१३ बैशाख २०८१, बिहीबार २:०६ | 04/25/2024 4:21 PM



कहाँ पुग्यो त टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस)?

३२ जेष्ठ २०७२, सोमबार ०१:२७ मा प्रकाशित

Thumbnail for 983कहाँ पुग्यो त टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस)? प्रत्येक दिन म यहि सार र स्वरूपको प्रश्नको घेराबन्दीमा पर्ने गर्छु| सम्प्रेषण मार्फत केहि प्रोमो बनाउदै निरन्तर लेखन र कभरेज गरेको कारणले होला मेरो फेसबुकको ईनबक्समा थुप्रै प्रश्नहरुको ओईरो लाग्ने गर्दछ| ज्याक्सन हाईट्सको चिया पसल, डबली र मोहल्लाहरुमा टहल्लींदा पार्श्वबाट प्वाक्क अनगिन्ती यस्ता सुबोध प्रश्नहरुको बर्षा हुन्छ| एका मनले भन्छ उनीहरुलाई उदात्त खुशी र उन्मुक्त हाँसो दिउँ र भनि दिउँ “हजुर टीपीएस नेपालले पाउने पक्का भो |”

तर मैले रोजेको संचार अनि अधिकारकर्म दुबैमा त्यस्तो सतही अनि उडन्ते सपना बाँढ्ने खेती चल्दैन त्यस कारण पनि बिना आधार केहि भन्न सक्दिन| तर आज टीपीएसका लागि औपचारिक अभियान थालेको करिब सात हप्तामा भएका फलदायी कदमहरुको लेखाजोखा गर्दा प्रतिशतमा भन्नु पर्दा अधिकतम योगफल हाम्रो पक्षमा हाल लागेको छ| पहिलो कदमको रुपमा नेपाल सरकारको औपचारिक अनुरोध पत्र अमेरिकी सरकारका दुई उपल्ला निकायका प्रमुखहरु गृहराज्य सुरक्षा सचिब जे जनसन र सेक्रेटरी अफ स्टेट जन केरीको हातमा पुगीसकेको छ भने नेपाल प्रति उदात्त सदासयता राखेर टेक्सासका कंग्रेसम्यान अल ग्रीनले प्रयोजन गर्नु भएको एच.आर. २०३३ मा अहिलेसम्म ५४ जना अन्य कंग्रेसम्यानहरुले समर्थन जनाई सक्नु भएको छ| अझ यो मुद्दालाई बलियो बनाउन न्युयोर्कका कांग्रेसम्यान जोसेफ क्राउली र कांग्रेसवुमन ग्रेस मेङ्गले पनि राष्ट्रपतीलाई छुट्टै अनुरोध पत्र लेखिसकेका छन |

त्यस्तै गरि बैदेशिक सम्बन्ध समितीका शक्तिशाली सदस्य सिनेटर बेन्जामिन कार्डीन, न्युयोर्कका सिनेटर चार्ल्स सुमर, हवाईकि सिनेटर माजी हिरोनो सहित एक जना रिपब्लिकन मार्क किर्क सहिन अन्य १० जना अमेरिकी माथिल्लो सदन सिनेटका सदस्यहरुले नेपाललाई यो सुबिधा दिईयोस भनेर राष्ट्रपति बराक ओबामालाई पत्र लेखिसकेका छन| अमेरिकी अध्यागमन कानुनको आप्रवासन तथा नागरिकता एन अनुसार प्राप्त हुने यो सुबिधाका लागि अहिलेको प्राकृतिक बिपात्तिको उद्दारका लागि यो सुबिधा पाउन नेपाल योग्य छ भनेर हाम्रो मागलाई अमेरिकाका १३५ ओटा अधिकारकर्मी संस्थाहरुले पनि ऎक्यबध्द्ता जनाएका छन भने ६७ नेपाली सक्रिय सामाजिक संस्थाहरुको तर्फबाट अनुरोध पत्र गृहराज्य सुरक्षा सचिब जे जनसन कहाँ पुगिसकेको छ |

