१६ चैत्र २०८०, शुक्रबार १:५४ | 03/29/2024 4:09 AM



पुरा भएको सपना: पुरा नभएका सपनाहरु – शैलेश श्रेष्ठ, न्युजर्जी

१५ जेष्ठ २०७३, शनिबार १२:५९ मा प्रकाशित

समयनै त्यस्तो थियो, सायद कक्षा आठ पढ्दै गर्दा होला कक्षा कोठा अनि मेरो दिमागमा एक्कै पटक राजनीति छिर्यो | उ बेला हामीले पढ्ने राजनीति अनि बैचारिक दर्शन आयातित हुन्थ्यो | आफ्नै देशको बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठहरुलाई पढ्न नदिएर हाम्रा राजधानी र गाउँका राजनैतिक गुरुहरु ल्यु शून, म्याक्सिम गोर्की, खलिल जिब्रानहरु पढ्न “फतवा” जारी गर्थे |

Thumbnail for 983

चेतनाको प्रारम्भिक बाल्यकालदेखि बयस्क अवस्थासम्म मेरो अन्तरचेतनाले सँधै यौटा राजनैतिक दिशानिर्देश अनि बाटो पहिल्याउँथ्यो कि यो देशको मूल समस्या अनि जड राजतन्त्र हो | राजधानी काठमाडौँ आएर बिद्यार्थी राजनीति अनि पछि एमाले पार्टीको सक्रिय राजनीतिमा लाग्दा त्यो चेतनाको पारो अधिकतमरुपले निरन्तर बढिरह्यो | पहिलो जन आन्दोलनमा मैले एकदलीय तानाशाही तात्कालिक शासकहरुको अश्रुग्यास, डण्डी, छर्रा अनि गोली निक्कै नजिकबाट भोगें | मेरो अगाडीका आन्दोलनकारीहरु अश्रुग्यास अनि गोलीले ढलेको देखेपछि मैले मृत्युको सम्भावनालाई पनि नजिकबाट स्विकारें |
ति प्रत्येक सहभागमा मेरो एउटै उत्कर्स अभिलाषा अनि अभिष्ट हुन्थ्यो मुलुकमा राजतन्त्रको समुल अन्त्य अनि गणतन्त्रको स्थापना |

दोश्रो जन आन्दोलनमा मैले यी यावत सपनाहरुलाई मातृभूमीको सडक अनि गल्लीमा पोख्न सकिन तर आफुले कर्म गरेर बसेको अनि बाँचेको प्रवास अमेरिकामा आफ्नो हैसियतमा लागिरहें | जब स्वघोषित राजा ज्ञानेन्द्र शाहले कार्यकारी अधिकार सहित सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिए हामीले उनको तानाशाही अभिष्टको आंकलन गर्दै संयुक्त राष्ट्रसंगको मुख्यालय अनि वासिंगटन डी.सी. को ह्वाईट हाउस अगाडी सामुहिक बिरोध प्रदर्शनको आयोजना गर्यौं | ति प्रदर्शनहरुले ज्ञानेन्द्र शाह माथि अन्तर्राष्ट्रिय दवाब निरन्तर पर्यो | हामीले के के न गर्यौं त भन्दैनौं तर हामीले आफ्नो चेतनालाई सामुहिक आवाज बनाएर एकीकृत भएर प्रदर्शन गर्यौं |

DC rally
मानब अधिकार र लोकतन्त्रको पक्षमा वासिंगटन डी. सी. मा भएको बिरोध र्याली

त्यो नै सायद पहिलो अनि अन्तिम एकता थियो आम प्रवासी नेपालीहरुमा | को कांग्रेस, को माले, को झाले, को एमाले अनि को कुन जात अनि को चाँही कुन थर केहि विभेद थिएन एउटा बिशाल उदेश्य “लोकतान्त्रिक नेपाल” का लागि हामी एकट्ठा भएर उभिएका थियौं | अहिले त्यसरी त्यस्तो राष्ट्रिय महत्वको सवालमा एक भएर उभिएका तात्कालिक नेतृत्वदायी व्यक्तिहरु ति महान उदेश्य प्राप्तिपछि निरन्तर संकुचित अनि विभाजनकारी बन्दै कर्मभुमी अमेरिकामा उताको माउ पार्टीको भात्री संगठन खोलेर सानो घेरा अनि कित्तामा रमाएका छन् |

