालीहरु बिज्ञानमा अलि कमजोर भए पनि हिसाब (म्याथ) मा माहिर छौं अझ को आए को आएनसम्मको हिसाब किताब चुस्त अनि दुरुस्त राख्न भ्याउँछौं | मौका पाउना साथ केहिलाई चढाउन अनि केहिलाई लडाउन पनि पछि पर्दैनौं |

FullSizeRender-12

शीरमा नेपालीत्व सिरोपर गर्दै नेपाली शेर्पा आमाहरु साउथ सी पोर्टको पदयात्रामा

आजको कार्यक्रम सबैको कार्यक्रम थियो तथापी आम मानिसले सम्भवत अमेरिका भरिकै संगठन अनि संख्याको हिसाबले सबभन्दा ठुलो भनिएको शेर्पा क्यिदुगको सहभागिता, संयोजन अनि स्वयंसेवक परिचालनको सबैले मुक्त कण्ठले प्रसंशा गरे भने केहिले प्रतिशतमा हिसाब किताब निकाल्दै “कुल उपस्थितीको असी प्रतिशत शेर्पा जाती रहेको” तर्क समेत लेखे | त्यस अर्थमा अबको प्रस्तावित बहु चर्चित अनि बिबादित “नेपाल डे परेड” को जिम्मेवारी शेर्पा क्यिदुग जस्ता गैर राजनैतिक चरित्र भएको सामाजिक संस्थालाई दिईनु पर्ने तर्कहरु पनि दिन भरि आम सतहमामा आए |

मेरो निजि विचारमा अझै समय छँदै ठुलो छाती पारेर उदारतापुर्वक सम्बादलाई निरन्तरता दिन सकियो भने आवेग अनि उत्तेजनामा “नेपाल डे परेड” मा सहभागिता नरहने बिज्ञप्ति जारी गरेको शेर्पा क्यिदुगले पुनर्विचार गर्नेछ | त्यसको लागि हामीले जसले जसरी सकिन्छ उच्चतम अनि सापेक्ष पहल गर्नु पर्दछ |

“लिभ टु लभ” नाम दिईएको आजको पदयात्रामा मैले काम भन्दा बढी गफ गर्ने अनि फेसबुकको लागि सेल्फी खिच्न जाने जमात भन्दा पर गएर फरक उमेर समुह अनि पृथक सोंचका केहि नेपालीहरुसंग कुरा गरें | थुप्रै शेर्पा समुदायमा आमा-ठुलीआमाहरु आफ्नो बाँकी बचेको कपालको जुरोमा नेपालको झण्डा राखेर यात्रामा सहभागी भएका थिए अनि उनका नाती-नातिनाहरु अर्को कुनामा “चीज” भन्दै सेल्फी खिच्न व्यस्त थिए | तपाईहरु को हुनुहुन्छ भन्दा उहाँहरुले “हामी नेपाली हौँ है नानी” भन्दै छताछुल्ल नेपाली हुनुको गर्ब अनि खुसी पोखे | मैले अलि समय लिएर नेपाली त नेपाली नै हो आमा तर के जाती नि? अनि माथी (उहाँहरु अक्सर नेपाललाई माथी भन्नु हुन्छ) घर चाँही कहाँ नि? भनेको भए.. “अँ नि नानी माथी?..हामी फाक्दिङ्गको शेर्पा हो” भन्नु हुन्थ्यो | बहु-पहिचान अनि परिचय त्यो भूगोल भित्रको लागि हाम्रो सुन्दरता हो जसलाई हामीले गर्ब गर्नु पर्छ | तर नेपाली अनि अमेरिकी झण्डा बोकेर मातृभूमीको दु:खलाई बाढ्न अनि सामना गर्न त्यो भीमकाय कहिल्यै ननिदाउने निर्दयी सहरमा आफ्ना पौरखी पाईलाहरु बढ़ाउंदा हामी सिर्फ नेपाल हौँ |

FullSizeRender-13

नेपाली परिचय अनि पहिचानको दोश्रो पुस्ता म्यान हाटनको पदयात्रामा

पहिलो फोटोमा देखिएका शेर्पा जात अनि मूलका नेपालीहरुले कमसेकम “हामी नेपाली” सम्म भने र भनि रहनेछन तर फोटो नम्बर दुईमा सेल्फी खिच्दै बाबा आमाको लागि साउथ सी पोर्टको पदयात्रामा आएका यी नानीहरुले नेपाल र नेपाली हुनुलाई आफ्नो परिचयसंग स्व-ईच्छाले जोड्लान ? दु:खका हरेक पहाडहरु एक्लै बोक्न अनि यो परदेशमा अभाबका खोरियाहरु एक्लै फाड्न बाध्य भएका पहिलो पुस्ता भनिएका हामीहरुले अब गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ | हामी हरेक पल यिनै यक्ष प्रश्नहरुको घेराबन्दीमा पर्नेछौं अनि परिरहेका छौं |