दक्षिण तथा मध्य एसिया क्षेत्र हेर्ने अमेरिकी सहायक सचिव निशा देसाई बिस्वालले तल्लो सदनको बैदेशिक मामिला समितीलाई गत मे महिनाको २० तारिख गरेको सम्बोधनमा पनि पनि उनले नेपालले यो सुबिधा पाउनु पर्ने तर्क अघि सकेकी छिन, जहाँ उनले पहिलो चरणमा नेपाललाई १८ महिनाको लागि यो सुबिधा उपलब्ध गराउन सिफारिस गरेकी छिन भने यो सुबिधाबाट अमेरिकामा बिभिन्न स्टाटसमा रहेका १० देखि २५ हजार नेपाली प्रत्यक्ष लाभन्वीत हुने आंकडा प्रस्तुत गरेकी छिन| न्युयोर्क सहरका शक्तिशाली मेयर बिल दी ब्लाजियोले पनि यहि जुन पाँच तारिख राष्ट्रपति ओबामालाई पत्र लेखेर नेपाललाई यो सुबिधा तत्काल उपलब्ध गराउन माग गरेका छन |

राष्ट्रपति ओबामाका बिभिन्न क्षेत्र हेर्ने १९ सल्लाहकार मध्य नेपाली मुलकी संजिता प्रधानसंग आजै बिहान नेपाली असोसियशन इन साउथ इष्ट अमेरिकाको आयोजनामा भएको टेली कन्फेरेन्समा मैले छोटो वातचित गर्दै यसै सम्बन्धि प्रश्न राख्ने अवसर पाएँ| आज डा. नर गुरुङले संयोजन गर्नु भएको उक्त कार्यक्रममा अधिकांश समय यहि बिषयमा छलफल भएको थियो| हामीलाई संक्षिप्तरुपमा जवाफ दिने क्रममा सल्लाहकार प्रधानले आफु पदीय जिम्मेवारीको दृष्टिकोणले ब्यबस्थापकीय ओकालत गर्न प्रतिबन्धित भए पनि कार्यकारी निकायहरुको यो बिषय प्रवेशको लागि सक्रियरुपमा लागि परेको र राष्ट्रपतिको कार्यालय लगायत अन्य प्रमुख निर्णायक निकायहरुसम्म आफुले यो बिषयलाई पुर्याएको बताउनु भयो|

प्रारम्भ देखि यो अभियानलाई बिभिन्न किसिमले सघाउँदै यसका बहुआयमिक बिषय र मुद्दाहरुलाई नजिकबाट बुझेको नाताले मेरो ठम्याई र बुझाईमा अबको दुई हप्ता हाम्रो लागि चुनौतिपूर्ण र निर्णायक पनि हुन सक्छ| हस्ताक्षर अभियान हामीले सोंचेको जस्तो सफल र फलदायी नभए पनि त्यसले हामीलाई ठुलो नोक्सानी गरेको छैन कवल संख्या या शक्ति देखाउने अवसरबाट हामी फेरी एक पल्ट चुक्यौं तर हामीले बाँकी रहेका दुई बाटाहरु बिधायिका र कार्यकारीमा सफल रणनीतिका साथ कार्य सम्पादन गर्यौं| जसको फलस्वरूप हामी अहिले टीपीएस सुबिधा प्राप्तीको सन्निकट छौं| त्यसो भनेर अहिले चुप लागेर बस्ने समय छैन |

TPS STATUS

कृपया अबको बाँकी दिनहरु अहिले हस्ताक्षर आरम्भ गरिएको नयाँ पिटिशनमा संख्या अनि शक्तिको प्रदर्शन गरौं अनि जहाँ जसले जसरी सकिन्छ थप कंग्रेसम्यानहरु र सिनेटरहरुलाई समर्थन र सहयोगको लागि याचना गरौं|

अध्यागमनको बिषय र मुद्दा आउना साथ दक्षिणपन्थी रिपब्लिकनहरु तर्सन्छन र तिन बित्त पर भाग्छन आ-आफ्नो निर्वाचन क्षेत्रमा बिशेष गरेर रिपब्लिकनहरुलाई भेट्ने बन्दोबस्त गरौं थप रिपब्लिकनहरुको साथ र समर्थन लिन सकियो भने यो बिषयले बाईपार्टिसन बिल र मुद्दाको स्वरूप लिन्छ| अबको डेढ या दुई हप्ता भित्र त्यती गर्न सकियो भने यो टीपीएस प्राप्ति पूर्ण सम्भाव्य हुनेछ|

त्यस्तो क्षेणमा हामी सामुहिक उल्लास र उत्सब मनाउने छौं किनकी हामी सबै मिलेकोले मात्र त्यो सम्भब भएको हो |