पहिलेदेखि म निक्कै खरो, स्वाधीन अनि अप्ठेरो मान्छे रहेछु त्यत्तिका बर्षहरु पार्टीको आदेश अनि परिपत्रहरुमा कसरी काम गर्ने अहिले सम्झंदा पनि उकुसमुकुस लाग्छ | निक्कै पछि थाहा पाएँ मैले काम गरेको अनि रोजेको पार्टी मेरो एकल एजेन्डा “राजतन्त्रको समुल अन्त्य” को पक्षमा रहेनछ | उनीहरु नयाँ शासक बन्नको लागि संबैधानिक राजतन्त्र देखि “बेबी किङ्ग” सम्मको प्रस्ताबमा सहमत रहेछन | ठुला सात बिद्यार्थी संगठनहरुको आन्दोलनले राजतन्त्रको समुल अन्त्यको आन्दोलनलाई अगाडी बढाए पछि माउ पार्टी एमालेले तात्कालिक अखिलमा अध्यक्ष राजेन्द्र राईलाई आन्तरिक कारवाहीको तयारी गरेको कुरा त्यस बेला मेरै साथ बस्नु भएको एक जना एमालेको केन्द्रिय नेताबाट सुईको पाए पछि मैले तत्काल पार्टीसंगको सम्पूर्ण सम्बन्ध बिच्छेद गरें |

यी दुई परिघटनाहरुलाई म आफ्नो राजनैतिक अधिकारकर्मको उत्कर्सका साथै गौरवशाली क्षण ठान्दछु | म अहिले एक जना शिकारु अनि नितान्त नयाँ संचारकर्मीको हैसियतमा जुन स्वाधिनता अनि उपल्लो स्वतन्त्रताको स्वपान गरिरहेको छु त्यस्तो उन्मुक्त स्वाधिनता सायदैले गरेका होलान | स्वाधीन अनि मुक्त हुनुको अर्थ अनि मज्जा अर्कै छ | मलाई लागेको थियो नेपालमा मेरो पहिलो नम्बरको सपना “राजतन्त्रको समुल अन्त्य” पछि कायापलट हुन्छ तर होइन रहेछ एउटा असल सम्भावनाको बाटो खुलेको मात्र रहेछ | श्री पाँचहरुको समुल अन्त्य भए पनि अहिले नयाँ नयाँ रुप, रंग अनि कलेवरमा श्री चार अनि श्री तीनहरुको कृतिक जन्म हुँदैछ | अब हामी रंग देख्न सक्ने मात्र होइन रंग बोल्न सक्ने स्वाधीन अनि सचित नागरिक बन्न सक्यौं भने ति सबै खाले “राजाहरु” को सपना देख्नु अघि नै पटाक्षेप हुने छ |

मेरो देश गणतान्त्रिक बन्दा म भन्दा खुसी सायद कोही भएको थिएन होला | आज पर्यन्त त्यो खुशीको पारो निरन्तर बढिरहेको छ | हामीले संसारकै सम्मुनत राज्य ब्यबस्था ल्याएका छौं आज मेरो मातृभूमी नेपालको गणतन्त्र दिवसको दिन म मनभरि रमाईरहेको छु | मेरो पहिलो सपना पुरा भएको छ अब हामी यहि मियोलाई समातेर कानुनी राज्य, दण्डहिनताको अन्त्य, आर्थिक समृद्दी, समावेशीता अनि सामाजिक न्यायको प्रत्याभुतीको अर्को चरणमा पाईला चाल्ने छौं |
जय गणतन्त्र ! जय नेपाल !!