१३ बैशाख २०८१, बिहीबार १०:४४ | 04/25/2024 12:59 AM



“भुकम्प ब्यापार” जल्न थाल्यो शंकाले लंका – शैलेश श्रेष्ठ, न्युजर्जी

१९ असार २०७३, आईतवार ११:४६ मा प्रकाशित

अमेरिकामा जीवन, सम्बन्ध, काम केहि पनि सजिलो छैन अझ बचत गर्न त निक्कै कठिन छ | त्यसैले मैले केहि बर्षदेखि आफ्नो भोगाईहरुको आधारमा “आ-मरिखा” लेख्ने गरेको छु | तर कर्मबीर अनि गरिखानेहरुकालागि अमेरिका “आ-मरिखा” मात्र होइन “आ-गरिखा” पनि हो | त्यसरी गरिखाएका थुप्रै सफल कथा अनि पात्रहरु हाम्रै वरिपरी छन तर हामी अक्सर “गरिखाएका” हरुका भन्दा “ठगीखाएका” हरुकै कथा बाहिर ल्याउँछौं |
न्युयोर्क सेन्ट्रिक अमेरिका अनि ज्याक्सन हाईट्स सेन्ट्रिक न्युयोर्क यसका कारण अनि जड दुवै हुन किनकी त्यस्ता पात्रहरु त्यहीं भेटिने गर्छन | हुन त ठुला सहरहरुको चरित्र त्यस्तै हुन्छन, भींड निर्दयी अनि कठोर हुन्छ |

Thumbnail for 176

उताबाट तिनका नेता अमेरिका आउँदा “ईष्ट” टु “वेष्ट” चाकरी दौडाह गर्ने भात्री संगठनका नेता कार्यकर्ताहरुको सन्दर्भ अनि प्रसंगमा मेरा केहि आत्मीय भाईहरुले मसंग नितान्त जायज अनि सान्दर्भिक प्रश्न गर्ने गरेका छन “होइन हौ दाई, हामी मरेर जोतिंदा बर्षमा एक चोटी परिवारसंग अथवा साथीभाईसंग अर्को राज्यमा “भ्याकेशन” जाने औकात हुँदैन यिनीहरु एकै दिन नेताको पछि लागेर “ईष्ट” टु “वेष्ट” चाकरी दौडाह गर्न भ्याउँछन, हैन कहाँबाट आउँछ त्यत्रो पैसा ?

म खिस्स हाँसेर टारी दिन्छु, मेरो मनमा तिनीहरु प्रति संशयको किञ्चित बक्रदृष्टी हुँदैन | बिशेष गरि कांग्रेसी भात्री संगठनमा लाग्नेहरु आर्थिकरुपले जमेकैहरु छन, उनीहरु एक पछि अर्को बन्दब्यापार, ब्यबसाय सुरु गरेको सार्वजनिक घोषणा गर्छन | मलाई बिश्वास छ, त्यो र त्यस्ता दौडाहहरु दान दातब्य र आर्थिक कृपाबाटै चलेको छ | पछिलो चरणमा एमालेको अघोषित भात्री संगठन प्रवासी नेपाली मंचले पनि निरन्तररुपमा आर्थिक छलांग मार्न थालेको छ | शाखा-प्रशाखाको बिस्तारको क्रममा तिनका नेताहरुको “ईष्ट” टु “वेष्ट” दौडाह तिब्र भएको छ | अघिल्लो निर्वाचनमा आफ्नो माउ पार्टी एमालेलाई दुई करोड चन्दा रकम पठाएर यिनीहरुले “दाई कांग्रेस” कै मार्ग अबलम्बन गरेको थियो | आस्था अनि मायाले आफ्नो श्रमको सानो हिस्सा पठाउँदा कोहि कसैलाई खासै टाउको दुखेन |

बर्षौं पछि भाईहरुको त्यो प्रश्नले अहिले चाँही मेरो दिमागलाई हल्का घोच्न थालेको छ | शंकाले लंका पिर्छ भनेझै भाई-बन्धुहरुले भुकम्पपिडितको आँशु अनि कथा बेचेर जम्मा गरेको पैसा बिरालोले आची लुकाए जस्तै यताबाट उता अनि बैंकबाट सिरानीमा लुकाउन थाले पछि अब चाँही हिसाब खोज्ने पर्ने भो | कर्मगरि खाने यो सम्भावनाको मुलुकमा ठगी खानुलाई नै यिनीहरुले आफ्नो आदर्श अनि कर्म बनाएका हुन भने अब अमेरिकी पारामा भन्नु पर्ने भो “ईनफ ईज ईनफ” !